भदौ २४, नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको पाइएको छ । भारतमा केही हप्तादेखि दैनिक संक्रमितको संख्यामा वृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको देखिएको छ ।सरकारी अधिकारीले बिहीवार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार २६३ जना नयाँ संक्रमित भएका छन् ।
जवकी अघिल्लो दिन दैनिक संक्रमितको संख्या कम भएको थियो । पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण थप ३३८ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एक दिनमा कुल मृत्यु भएकामध्ये १८१ जना केरला राज्यकै रहेको अधिकारीले बताएका छन् । त्यसैगरी केरलामा मात्रै एक दिनमा ३० हजार १९६ जना संक्रमित भएका छन् ।
भारतमा सक्रिय संक्रमितको अवस्थामा भने कमी आएको देखिएको छ । केही दिन आगाडि ४ लाखभन्दा बढी रहेको सक्रिय संक्रमितको संख्या अहिले घटेको छ । मन्त्रालयका अनुसार बिहीवार भारतमा ३ लाख ९३ हजार ६१४ जना कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेको तथ्याङ्क छ ।
सोही अवधिमा भारतमा ४० हजार ५६७ जना कोरोनभाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै समयमा संक्रमणमुक्त भएकाको संख्याभन्दा नयाँ थपिएका संक्रमितको संख्या धेरै रहेको छ । भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या ३ करोड २३ लाख चार हजार ६१८ रहेको मन्त्रालयले बताएको छ । रासस/ एएनआई