१० चैत, फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलअन्तर्गत आज नेपालले थाइल्याण्डविरुद्ध खेल्दैछ । खेल थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।
यता, थाइल्याण्ड भने समूह सी मा छ । जहाँ उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका एकै समूहमा छन् । फिफा वरीयता र तुलनात्मक रूपमा समेत बलियो देखिएको थाइल्याण्डविरुद्ध नेपाल किरण चेम्जोङको कप्तानीमा मैदान उत्रनेछ ।
हाल थाइल्याण्ड फिफा वरीयताको ११२ औं स्थानमा छ भने नेपाल १६७ औं स्थानमा छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रका खेलाडीलाई बाहिर राख्दै टिम बनाएका हुन् ।
मछिन्द्रले २२ चैतमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टारसँग दशरथ रंगशालामा खेल्ने तालिका रहेसँगै उसका आधा दर्जनभन्दा बढी खेलाडी थाइल्यान्ड भ्रमण बाहिर रहेका हुन् ।
स्ट्राइकर विमल घर्ती मगर, मनिष डाँगी, सुजल श्रेष्ठ, सुनिल बल, विशाल राई (बी), देवेन्द्र तामाङ, गोलरक्षक विशाल श्रेष्ठ, अभिषेक रिजाल, रेजिन धिमाललगायत खेलाडी मछिन्द्रसँग अनुबन्ध छन् ।
उनीहरूको अनुपस्थितिमा अब्दुल्लाहले युवा खेलाडी प्रशान्त अवस्थी, सुदिप गुरुङ, आकाश बुढा मगर, नवीन गुरुङ र गोलरक्षक टिकेन्द्र थापालाई मौका दिएका हुन् । नेपाली टिममा कप्तान किरण र रोहित चन्द भने क्रमशः माल्दिभ्स र इन्डोनेसियाबाट टिमसँग जोडिसकेका छन् । थाइल्याण्डपछि नेपालले त्यहाँको शीर्ष डिभिजनको चोनबुरी एफसीसँग १३ चैतमा खेल्नेछ ।