माघ,१२ मोरिससविरुद्धको दुईवटा मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा गरिएको छ । दुवै खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा सहभागी सबै खेलाडीलाई समावेश गर्दै दुई टोली घोषणा गरेका हुन् ।
मोरिसससँगको खेलका लागि पहिलो चरणमा ३७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा थियो । तर, विभिन्न कारणले तीन खेलाडी टिमबाट बाहिरिएका थिए । बाँकी रहेका ३४ खेलाडीले भने टिममा मौका पाएका छन् ।
प्रशिक्षक अलमुताइरीले यसपालि राम्रो नतिजाको अपेक्षा गर्नुभन्दा पनि खेलाडीहरूलाई एक्सपोजर दिनमा बढी ध्यान दिएको बताएका छन् । ‘म खेलाडीहरूले अन्तर्राष्ट्रिय खेलहरूमा एक्सपोजर होस् भन्ने चाहन्छु। यसले उनीहरूलाई थप अनुभव दिई भविष्यको लागि तयार गर्न मद्दत गर्नेछ । म नतिजाभन्दा राम्रो प्रदर्शनको अपेक्षा गरिरहेको छु,’ अलमुताइरीले भनेका छन् ।
नेपाल र मोरिसबीचको पहिलो खेल २९ जनवरी र दोस्रो खेल १ फेब्रुअरीमा हुनेछ । एन्फाले मैत्रीपूर्ण खेलका लागि कोरोना खोप लगाएका दर्शकलाई मैदान प्रवेशमा अनुमति दिने भएको छ । जसका लागि एन्फाले सामान्य र भीआइपी प्यारापिटको लागि क्रमशः ५०० र एक हजार रुपैयाँ मूल्य तोकेको छ । फरकधार