कैलाली, जेठ ९ – बीजी इन्फोटेक, एक स्थानीय आईटी कम्पनीले आफ्नो पहिलो स्थापना दिवस सामाजिक उत्तरदायित्वमा समर्पित गर्दै विशेष कार्यक्रमको आयोजना गरेको छ।
कम्पनीले सोमबार बिहान छाडा गाई तथा गोरुलाई रोटी र केरा खुवाएर दिवसको शुभारम्भ गर्यो। साँझपख धनगढीका मुख्य सडक क्षेत्र वरपर रहेका छाडा कुकुरहरूलाई मासु र भात वितरण गरिएको कम्पनीले जनाएको छ।
जनावरप्रति दया भाव मात्र होइन, सडक दुर्घटना न्यूनीकरणका लागि इन्फोटेकले विशेष पहलस्वरूप छाडा चौपायाका घाटीमा रातमा देखिने रिफ्लेक्टिङ्ग बेल्ट समेत बाँधिएको जानकारी सञ्चालक सन्देश बोगटीले दिएका छन्।
उनका अनुसार यस्ता प्रयासले सवारी साधनका चालकलाई रातको समयमा चौपाया पहिचान गर्न सजिलो हुने र सम्भावित दुर्घटनाबाट जोगिन सकिने अपेक्षा गरिएको छ।
समाजमा जनावरप्रतिको चेतना र माया अभिवृद्धि गर्ने उद्देश्यले यो कार्य गरिएको भन्दै बोगटीले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।