मनमा खेलाडी बन्ने सपनालाई बोकेर दौडिरहेकी छन्, ..वन्दना राई


लेखक : सुन्दराञ्चल      चैत्र १४, २०७८ मा प्रकाशित     
मनमा खेलाडी बन्ने सपनालाई बोकेर दौडिरहेकी छन्, ..वन्दना राई

काठमाडौं  १४ चैत, । काठमाडौंको धुँवा-धुलो अनि चर्को घाममा दिनभर डुलिरहन मन छैन वन्दनालाई । तर आफ्नो सपना पूरा गर्न र बाध्यताबाट पार पाउन धुँवा-धुलो र घाम-पानीको पर्वाह नगरी काठमाडौंका गल्ली चहारिरहेकी छन् ।

आफ्नो सपनाका लागि उनको मेहनत फिक्का लाग्छ वन्दना राईलाई । रहर पूरा गर्न जिन्दगीमा कहीं न कतै कम्परमाइज गर्नै पर्छ जस्तो लाग्छ । ‘म रहरका खातिर लागिरहेकी भएपनि सपना पूरा गर्न अझै धेरै दौडिन बाँकी छ । वन्दना भन्छिन्, ‘मेरो खेलाडी बन्ने सपनाका लागि म जे नि गर्न तयार छु ।’

मनमा खेलाडी बन्ने सपनालाई बोकेर दौडिरहेकी छन्, इलामको देउमाई नगरपालिका-५ की वन्दना । उनी पठाओको फुड डेलिभर गर्लका रुपमा काम गर्छिन् ।

पुरुषले मात्र नभई महिलाले पनि पुरुषसरह सबै काम गर्न सक्छन् भन्ने गतिलो उदाहरण पेस गरेकी छन् वन्दनाले ।

विहान मर्निङ वाकमा दौडिनेबाहेक उनको अधिकांश समय बाइकमा नै बित्छ । त्यसैले एक घण्टा उनले मर्निङ वाकका लागि छुट्याएकी छन् । बिहानको तीन-चार घण्टा कलेजका लागि पनि छुट्याएकी छन् ।

बिहान १० बजेदेखि बेलुका नौ बजेसम्म उनी फुड डेलिभरीको काममा खटिन्छिन् । नक्साल, चावहिल, ठमेल, बानेश्वर, ज्ञानेश्वर, न्युरोड र कोटेश्वर उनका मुख्य जक्सन हुन् । यिनै ठाउँबाट उनी धेरैजसो अर्डर लिएर ग्राहकको ढोकासम्म पुग्छिन् ।

पहाडी जिल्ला इलाममा जन्मेकी वन्दनालाई सुरुमा सहरिया परिकारका विषयमा ज्ञान थिएन । ‘गाउँमा चाउमिन, मःमः, चाउचाउको नाम सुनेकी थिएँ, खाएकी थिएँ । तर यहाँ आएपछि त नामसम्म नसुनेका पिज्जा, बर्गर जस्ता अनेक  परिकार डेलिभरी गरें, जसको नामसम्म उच्चारण गर्न समस्या भयो,’ हाँस्दै उनले सुनाइन् ।

साइकल समेत चलाएकी थिइनन्, एकैचोटि बाइकमा

इलाममा हुँदा उनले साइकल समेत चलाएकी थिइनन् । काठमाडौं आएर दिनमा १०-११ घण्टासम्म बाइक चलाउँदा हात–खुट्टा र शरीर निकै दुख्यो । एक दिन फुड डेलिभरी गरेपछि उनी दुई दिनसम्म काममा गइनन् । कारण, उनलाई निकै थकान महसुस भएको थियो । बाइक नै चलाउन नसक्ने अवस्थामा उनी पुगेकी थिइन् ।

तर पछि बिस्तारै बानी पर्दै गएपछि उनी कामलाई निरन्तरता दिन थालिन् । कामलाई रहरसँग जोड्न थालेपछि भने वन्दनालाई गाह्रो भएन ।

इलामबाट प्लस टु पढ्न काठमाडौ आएकी वन्दनाले पढाइ खर्च जुटाउनका लागि होटलमा सानीआमा र फूपुलाई सघाइन् र सँगै मार्केटिङको पनि काम गरिन् । प्लस टु पढ्दा सानो चिया पसलमा आफन्तलाई सघाएर मार्केटिङको काम गरेर खर्च जोहो गरिन् भने अहिले उनी पठाओमा काम गरेर पढाइ खर्च जुटाइरहेकी छन् ।

चार महिना भयो राईले पठाओमा फुड डेलिभर गर्लका रुपमा काम गरेको । अहिले उनी सन्तुष्ट र खुसी छिन् । कक्षा १० सम्म गाउँकै डम्बरदेवी उच्च माध्यमिक विद्यालयमा पढेकी वन्दना प्लस टु पढ्न भन्दै काठमाडौं आइन् । गाउँमा स्कुल पढ्दा उनी स्कुलमा विभिन्न दौड तथा रिले दौड प्रतियोगिामा भाग लिन्थिन् ।

स्कुलमा उनी दौडिन सक्ने छात्रामा गनिन्थिन् वन्दना । ‘स्कुल पढ्दादेखि नै मलाई दौड खुब मन पथ्र्यो । मलाई ठूलो भएपछि खेलाडी बन्छु भन्ने थियो । मेरो दौडप्रतिको लगावलाई अहिले मूर्त रुप दिन खोजिरहेकी छु,’ उनी भन्छिन् ।

वन्दनाले शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसबाट प्लस टु उत्तीर्ण गरिन् । सोही क्याम्पसमा हाल उनी स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । पठाओमा फ्रिल्यान्सरका रुपमा काम गर्छिन् । आफ्नो काम पर्दा कार्यालयलाई जानकारी गराएर बिदा बस्छिन् ।

चिनेजानेका एक जनाले पठाओमा फुड डेलिभरीमा काम छ, गर्दा हुन्छ भनेपछि आफ्नै खुट्टामा उभिनका लागि उनी यसतर्फ आकर्षित भएकी हुन् । अहिले उनी मासिक ३०-३५ हजार रुपैयाँ कमाउँछिन् ।

पठाओमा काम गर्ने निश्चित भएपछि उनले दाजुभाइसँग बाइक किन्न सहयोग मागिन् । विदेशमा रहेका दाजुले बाइक किन्नमा सहयोग गरेपछि उनको काम गर्ने बाटो खुल्यो । केही आफूले काम गरेको पैसा र केही दाजुले पठाएको पैसा मिलाएर उनले बाइक किनिन् र फुड डेलिभर गर्लको रुपमा काम गरिन् ।

सपना पूरा गरेरै छाड्ने अठोट

काम गर्दैगर्दा आफ्नो सपना पनि उनले बिर्सिएकी छैनन् । वन्दना बिहान दौडनका लागि दशरथ रंगशाला पुग्छिन् । अहिले गाउँबाट बिरामी भएर आमा पनि काठमाडौं आएकी छन् । उनलाई बेलाबेला अस्पताल पुर्‍याउनुपर्छ । जसका कारण उनको प्रशिक्षण तथा कलेज बिथोलिएको छ ।

‘आमा बिरामी भएका कारण अस्पताल लैजाने र हेरचाह गर्नुपर्ने भएकाले प्रशिक्षणमा जान नपाएपनि आफैं प्रयास गरिरहेकी छु,’ उनी भन्छिन् ।’

गाउँमा स्कुल जाँदा राईले करिब एक–डेढ घण्टा उकालो हिंड्नुपर्थ्यो । बिहान एक भारी घाँस काटेर स्कुल पुग्दा जहिल्यै ढिलो हुन्थ्यो । हतारहतारमा एक भारी घाँस काटेर खाना खाएर उनी स्कुल दौडिन्थिन् । तर जति हतार गरेपनि नदौडिएर समयमा स्कुल पुग्दिनथिइन् ।

‘समयमा स्कुल पुग्न उकालो भएपनि दौडिनैपर्ने हुन्थ्यो,’ उनी भन्छिन्, ‘स्कुुल जाँदा हतारहतारमा दौडिने बानीले गर्दा दौडप्रति आकर्षण बढ्यो जसको प्रभाव अहिलेसम्म छ ।’

वन्दनाले काठमाडौं तथा काठमाडौं बाहिर हुने विभिन्न दौड प्रतियोगितामा भाग लिइसकेकी छन् । स्वयम्भूमा हुने दौड, दशरथ रंगशालामा हुने विभिन्न दौड, हरेक वर्ष नुवाकोटमा हुने झिल्टुङ क्रस कन्ट्री दौड तथा धरानमा हुने दौडमा उनले सहभागिता जनाइसकेकी छन् ।

सहभागी भएका प्रतियोगितामा कुनैमा प्रथम कुनैमा तेस्रो र कुनैमा उत्कृष्ट १० मा पर्न सफल भएकी छन् । वन्दनाको एथलेटिक्समा मात्रै रुचि छैन, उनी तेक्वान्दोको ब्ल्याक बेल्ट पनि हुन् ।

प्लस टु पढ्न भन्दै काठमाडौ आएपछि उनले दशरथ रंगशालामा एक दिन सेतो ड्रेसमा कराते खेलिरहेको देखिन् । चिटिक्क परेको सेतो ड्रेसले उनको मन छोयो र उनले घरमा तेक्वान्दो खेल्ने चाहना राखिन् । तर आमाबुबाले मानेनन् । तेक्वान्दोमा जोखिम हुने भएकाले उनलाई घरपरिवारले अन्य खेल खेल्न सुझाव दियो । ‘बाआमाले बरु अन्य खेल खेल । छोरी मान्छेले तेक्वान्दो खेल्नु हुँदैन जोखिम हुन्छ । यो राम्रो खेल होइन भन्नुहुन्थ्यो । तर मैले मेरो मन र आँखामा गढेर बसेको तेक्वान्दो नखेली बस्न सकिनँ,’ उनी भन्छिन् ।

अहिले उनलाई तेक्वान्दो खलेर ठिकै गरेछु जस्तो लाग्छ । कारण उनी आवश्यक परे केही हदसम्म आफ्नो सुरक्षा आफैं गर्न सक्छिन् ।

गाउँमै आधा जिन्दगी बिताएका आमाबुबालाई तेक्वान्दोबारे थाहा थिएन । वर्षौंदेखि उनीहरुले गर्दै आएको काम नै कृषि थियो । खेलबारे अनविज्ञ राईका आमाबुबाले तेक्वान्दो नखेल यो खेलेर के काम ? भन्नुको कारण नै खेलबारे थाहा नपाउनु थियो ।

उनको चाहना त बरु आफूले एक छाक कम खाएर पनि छोरीले काठमाडौं गएर पढोेस् । सरकारी जागिर खाओस् भन्ने थियो ।

फुड डेलिभरी गर्दा राति अलि गाह्रो

 

पठाओमा काम गरेको चार महिना भइसक्दासम्म राईले काममा अप्ठ्यारो महसुस गरेकी छैनन् । तर काठमाडौं राति नौ बजे नै सुनसान भइसक्ने हुँदा केही डर भने उनलाई लाग्छ । त्यसैले राति नौ बजे पछाडि उनी काम गर्दिनन् ।

काठमाडौंमा अत्यधिक ट्राफिक जाम हुने हुँदा कहिलेकाहीं ग्राहकसम्म पुग्न समय लाग्छ । समय लाग्दा परिकार चिसो भइसक्छ । चिसो भएपछि ग्राहकले रिसाएर थर्काउने गरेको पनि उनी सुनाउँछिन् ।

ग्राहक रिसाएर थर्काउँदा वन्दना ‘सरी’ भन्छिन् । फेरि ग्राहकले ‘सरी’ भनेर हुन्छ र भन्छन् । यस्ता कुराले भने कहिलेकाहीं वन्दनाको मन अमिलो हुन्छ । तर उनीसँग माफी माग्नुको विकल्प हुँदैन ।

कुनै पनि काम सानो र ठूलो नहुने भएकाले काम गरेर खान लाज मान्न नहुने उनको बुझाइ छ । पठाओको फुड डेलिभर गर्लका रुपमा काम गर्दा पढाइ खर्चका साथै आफ्नो सपना पूरा गर्न थप हौसला मिलेको उनी बताउँछिन् ।

‘काम गर्न लाज सरम हटाउनुपर्छ । काम गरेर कोही सानो ठूलो हुँदैन । कामका पछि बाध्यता मात्रै नभई सपना पनि जोडिएको हुन्छ,’ उनी भन्छिन् ।

यतिका समय भइसक्दा पनि आफू डेलिभर गर्लका रुपमा काम गर्छु भनेर वन्दनाले आमाबुबालाई भने सुनाएकी छैनन् । दाजुभाइ, दिदीबहिनी र भाउजूलाई भने थाहा छ । यस्तै नजिकका साथीबाहेक अरुलाई पनि उनले थाहा दिएकी छैनन् । तर थाहा पाएकाहरुले वन्दनालाई राम्रो काम गरिरहेको भन्दै हौसला दिइरहन्छन् ।

पठाओ नेपालका अनुसार फुड डेलिभरका रुपमा अहिले १० जना महिला काम गरिरहेका छन् । जसमा आठ जनाले स्कुटर र दुई जनाले बाइक प्रयोग गरिरहेका छन् ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap