बार्सिलोनाका लागि डेब्यु गरेपछि गाबीले भने- म विश्वकै खुशी केटो


लेखक : सुन्दराञ्चल      भदौ १५, २०७८ मा प्रकाशित     
बार्सिलोनाका लागि डेब्यु गरेपछि गाबीले भने- म विश्वकै खुशी केटो

निको गोन्जालेज र युसुफ डेमिरलाई डेब्यु गराएपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएमनले गावीलाई पनि डेब्यु गराए ।

स्पेनिस ला लिगा अन्तर्गत आइतबार गेटाफे विरुद्धको खेलमा गावीले ७३औं मिनेटमा मैदान प्रवेश गर्दै डेब्यु गरे । उनी सर्जी रोवर्टोको स्थानमा मैदान प्रवेश गरेका थिए ।

१७ वर्षीय मिडफिल्डर गावीले आफ्नो आधिकारिक डेब्युलाई लिएर खुशी व्यक्त गरे । उनले क्याम्प नोउमा डेब्यु गर्ने अवसर पाउनु आफ्नो लागि खुशीको क्षण भएको बताए ।

‘अहिले म विश्वकै सबैभन्दा खुशी केटो भएको छु,’ गावीले बार्सा टिभीसँग भने, ‘म युवा हुँदा देखि नै मैले क्याम्प नोउमा पहिलो श्रेणीको खेलको डेब्यु गर्ने सपना देखेको थिएँ र आज मैले यो उपलब्धि हासिल गरें ।’

उनले डेब्युअघि केही नर्भस भएको र खेलमा उत्कृष्ट गर्ने प्रयास गरेको बताए । गावीले आफूले परिवार, साथी, सबै प्रशिक्षक, ला मासिया र विशेष गरी सर्जी मिलालाई सम्झेका थिए । मिलाले उनको करिअरमा सहयोग गरेका थिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap