मिल सञ्चालकविरुद्ध उखु किसान अदालत जाने


लेखक : सुन्दराञ्चल      पुस २१, २०७८ मा प्रकाशित     
मिल सञ्चालकविरुद्ध उखु किसान अदालत जाने

२१ पुस, काठमाडौं । सर्लाहीका उखु किसान मिल सञ्चालकविरुद्ध अदालत जाने भएका छन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामेश्वर राय यादवले सर्लाहीमा रहेको महालक्ष्मी सुगर मिलले लामो समयसम्म किसानको पैसा भुक्तानी नगरेको भन्दै मिल सञ्चालक वीरेन्द्र कनौडियाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने बताएका हुन् ।

‘वीरेन्द्र कनौडियाको महालक्ष्मी सुगर मिलले सरकारले तोकेको समय सीमा नाघिसक्दा समेत भुक्तानी नदिएकाले मुद्दा दायर गर्न लागेका हौं,’ उनले भने, ‘किसानले कति आन्दोलन गर्ने ? कति मर्ने ? कति हारगुहार गर्ने ?’

संघर्ष समितिका अध्यक्ष यादवका अनुसार महालक्ष्मी सुगर मिलले किसानको ८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। मिलले भुक्तानी नदिएपछि यादव मिल सञ्चालकविरुद्ध मुद्दा दायर गर्न भन्दै मंगलबार काठमाडौं आएका हुन् ।

मुद्दा दर्ताका लागि यादवले वकिललाई भेटेर आफूसँग भएका कागजात र प्रमाण बुझाइसकेका छन् । ‘हामिले आफूसँग भएका कागजात र प्रमाण वकिललाई बुझाइसकेका छौं । उहाँले कागजात प्रमाण अध्ययन गरिसकेपछि मुद्दा दायर गर्छौं’ उनले अनलाइनखबरसँग भने।

महालक्ष्मी सुगर मिलले किसानको भुक्तानी दिनु त परको कुरा सरकारले दिने गरेको अनुदान समेत कटाएर दिने, किसनालाई मारमा पार्ने गरी मनपरि तरिकाले तौल लिने गरेको उनको गुनासो छ।

अघिल्लो वर्ष उखु किसानले भुक्तानी पाउनु पर्ने भन्दै माइतीघर मण्डलामा धर्ना र आन्दोलन नै गरेका थिए । उखु किसानले आन्दोलन नरोकेपछि सरकारले १२० दिनभित्र बाँकी रहेको सम्पूर्ण भुक्तानी गरिसक्नुपर्ने भन्दै मिल सञ्चालकलाई आदेश नै दिएको थियो ।

तर, सरकारले मिल सञ्चालकसँग समन्वय गरी सम्पूर्ण भुक्तानी १२० दिनभित्र उपलब्ध गराइसक्ने भाकाको म्याद सकिसक्दा पनि भुक्तानी नपाएकाले किसान मुद्दा दायर गर्न बाध्य भएको यादवको भनाइ छ।

गत वर्ष किसान र सरकारबीच भुक्तानी दिलाउने विषयमा सहमति हुँदा किसानले जम्मा ६५ करोड बक्यौता पाउनुपर्ने तथ्यांक सरकारले पेस गरेको थियो भने किसानहरुले ९० करोडबढी बक्यौता रहेको बताएका थिए ।

किसानले सरकारको तथ्यांक अनुसारको ६५ करोड बक्यौता पाइसकेको भएपनि किसानको २५ करोड बक्यौता अझै बाँकी रहेको यादव बताउँछन् ।

किसानले सरकार र मिल सञ्चालकसँग किसानले पाएको भुक्तानी पाउनुपर्ने भुक्तानीको तथ्यांक माग गरेको छ । तर किसानलाई उक्त तथ्यांक न सरकारले दिान्छ, न उद्योग मन्त्रालयले दिन्छ न मिल सञ्चालकले नै ।

‘किसानले रगत पसिनाले कमाएको पैसा लिन जहिल्यै आन्दोलन गर्नुपर्ने धर्ना दिनुपर्ने रुनुपर्ने यो कस्तो सरकार हो ? कस्तो नियम हो ?,’ यादव भन्छन, ‘किसानले जहिल्यै मर्नु पर्ने काठमाडौं गुहार्नुपर्ने ।’

अध्यक्ष यादवले तात्काल वीरेन्द्र कनौडियाको नाममा मात्रै मुद्दा दायर गर्ने बताएपनि बिस्तारै अन्य भुक्तानी दिन बाँकी रहेका मिल सञ्चालक विरुद्ध पनि अदालत जाने बताएको छ ।

राकेश अग्रवालको अन्नपूर्ण सुगर मिलले पनि किसानको करिब ८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको यादवले बताए । यसरी उखु किसानको विभिन्न मिलमा गरी विसं. २०७२ सालदेखिको भुक्तानी बाँकी छ । नेपालका मिलमा भारतबाट उखु आउँदा नेपाली किसानका उखु खेतमै रहने गरेको भन्दै यादवले भारतबाट उखु ल्याउन बन्द गरिनुपर्ने माग सरकारसँग राख्ने बताए ।

‘किसानले वर्षौदेखि आफ्नो पसिनाको कमाइ पनि खान पाएका छैनन्, यो त अति भयो अब जे गर्छ अदालतले गर्छ, हामी मौन बस्दैनौं’ उनले भने ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap