बलात्कार प्रयास घटना छानबिनका लागि डिएसपी नेतृत्वमा टोली गठन


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
बलात्कार प्रयास घटना छानबिनका लागि डिएसपी नेतृत्वमा टोली गठन

धनगढी १ भाद्र । कैलालीमा बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको घटना साढे तीन लाखमा मिलाइएपछि घटना छानबिन समिति गठन गरिएको छ। आर्थिक चलखेलमा बलात्कार प्रयासको घटना सामसुम पारेको सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले छानबिन समिति गठन गरेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा छानबिन समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिए। छानबिन समितिमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक दानबहादुर रोकाया, प्रहरी हवल्दारद्वय छक्कबहादुर कार्की, चक्रबहादुर खड्का र प्रहरी जवान अर्जुनबहादुर खड्कालाई राखिएको प्रहरी निरीक्षक गुरुले बताए।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ फकलपुरमा प्रहरी र जनप्रतिनिधिको रोहबरमा साढे तीन लाखमा घटना मिलाइएको हो। फकलपुरका छुनुकलाल चौधरीले ११ वर्षीया बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको आरोप लागेको थियो। उक्त घटनालाई अस्थायी प्रहरी चौकी बड्याहा र वडा नम्बर ८ का जनप्रतिनिधिले साढे तीन लाखमा मिलाएका हुन्। वडा नम्बर ८ का वडा सदस्य राजेश चौधरीले छुनुकलाललाई साढे तीन लाख दण्ड गराएर मिलापत्र गरिएको स्वीकार गरेका छन्। साढे तीन लाखमा बलात्कार प्रयमसको घटना मिलाइएको बताइएको छ। घटना मिलाउन जनप्रतिनिधि र प्रहरीले साढे तीन लाख रकम तिराएको थियो। जसमध्ये डेढ लाख पीडित परिवारलाई दिइएको खुलेको छ।

यस्तै छुनुकलालको खोज तलास गर्ने क्रममा एक जनाको मोटरसाइकल दुर्घटना भएपछि मोटरसाइकल मर्मतका लागि एक लाख तिरेको र बाँकी एक लाख छुनुकलालको खोजी गर्दा गाउँलेले खाएको नास्ताको तिरेको खुलेको छ। स्थानीयले भने बलात्कार प्रयासको घटना साढे तीन लाखमा मिलापत्र गराइएको भन्दै विरोध जनाउदै आएका छन्। यता, अस्थायी प्रहरी पोष्ट बड्याहाका प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीले भने गाउँले नै मिलेर आएपछि मिलापत्र भएको बताए। ‘बलात्कार प्रयास भन्ने उल्लेख थिएन। बालिकामाथि हातपातको कुरा निवेदनमा उठाइएको थियो। गाउँले सबै मिलेर आएपछि मिलापत्र भएको हो,’ उनले भने।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap