बाजुरा चैत्र-४, जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइएको देखीएको घटनाले कस्को मन बेचैन नहोला र। मान्छेहरु परम्पराको नाममा कतिसम्म पाखण्डी हुन्छन् भन्ने यो घटनाले दर्शाइदिएको छ।
बाजुरा जगनाथ गाउँपालिका-६ काप्रेमा नदीमा बगाइँदै गरेको गाइको यो भिडियो (cow)अहिले सााजिक सञ्जालमा भाइरल भएको छ।‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो हेर्दा धेरैको मन विथोलिएको छ।कर्णाली नदीको किनारमा दुई दर्जनजति मान्छे भेला भएका छन् ।उनीहरूले एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेट्छन्।
गाई नदीमा जान डराउँछ। त्यो अबोध प्राणी सकीनसकी किनारमा निस्कने यत्न गर्छन्। यद्यपि त्यहाँ भेला भएका गाईलाई ढुंगा, डोरी र लौरोले यति धेरै पिट्छन् कि त्यसको पीडा सहन नसकी गाई नदीमा पुग्छ।गाई फेरि किनारमा फर्कन्छ। यद्यपि उनीहरूले गाईलाई यत्तिकै छाड्दैनन्। फेरि अर्को ठाउँमा लगेर बलजफ्ती नदीतर्फ लखेट्छन्। गाई पानीमा जान डराउँछ। तब पछाडि बसेका व्यक्तिहरूले ढुंगाले हान्दै लखेट्छन्।
गाई नदीको बेगसँगै बग्न थाल्छ। नदीमा डुब्दै गरेको गाई पटक–पटक किनारतर्फ फर्कन खोज्छ। तर, युवाहरूले निरन्तर ढुंगा बर्साइरहन्छन् । त्यो अवोध र निरीह प्राणी ढुंगाको चोट सहँदै नदीमा तैरिन खोज्छ।यो उच्छृंखल र अत्यासलाग्दो दृश्य कर्णाली नदीमा खिचिएको हो। स्थानीय पत्रकार धनबहादुर बीसीले भिडियो खिचेर शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। स्थानीय साउने सार्की नामक व्यक्ति मृत्यु भएपछि दाहसंस्कार लागि मलामी गएका व्यक्तिले यस्तो हर्कत गरेका थिए। परम्पराको नाममा बाजुरामा पहिलेदेखि नै यस्ता कृत्य हुँदै आएको बीसी बताउँछन्।‘गाउँमा कसैको मृत्यु भएपछि नदी कटाएर गौदान दिने गरिन्छ’ उनी भन्छन्, ‘यसरी गौदान गर्दा मृतकको आत्माले स्वर्गमा सजिलै वास पाउने तथा पापमुक्त हुने अन्धविश्वास छ।’यो प्रथा राम्रो होइन भनेर आवाज उठाएपनि गाउँलेहरूले टेरपुच्छर नलगाएको उनी बताउँछन्। ‘एउटा अवोध पशुलाई नदीमा डुबाउँदा पाप कटिदैन भनेर हामीले आवाज उठाइरहेका छौं’ उनी भन्छन्, ‘तर कसैले पनि यो कुरा सुन्ने र बुझ्ने प्रयास गरेका छैनन्। त्यसैले वर्षौदेखि यो कुप्रथा जारी छ।’
यसबारे हामीले जगनाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीसँग बुझ्दा उनले यस घटनाबारे जानकारी नभएको बताए । ‘यो घटनाबारे मलाई केही पनि थाहा छैन’ शाहीले भने, ‘यो परम्परा उहिलेदेखि चलेको हो । बीचमा रोकिएको थियो । अहिले फेरि सुरु भएछ, मलाई थाहै भएन ।’बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले भने यस किसिमको कृत्य रोक्ने प्रयास गरिरहेको जानकारी दिए । ‘यो कुप्रथा रोक्नका लागि हामी निरन्तर प्रयासमा छौं ‘ पाध्य भन्छन्, ‘यसो गर्न हुँदैन भनी जनचेतना फैलाउने काम व्यापक रुपमा भइरहेको छ ।’गौदानको नाममा जिउँदै गाईलाई नदीमा लखेटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।