धनगढी ९ भाद्र । सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भिमदत्त राजमार्ग अन्र्तगत पर्ने तेघरी क्षेत्रको सडक फराकिलो बनाउन सुरु भएको छ ।
गोदावरी नगरपालिका वडा नं २ तेघरी स्थित साढे ७ सय मिटर सडक फराकिलो बनाउने काम सुरु भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले बताएको छ ।
यस अघि २ लेनको मात्र रहेको उक्त सडकलाई ४ लेनको बनाउन लागिएको हो । गोदावरी नगरपालिका नवनिर्मित भवन जाने बाटो देखी सैनिक आवाशिय महाबिधालयको गेट सम्म दुवै तर्फ साढे ३ ÷साढे ३ मिटर सडक फराकिलो बनाउन थालिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुचना अधिकारी लक्ष्मणदत्त जोशीले जानकारी दिए ।
यसका लागि नागार्जुन कन्ट्रक्सनसंग भ्याट सहित ३ करोडमा सम्झौता भएको उनले बताए । यसमा गोदावरी देखी फल्टुडे सम्मको सडकका मोडहरुमा ममर्त सम्भार गर्ने सम्झौता भएको उनको भनाई छ । जोखिममा रहेका मोडहरुमा ढलान लगाएत अन्य मर्मत सम्भारको काम हुनेछ ।
सडक कालोपत्रे तथा मर्मत सम्भारका लागि नागार्जुन कन्ट्रक्सनसंग लकडाउनका बिचमै ठेक्का सम्झौता भएको थियो ।
यसको म्याद पुस मसान्त सम्म रहेको सुचना अधिकारी जोशीले बताए । यस अघि अत्तरिया देखी गोदावरी नगरपालिका नवनिर्मित भवन जाने बाटो सम्मको सडक ४ लेनको बनाइएको थियो ।
विस्तारै गोदावरी सम्मकै सडकलाई ४ लेनको बनाउदै लैजाने योजना रहेको सुचना अधिकारी जोशीले जानकारी दिए ।