वैशाख ११ धनगढी । सुन्दर सुदूरपश्चिमका अभियन्ता तथा उद्योगी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमाआज उम्मेदवारी दर्ता गरेका छन्। धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।
हमालले उम्मेदवारी दर्ता गराउन बाजागाजा र र्यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। धनगढीलाइ हामी बनाउँछौं’ भन्ने मूलमन्त्रका साथ हमालले धनगढीको मेयरका लागि उम्मेदवारी घोषणा गरेका थिए।
मनोनयन दर्ता गर्दै हमालले बाँडीचुँडी खाने प्रवृतिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए। ‘जनताले गठबन्धन गरेकै छैनन्,’ उनले भने, ‘गठबन्धन नेताहरुले गरेका हुन्। गठबन्धन समाज बनाउनका लागि होइन। बाँडीचुँडी खानका लागि हो। त्यसका विरुद्ध मेरो उम्मेदवारी हो। धनगढीका जनताले राखेको चाहनाको प्रतिनिधि पात्र म हुँ।’
मेयरमा विजयी भए सेवासुविधाको नाममा धनगढी उपमहानगरपालिकाबाट एक रुपैयाँ पनि नलिने घोषणा गरिसकेका छन्। उनले धनगढी उपमहानगरपालिकाको गाडी पनि नचढ्ने घोषणा गरेका छन्।
हमालले कैलाली उद्योग वाणिज्य संघको नेतृत्व गर्दा आफ्नो कार्यकाल ९२०६३–६६०मा संघलाई देशकै उत्कृष्ट शाखा बनाएका थिए। दिनेश ग्रुपका नामबाट सुदूरपश्चिममा सञ्चालित उनका व्यापार व्यवसायमा ६ सय बढीले रोजगारी पाएका छन्। सुदूरपश्चिमलाई सम्भावनाको क्षेत्रका रूपमा परिचित गराउन उनले सुन्दर सुदूरपश्चिम अभियान थालेका थिए।
यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को अध्यक्षमा बलबहादुर ऐर, ४ को अध्यक्षमा सिद्धराज पनेरु, वडा नम्बर ५ मा पदमराज भट्ट ‘प्रभास’, वडा नम्बर १४ मा यम लामिछाने र वडा नम्बर १५ मा कमलबहादुर ढाटले पनि स्वतन्त्र उम्मेदवारीका लागि मनोनयन दर्ता गरिरहेका छन्।