काठमाडौँ —१७ साउन । गायक दुर्गेश थापा गीतकै कारण फेरि एकपटक विवादमा तानिएका छन् । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत सार्वजनिक गरेर होस् या ‘बीच्चबीच्च-३’ मा साडी लगाएर गीत गाउँदा विवादमा तानिएका थिए । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतले सामाजिक सहिष्णुता बिगारेको भन्दै प्रहरीले उनलाई पक्राउसमेत गरेको थियो । यसपालि भने तीज लक्षित गर्दै सार्वजनिक गरेको ‘बीच्चबीच्चमा-४’ ले उनी विवादमा तानिएका हुन् ।
६ दिनअगाडि युट्युबमा सार्वजनिक भएको ‘बीच्चबीच्चमा-४’मा प्रयोग गरिएको शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आपत्ति जनाएको छ । यसअघि गीतको प्रोमो सार्वजनिक हुँदा नै प्रतिष्ठानले दुर्गेशलाई पत्र काटेको थियो । संस्थाको विकृति/विसंगति न्यूनिकरण समितिले गीतमा प्रयोग भएको ‘ख्यास्स पुतली’ शब्दको फेरबदल गर्नसमेत पत्रमार्फत ध्यानाकर्षण गराएको थियो ।
तर दुर्गेशले पत्रको प्रवाह नगरी गीत सार्वजनिक गरेको संस्थाका अध्यक्ष रमेश बि.जी बताउँछन् । ‘उहाँले जुन शब्द प्रयोग गर्नुभएको छ गीतमा । तीज गीतका नाममा शब्द सोभायमान भएनन् भनेर उहाँले गीत सार्वजनिक गर्नुअगावै पत्र काटेका थियौं । तर उहाँले त्यसमा प्रवाह गर्नुभएन,’बिजीले भने,’तर उहाँले विकृति/विसंगति न्यूनिकरण समितिमा ‘आफ्नै सुरले चल्ने व्यक्ति हुँ’ भन्दै फर्कनुभएछ । हामीले उहाँलाई धेरै पटक सुधारिएर आउनुस् भन्यौं उहाँ मान्नु भएन ।’
गीतमा प्रयोग गरिएको ‘ख्यास्स’ शब्दले महिलाहरुमाथि व्यंग्य गरेको बिजी बताउँछन् । ‘गीतमा कतैबाट त्यो शब्द मिलेको छैन । त्यो विशुद्ध महिला दिदीबहिनीमाथि गरिएको व्यंग्य हो । त्यो त एक किसिमको ‘बल्ल खाइस’ भन्ने भावको छ । त्यही शब्दमा हाम्रो आपत्ति हो । त्यस किसिमको शब्दको चयन संस्थाको लागि मान्य भएन,’उनले भने,’भनेको नमान्ने यस्तो व्यक्तिलाई राज्यले नै केही गर्नुपर्ने हो । कहिले गाँजा, बियरका कुरा, रक्सीका कुराहरु मात्रै गीत/संगीत होइन । गीत संगीतको व्यवसाय गर्ने हेतुले सस्तो लोकप्रियताका लागि जे गर्नुभएको छ । अत्यन्तै खेदजक छ ।’