म्यानचेष्टर सिटी पहिलो खेलमै पराजित


लेखक : सुन्दराञ्चल      साउन ३२, २०७८ मा प्रकाशित     
म्यानचेष्टर सिटी पहिलो खेलमै पराजित

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर सिटीलाई १–० ले हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन कोरियाली खेलाडी सन हिउङ मिनले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

नयाँ प्रशिक्षक नुनो इस्पीरितो सान्तोको प्रशिक्षणमा टोटनह्यामले सिजनको पहिलो खेलमा साविक विजेता म्यान्चेस्टर सिटीलाई स्तब्ध पारेको हो । यो जितसँगै टोटनह्यामले चर्चित स्ट्राइकर ह्यारी केन बिना पनि उत्कृष्ट प्रदर्शन गर्नसक्ने सन्देश दिएको छ । केनलाई म्यान्चेस्टर सिटीले आफ्नो टोलीमा भित्र्याउने प्रयास गरिरहेको छ । प्रिमियर लिगकै अर्को खेलमा वेष्ट ह्याम युनाईटेडले न्युकायसल युनाईटेडलाई ४–२ ले हरायो ।

बार्सिलोना, सेभिया र एट्लेटिको मड्रिडको विजयी शुरुवात
स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना, सेभिया र एट्लेटिको मड्रिडले विजयी शुरुवात गरेका छन् । झण्डै दुई दशकपछि लियोनल मेस्सीबिना रहेको बार्सिलोनाले रियल सोसिडाडमाथि ४–२ गोलको जित निकालेको हो । घरेलु मैदानमा बार्सिलोनाले १९औं मिनेटमा जेरार्ड पिक्यूको गोलबाट अग्रता लियो ।

त्यसपछि मार्टिन ब्रेथवेटले पहिलो हाफको इञ्जुरी समय र ५९औं मिनेटमा गरेर दुई गोल गरेपछि बार्सिलोनाले खेलमा ३–० को अग्रता बनायो । रियल सोसिडाडका लागि ८२औं मिनेटमा जुलेन लोबेटे र ८५औं मिनेटमा मिकेल ओएरजाबेलले गोल थपे ।

त्यस्तै इञ्जुरी समयमा सर्जियो रोबर्टोले गोल गरेपछि बार्सिलोना समग्रमा ४–२ ले विजयी भयो । ला लिगाकै अन्य खेलमा सेभियनले रायो भालेकानोलाई ३–० र एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई २१ ले हराए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap