असार ३१ मुखको तलतल मेट्ने पेय मात्र रहेन, चिया । यो संस्कृति, पर्यटन र अर्थतन्त्रको आधार पनि हो । कुल मिलाएर भन्नुपर्दा चिया समृद्धिको सम्पूर्ण प्याकेज हो ।
मान्छेले कहिलेदेखि चियाको चुस्की लिन थाले होलान् ? मान्छेको जिब्रोलाई चियाले कसरी मोहनी लगायो होला ? चिया कसरी विश्वको सर्वप्रिय पेय बन्यो होला ? यसको बेग्लै महापूराण छ ।
भनिन्छ, उनी वैज्ञानिक पनि थिए । जब उनले अनायासै चियाको स्वाद लिन पुगे, त्यसले उनमा बेग्लै उत्सुकता जगाइदियो । अन्ततः उनले चियाको स्वाद र गुणहरुको अन्वेषण सुरु गरे ।
यस प्रसंगले चियाको इतिहास मात्र खोतल्दैन, चियाको शक्ति पनि दर्शाउँछ ।

अतः कथालाई लम्बेतान बनाउँदै जाने हो भने त्यो महाभारत बन्छ । किनभने यो पृष्ठभूमिमा अहिले नेपाली चिया र त्यसका लागि योगदान दिएका एक पात्रको चर्चा गरिंदैछ ।
वि.सं. १९२० मा इलामबाट चियाखेतीको व्यावसायिक सुरुवात भएको इतिहास छ । त्यसताका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा चीन भ्रमण गएका थिए । फर्कंदा उनले चिनियाँ जातको बिरुवा पाए, उपहारस्वरुप । उनले उक्त चियाको बिरुवा इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापालाई दिए । उनै गजराजसिंह थापाले इलामको माटोमा चियाको बोट रोपे । त्यसपछि पूर्वी पहाडका उजाड पाखापखेरु रहरलाग्दा देखिन थाले । हरिया कार्पेट बिच्छ्याए झैं लोभलाग्दो लाग्न थाले । यसले पूर्वी पहाडका किसानलाई पैसा फल्ने रुख मात्र दिएन, आगन्तुकलाई लोभ्याउने दृश्य पनि दियो । अन्ततः चिया आर्थिक समृद्धिसँगै पर्यटनको मेरुदण्ड बन्यो ।
यसबीचमा कतिले चियाका लागि रगत-पसिना बगाए होलान् ? ती कर्मठ हातहरुको इतिहास लेखिने नै छ । अहिलेलाई त्यस्तै पात्रको चर्चा गरिंदैछ, जसले चियाका लागि आफ्नो उर्जाशील समय सुम्पिए ।
चियाका क्षेत्रमा लागेकाहरुलाई एउटा नाम कण्ठै छ, तारानाथ शर्मा अधिकारी । इलामको माघेमा जन्मिएका शर्माले चिया खेतीको विस्तार र विकासमा पुर्याएको योगदानलाई कम आँक्न सकिंदैन ।
चियासँग उनको नाता कन्याम चिया कमानबाट जोडियो । नेपाल चिया विकास निगम लिमिटेड अन्तर्गतको उक्त चिया कमानमा उनी फिल्ड अफिसर बनेर प्रवेश गरेका थिए, २०२९ सालमा । पछि उनी राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशकसमेत भए ।
३३ वर्षसम्म अविछिन्न रुपमा चिया क्षेत्रमा काम गरेर उनी २०६१ सालमा अवकाशप्राप्त भए । त्यसपछि पनि उनी शिथिल भएनन्, टी सेक्टर सर्भिस सेन्टर (टिसेक) मार्फत आफूलाई गतिशील बनाइरहे ।
आफ्नो ३३ वर्षे करिअरमा उनले चियालाई किसानको पाखा-पखेरोमा फैलाउन भूमिका खेले । किसानसँगै हातेमालो गरेर उनले चियाबाट समृद्धिको यात्रा कसरी गर्न सकिन्छ भन्ने कुरामा ठोस पहल गरे ।
नेपाल चिया विकास निगमका तत्कालीन चिया सल्लाहकार बेलायती नागरिक रोबर्ट विलियम वेलले उनलाई एउटा जुक्ति दिएका थिए, किसानस्तरमा चिया फैलाउनेबारे । त्यसलाई उनीहरुको प्राविधिक भाषामा ‘आउट ग्रोअर्स टी स्किम प्रणाली’ भनियो ।
यस किसिमको प्रणालीअन्र्तगत चिया खेतीको विस्तार गर्न कति सम्भव छ भनी उनी स्वयं खटिए । त्यसताका निगमका महाप्रवन्धक ईश्वरचन्द्र शर्मा थिए । उनले किसानस्तरमा चिया खेतीको सम्भाव्यता पहिल्याउने जिम्मा तारानाथ शर्मालाई दिए । तारानाथ शर्माले इलामको फिक्कल, श्रीअन्तु, कन्याम, पञ्चकन्या, पशुपतिनगर आसपासको क्षेत्रमा फिल्ड सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाए । यद्यपि यो काम तुरुन्तै कार्यन्वयनमा आउन सकेन ।

संयोग भनौं, दार्जिलिङ पहारगुनिया चिया कमानमा कार्यरत चियाविज्ञ सुन्दरजंग राणालाई पनि नेपालमा चियाखेती विस्तार गर्ने गहिरो अभिरुचि रहेछ । त्यसबेला कृषि विकास बैंकमा श्रीकृष्ण उपाध्याय उपमहाप्रवन्धक थिए र विष्णुबहादुर सिलवाल ऋण अधिकृत । उनीहरुले चिया किसानलाई वित्तीय सेवा दिने योजना बनाए र त्यसलाई थप परिपक्व बनाउन चिया विज्ञ राणालाई नेपाल बोलाए । उनी चिया सल्लाहकारको रुपमा नियुक्त भए । यसपछि नै तारानाथ शर्माले तयार गरेको ‘आउट ग्रोअर्स टी स्किम प्रणाली’ कार्यान्वयनमा ल्याइयो ।

त्यस स्किम अन्तर्गत छनोट गरिएका रेवतीरमण पौडेल (हर्कटे), तीर्थराज थुलुङ (आरुबोटे), हुकुमलाल राई (काटेबुङ), पदमचन्द्र लेप्चा (फिक्कल), छात्रबहादुर राई (श्रीअन्तु), चन्द्रबहादुर थुलुङ (श्रीअन्तु), विश्वनाथ बाँस्तोला (लक्ष्मीपुर), मानकुमार लेप्चा (कन्याम)लगायत आठ जना किसानलाई स्थानीयस्तरमा चिया खेती गर्न प्रेरित गरियो । उनीहरुले कृषि विकास बैंकबाट ऋण सुविधा लिएर चियाखेती सुरु गरे । यो २०३३ सालको कुरा हो ।
पछि सुन्दरजंग राणा नेपाल चिया विकास निगमका महाप्रवन्धक भए । उनले कृषि विकास बैंकसँग समन्वय गरेर चिया रोप्नका लागि किसानलाई ऋण सेवा उपलब्ध गराउने व्यवस्था मिलाए । यस अन्तर्गत ओभरसिज डेभलपमेन्ट परियोजना ल्याइयो । यसै परियोजनामा खटिएर तारानाथ शर्माले किसानस्तरमा चियाखेती विस्तारका लागि जोडबल गरे ।
किसानमा चियाप्रति चासो बढ्दै गयो । लगाव बढ्दै गयो । किसानको यो उत्साहलाई थप टेवा दिन, प्राविधिक सहयोग दिलाउन ठाउँठाउँमा चिया विस्तार योजना स्थापना गरियो । चिया विस्तार योजना इलामको जसबीरे हुँदै मंगलबारे, फिक्कल त्यसपछि धनकुटाको हिले र पाँचथरको चिलिङदेनमा गरियो ।
यसपछि किसानको बाँझो डाँडापाखा चियाको बोटले ढाकिन थाल्यो । किसानले आफ्नै माटोमा उत्पादन गरेको, आफ्नै हातले बनाएको चियाको स्वाद मात्र लिन थालेनन्, चियाको पत्ती बिक्री गरेर आयआर्जन पनि लिन थाले । अहिले इलाम लगायतका थुप्रै जिल्ला चियाले हराभरा छन् । सयौं कारखानाले चिया प्रशोधन गरिरहेका छन् । धेरैजसो त किसान नै चिया प्रशोधन कारखानाका मालिक भएका छन् । यसरी उत्पादित चियाले नेपाली पारखीको मात्र तिर्सना मेटिरहेको छैन, विश्व बजारमा समेत निर्यात भइरहेको छ । आज नेपालको निर्यातजन्य कृषि उपजमा चियाको हिस्सा लोभलाग्दो छ ।
यसरी किसानस्तरमा चियाखेती विस्तार गर्नमा विभिन्न विदेशी-स्वदेशी व्यक्तिले हातेमालो गरेका छन् । जस्तो कि रोबर्ट विलियम वेल, सुन्दरजंग राणा, जोन टेलर, रिड एन्डरसन, हेमबहादुर गुरुङ, दिलबहादुर राउत, बाबुराम पौडेल, शालिक कार्की । यससँगै नरबहादुर अम्गाईं, ईशुशंकर श्रेष्ठ र पदमबहादुर गजमेर पनि ।
तारानाथ शर्मा अधिकारीको ‘आउट ग्रोअर्स टी स्किम प्रणाली’ अध्ययन प्रतिवेदन अनुरुप नै किसानस्तरमा व्यावसायिक चिया खेती हुन थाल्यो । २०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले पूर्वका पाँच जिल्ला इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुमलाई नेपालको चिया क्षेत्र घोषणा गरे ।अनलाइनखबर,