बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित आग्रह


लेखक : सुन्दराञ्चल      फाल्गुन ११, २०७८ मा प्रकाशित     
बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित आग्रह

काठमाडौं   फागुन  ११   नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन् ।

उनले भोलिको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्नसक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको बताइन् ।

‘सैद्धान्तिक छलफल र निर्णय प्रक्रिया जोडिएको हुन्छ, तसर्थ यसलाई एमसिसीको पक्षमा उभिन सांसदलाई ह्विप नै जारी गरिएको भनेर बुझ्दा पनि हुन्छ,’ भुसालले भनिन् ।

हाल प्रतिनिधिसभा बैठकमा कांग्रेसको तर्फबाट ६३ जना सांसद छन्, तीमध्ये दुईजना निलम्बित छन् । सांसद प्रदीप गिरी उपचारका क्रममा भारतमा छन् ।

कांग्रेस एमसिसीको पक्षमा छ । कांग्रेस सांसद लक्ष्मी परियारले भोलि बस्ने संसद् बैठकमा उपस्थित हुन भनेर सर्कुलर आएको जानकारी दिइन् । उनले पार्टीको संसदीय दलको कार्यालयले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन भनेर म्यासेज पठाएको पुष्टि गरिन् ।

सत्तारुढ प्रमुख दल कांग्रेस संसदमा दोस्रो ठूलो शक्तिको रूपमा रहेको छ । संसदमा सबैभन्दा धेरै एमालेका ९७ जना सांसद छन् ।

एमालेले एमसिसीको सम्बन्धमा संसदमा पक्ष वा विपक्षमा उभिनेबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन । एमालेले आफूहरूका माग सम्बोधन गरे मात्रै एमसीसीको विषयमा निर्णय गर्ने अडान राखेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap