महिला हिंसा र पुरुष


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
महिला हिंसा र पुरुष

बाबु, छोरा त पाउनुपर्छ,’ सरकारी सेवाबाट अवकाशप्राप्त एक आफन्तले निर्लज्ज भई आत्मविश्वासका साथ ‘सल्लाह’ दिए । एक ‘शिक्षित’ मित्रले दुई छोरीलाई इंगित गर्दै भने, ‘त्यतिमै चित्त बुझाउने हो ?’ अर्का एक मित्रले त ख्यालठट्टामै ‘यार्सागुम्बा खाँदा छोरा हुन्छ’ भन्नसम्म भ्याए ।

छोरीहरूको मात्र बुबासँग आफन्त र साथीहरूले भनेका यी कुरा त बाँड्न उचित अनुभवहरू मात्रै हुन् । यस लेखमा एक पुरुष, दुई छोरीको बुबा तथा यो समाजको सदस्य हुनुका नाताले लैंगिक विषयबारे आफ्नो अनुभव र विचार साट्ने जमर्को गरेको छु जसबाट लैंगिक असमानता र हिंसासम्बन्धी वैचारिक, कानुनी र नीतिगत छलफल एवं बहसमा थप ऊर्जा मिल्ने अपेक्षा गरेको छु ।

अझै महत्त्वपूर्ण कुराचाहिँ, यो लेख ती छोरीहरूका लागि हो जसले छोरी भएर जन्मेका आधारमा अपहेलना, तिरस्कार, भेदभाव खेपेका छन् । साथै आत्मग्लानि र धिक्कार महसुस गरेका छन् । असुरक्षित महसुस हुँदा तिनले कैयौंपटक भनेको मैले सुनेको छु, ‘कास, पुरुष भएर जन्मन पाएको भए… !’ यो लेख ती बुबाहरूका लागि हो, जो पुरुषत्वको विचार र शासनबीच छोरी (हरू) मात्र भएकामा हीनताबोध गर्छन्, आफन्त र समाजबाट खिसीटिउरी खेपी निरीह भएर बसिरहेका छन् । कहिलेकाहीँ त्यसैका कारण (छोरी मात्र ‘जन्माएको’ दोषयुक्त असत्य बुझाइका आधारमा) पुरुषहरू श्रीमतीप्रति हिंसक बन्नुका साथै सम्बन्धविच्छेदसम्म गर्छन् । र, ‘म अपुतो’ भएँ’ भनेर चिन्तित भई शिर उचो गर्न नसकी ‘छोरा मात्रै भैदिएको भए त…’ भन्दै असन्तुष्टिको जीवन व्यतीत गरिरहेका छन् । अनि ती बुबा र आमाहरूका लागि हो, जो चिनेजानेको चिकित्सकमार्फत गर्भमा छोरी भएको पहिचान गरी गर्भपतन गर्ने कि भनेर घोत्लेर बसिरहेका छन् । र, ती बुबा र आमाहरूका लागि हो जो छोरी जन्मेका आधारमा नाक खुम्च्याई आफ्नो कर्म र भाग्यलाई धिक्कार्दै लामो सुस्केरा हालेर हीनताबोध गरिरहेका छन् ।

छोरी/महिला हुँदैमा

छोरी भएर जन्मेकै आधारमा आफ्नै अभिभावकबाट मारिनुपरेका दर्दनाक समाचारहरू पढ्न–सुन्न पाइन्छ । आशा गरेजति दाइजो नपाएकाले केटा पक्षका परिवार, छिमेकी या केटा आफैंले महिलामाथि शारीरिक तथा मानसिक हिंसा मात्रै नगरेर उनको हत्या नै गरेका समाचारहरू सुन्न–पढ्न पाइन्छ । कामका सिलसिलामा यात्रा गर्दा या अबेरसम्म काम गर्नुपरेका कारण घर आउन ढिलो हुँदा महिलालाई थाकेकी हौली भनेर सहानुभूति दिनुको सट्टा, उनको चरित्रमाथि प्रश्न उठाई शारीरिक तथा मानसिक हिंसा गरेका कैयौं घटना हामीले सुन्दै र पढ्दै आएका छौं । बाहिर नआएका यस्ता घटनाहरू अझ कति होलान् ?

महिलामाथि हुने हिंसाका रूपहरू विभिन्न लेख–रचनासँगै गीत–संगीतमार्फत पनि व्यक्त हुने गरेका छन् । जस्तो, भूपेन्द्र बुढाथोकीको एउटा गीतले छोरी–महिला हुनुको पीडा यसरी कहेको छ-

फूल भनौं जिन्दगीलाई, फुल्न नपाई झरिसक्यो

दियो भनौं जिन्दगीलाई, जल्नै नपाई मरिसक्यो ।

यात्रा भनौं जिन्दगीलाई, निर्जीव भै बाँचेकी छु

सुख भनौं जिन्दगीलाई, पीडा बोकी हाँसेकी छु ।

मन दुख्छ समाजले एक्लो बनाई हेप्ने गर्दा

आफ्नाले ’नि ठिक्क पार्छन्, साथ दिन्नन् दुःख पर्दा ।

उपर्युक्त गीतका हरफहरूले भनेझैं अधिकांश महिलाको जीवन जिउँदो भए पनि ‘निर्जीव’, ‘पीडा’, ‘दुःख’, ‘हेपाइ’ र ‘एक्लोपन’ ले भरिएको हुन्छ, खासगरी सहरोन्मुख र ग्रामीण भेगका महिलाहरूको जीवन । अशक्त र कमजोर भएरभन्दा पनि लैंगिक भेदभाव र असमानतापूर्ण सामाजिक सोच र संस्कारका कारण पनि ती पीडित भएका छन् । तर, त्यसबारे जानकार भए पनि निःस्वार्थपन, आफ्नो

खानदान/परिवार, बुबा, आमा र दाजुभाइहरूको ‘इज्जत’ राख्न/बचाउनका लागि पीडायुक्त जीवनसँग सम्झौता गर्ने निर्णयका कारण पीडित बन्ने गरेका हुन् । त्यसैले त तलको गीतिकविताले भनेजस्तै महिलाहरूले आफ्ना इच्छा, सपना, आकांक्षाहरू आँसुसँगै बगाइदिन्छन् र पीडासँगै निलिदिन्छन्-

मेरो आकाश छुने इच्छा, आज सबै बिलाई गयो

आज किन आफ्नै छाया टाढाटाढा भाग्न थाल्यो

जिन्दगीका खुसीहरू बिर्सेजस्तो लाग्न थाल्यो ।

कतिन्जेल हामी यस्ता पीडाले भरिएका गीतहरू सुन्दै बस्ने ? उनीहरूको पीडासँगै पीडित हुँदै बस्ने कि त्यस्तो नहोस् भन्न कुनै कदम चाल्ने ? खास गरी समाज, त्यसमाथि पनि पुरुष वर्गले ? यो अहिलेको महत्त्वपूर्ण प्रश्न हो ।

तपाईंको र मेरो दोष पनि उत्तिकै

जब कुनै सन्तानको, छोरी भएका कारण उसकै आमाबुबाले हत्या गरेको खबर पढ्छौं या सुन्छौं, श्रीमतीहरू श्रीमान्बाट बीभत्स ढंगले पिटिएको अनि मारिएको सुन्छौं या पढ्छौं, एकपटक गम्भीर भई सोचौं र प्रश्न गरौं- हामी कस्तो समाजमा बसिरहेका छौं ? हाम्रो अगाडि त्यस्तो समाजको दृश्य घुम्न थाल्छ, जुन अमानवीय छ, असंवेदनशील छ र हिंसक छ । यस्ता जघन्य सामाजिक अपराधहरू अझै कसरी भइरहेका छन् त ? हो, हामीसँग कानुन छ, जसले यस्ता अपराधीलाई दण्डित गर्छ, तर कानुनी उपचारका साथै लैंगिक विभेद र हिंसालाई सम्बोधन गर्नका लागि समाजको सोच, बुझाइ, विश्वासमा भने गम्भीर परिवर्तन हुन जरुरी छ । त्यसमा पनि पुरुष, विशेष गरी शासित र शिक्षित वर्गको महत्त्वपूर्ण भूमिका छ । कसरी ?

यदि कुनै व्यक्ति मानसिक रूपमा स्वस्थ छ, लैंगिक समानतामा विश्वास गर्छ भने ऊ आफ्नै अबोध बालिकाको अपहेलना, विभेद वा हत्या गर्न अग्रसर हुँदैन । कुनै पनि पुरुष आफूलाई पुरुष भएकैमा सर्वोपरि ठान्दैन र आफ्ना आमा, छोरी, चेलीलाई हेप्दैन वा हेपेको पनि सहँदैन भने कुनै महिलालाई भेदभाव गर्दैन, गरेको पनि सहँदैन । आफ्नी छोरी भेदभाव र अन्यायमा नपरोस् भनी कामना गर्ने कुनै पनि आमा बुहारीलाई हेप्न र भेदभाव गर्न पनि तत्पर हुन्नन् । व्यक्ति–व्यक्ति मिलेर परिवार बन्छ, परिवार–परिवार मिलेर समाज बन्छ । संस्कार, विश्वास र सोचको मुख्य स्रोत भनेकै व्यक्ति या बुबा–आमा (परिवार) र समाज हुन् । संस्कार, विश्वास र सोचको स्थिरता, गतिशीलता या विकास/परिवर्तन हुनु र नहुनुमा व्यक्ति, परिवार र समाजबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ ।

सारमा, व्यक्ति र समाजबीचको अन्तरसंघर्षले संस्कार, विश्वास र सोचको स्थिरता र गतिशीलता हुनु–नहुनुमा मुख्य भूमिका खेल्छ । त्यसैले कुनै बुबा–आमाले छोरी जन्मेको थाहा हुनासाथ त्यो अबोध शिशुलाई विभेद वा हत्यासम्म गर्न पुग्छन् भने तिनीहरूको मात्रै होइन, एउटा समाजको सदस्यका हैसियतले हामी (तपाईं, म) सबैको दोष उत्तिकै हुन्छ । कसैकी बुहारी, छोरी, आमा, श्रीमती हेपिनुमा सम्बन्धित परिवारको मात्रै होइन, मेरोसँगै तपाईंको पनि त्यति नै जिम्मेवारी छ । किन ? किनभने तपाईंले, मैले र हामीले भेदभावपूर्ण संस्कार, विश्वास र सोच हटाउन, लैंगिक समानता र भेदभावरहित परिवर्तन गर्न जसरी आवाज उठाउनुपर्ने र कदम चाल्नुपर्ने हो, त्यो गर्न सकेनौं । गर्न सकेका पनि छैनौं ।

अबोध बालिकाको दोष के ?

कुनै पनि समाजका राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक संस्कार र वातावरण सदियौंदेखि सिर्जित भएका हुन्छन् र तिनले समाजमा गहिरो जरा गाडेका हुन्छन् । परिणामतः समाजलाई परिवर्तन गर्न कठिन त हुन्छ नै, समय पनि लाग्छ । तर सही परिवर्तनका लागि कदम चाल्न हतोत्साही हुनु या समयसँगै समाजको परिवर्तन होला भनेर पर्खेर बस्नु पनि उचित होइन । हर समय समाजको हरेक तह र तप्काबाट लैंगिक हिंसा र विभेदविरुद्ध आवाज उठ्नुपर्छ, उठाइरहनुपर्छ । त्यो संघर्ष र आवाज संरचनात्मक लैंगिक हिंसा र विभेदलाई बढावा दिइरहेको सामाजिक सोच, विश्वास र बुझाइविरुद्ध हुनुपर्छ । यसमा महिलाको भूमिका जति हुन्छ, त्योभन्दा बढी पुरुषको हुन्छ । किनभने उसले बनाएको/लेखेको सामाजिक र कानुनी नीतिनियम ऊ आफैं परिवर्तन गर्न अग्रसर भयो भने नतिजा छिट्टै आउँछ । यो लेख पनि त्यसैको एउटा भाग हो, आवाज हो ।

फेरि सम्झौं, ती अबोध बालिकाहरूको दोष के छ ? उनीहरू त प्राकृतिक छनोटको प्रक्रिया पूरा गरी जीवन जिउनका निम्ति तयार भएर जन्मेका हुन्छन् । उनीहरूलाई जन्मिने बेला न आफू महिला भएको थाहा हुन्छ, न पुरुष, न त अरू लैंगिक विविधतायुक्त । त्यसकारण छोरी भएर जन्मनु अभिशाप होइन, पाप होइन, कर्म बिग्रनु होइन र कमजोर हुनु पनि होइन । अनि पुरुषभन्दा नीच हुनु होइन । त्यसको ठ्याक्कै विपरीत चाहिँ हो । छोरी भएर जन्मनु भनेको अमूल्य प्राकृतिक उपहार हो, जननी हो, जीवनको प्रक्रिया हो र सुन्दरता हो । पूर्ण रूपमा जीवन बुझ्ने र जिउने अधिकार हो । आफूले जन्माएका भन्दैमा छोरीहरूको जिउने र संसार अनुभव गर्ने नैसर्गिक अधिकार निमिट्यान्न पार्ने अधिकार हामी कसैमा, कुनै पुरुषमा छैन ।

पुरुषत्व, लैंगिक विभेद र हिंसा

पुरुष भएर, छाती उच्च बनाएर, सीधा या ठाडो नजर गरी हिँडेर हामीले नजानिँदो पाराले लैंगिक भेदभावलाई स्थिर बनिरहन सहयोग पुर्‍याइराखेका हुन्छौं । यदि तपाईं–हामी सामाजिक न्याय, लैंगिक समानता – सामान्य र सीधा भाषामा भन्नुपर्दा- नाबालिकाहरूको क्रूरतापूर्वक हत्या, छोरी, बुहारी र आमाहरूप्रति भेदभावपूर्ण व्यवहारका साथै श्रीमतीमाथि मानसिक–शारीरिक हिंसा र हत्यालाई निमिट्यान्न पार्न चाहन्छौं भने पुरुषवादी सोचाइ त्याग्नैपर्छ । छोरीका लागि पनि, छोराका लागि पनि समान रूपमा आमा र बुबा बन्नैपर्छ; भाइ र दाइ बन्नैपर्छ जसले दिदीबहिनीको समान अधिकारमा विश्वास गर्छ, जोड दिन्छ र श्रीमान्हरू – पुनर्परिभाषित अर्थमा- ‘जोइटिंग्रे’ बन्नुपर्छ । जोइटिंग्रे हुनु भनेको श्रीमतीको गुलाम या दास हुनु होइन, कामको प्रकृति र आकृति नहेरी बराबर हैसियतको व्यवहार गर्नु हो ।

समग्रमा भन्नुपर्दा, महिलालाई सम्मानजनक व्यवहार गर्नु भनेको उनको आत्मसम्मानको कदर हो । आमाप्रतिको अगाध माया र पूजा हो । दिदीबहिनीप्रतिको आदर र माया हो । साथै व्यक्ति, परिवार र समाजको लैंगिक असमानता र भेदभावविरुद्धको बलियो आवाज हो; कदम हो; शिक्षा हो । एकपल्ट सोचौं त, तपाईं–हामीलाई हतार–हतार कार्यालय जानुपर्दा होस् या कुनै काम समयसीमाभित्र सक्नुपर्दा, आमा, दिदी, बहिनी, भाउजू, बुहारी वा श्रीमतीले आफ्ना सारा काम थाती राखेरै भए पनि खानपिन तयार गरिदिन्छन् । हामी धेरैजसोले उनीहरूको त्यो सहयोगलाई सामान्य रूपमा या ‘टेकन फर ग्रान्टेड’ रूपमा लिन्छौं । तर, त्यही खालको सहयोग हामीले बुहारी, भाउजू वा श्रीमतीलाई गर्‍यौं भने उनीहरूले त्यसलाई – मेरा एक विद्यार्थीको अध्ययनअनुसार – ‘सपोर्ट’ का रूपमा लिन्छन् । कुनै पुरुष मित्रले यी हरफहरू पढिरहँदा ‘जान्ने भयो,’ ‘दर्शन छाँट्यो’ या कतिले त ‘महिलावादी भै टोपल्यो’ भन्नुहोला, तर तपाईं त्यो कोटिमा पर्नुहुन्छ भने, एकपल्ट पुरातन सोच र विश्वासलाई टाढा राखेर आफ्नी आमासँग या दिदीबहिनीसँग बसेर एक घण्टाजति उनीहरूका दुःखसुख कुरा सुनिदिनुहोस् । केवल उनीहरूका कुरा सुनिदिनुहोस् ।

अमेरिकाको जर्ज मेसन विश्वविद्यालयबाट पीएचडी गरेका नाल्बो समाज, राजनीति र वातावरणसँग सम्बन्धित द्वन्द्व र शान्ति विषयमा अनुसन्धान गर्न रुचि राख्छन् ।  साभार कान्तिपुरबाट

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap