प्रविधिको प्रभावमा नयाँ पुस्ता


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
प्रविधिको प्रभावमा नयाँ पुस्ता

मिलन आचार्य

‘बच्चो रोयो, आमाले कुरकुरे दिइन्। केहीबेरपछि फेरि गन्गनायो, लेजले फकाइन्। सहयात्रीले त्यस्ता खानेकुरा नखुवाउने सल्लाह दियो, त्यत्तिकै उडाइदिइन्। बच्चो अरू कुरा खानै नमान्ने कुरा सगर्व सुनाइन्। खाना खाने ठाउँमा दुई गाँस भए पनि भात खुवाउन नखोजेकी होइनन्, तर उसले मान्दै मानेन। जुस नामधारी गुलियो झोल र अलिकति फुक्को चाउचाउ खायो अनि चिजबल चपाएर सन्तुष्ट देखियो।’ साहित्य एवं सञ्चारकर्मी केदार शर्माको लेखले तान्यो तर सोचें उहाँलाई संसार नै काँध हाँलेर हिड्नु छ। केही वर्ष बिते, क्यालेण्डर फेरिए। आकाशलाई पृथ्वीमा जोड्न हिँडेको ‘म’ ‘साइज’मा आएँ। अब लाग्दैछ, अग्रज शर्मा थोर बोल्नुभयो। विकृतिविरुद्ध हामी सबै नबोले को बोल्ने ?

संस्कार जसले हामीलाई बचाउँछ, समाज बाँच्छ र अन्ततः परिचयसँग जोडिन्छ। हामीले विकासमा फड्को मार्‍यौं तर यसले निम्त्याएका विकृतिमा आँखा चिम्लँदै छौं। विकास भएर गलत भएको हुँदै होइन, विकास अझ होस्। विकास भएका वस्तुको सही प्रयोग गर्न कति जरुरी छ ? भित्तामा ठूलो टिभी राख्यो, नानी भुल्याउन मद्दत पुग्छ। मोबाइल वा यस्तै केही ‘ग्याजेट’ भएपछि नानी फुल्याउने ‘आमा’ भइहाल्यो। कोठा उसको खेल्ने ठाउँ हो, संसार हो। ‘डाइपर’ लगाइदिएपछि कोठा फोहोर गर्ने सम्भावना पनि भएन। दिक्क लागेर कराउन थाल्यो वा रोयो भने लेज, चाउचाउ ख्वाए भइहाल्यो। बजारे दूध ‘निप्पल’मा हालेर कोच्याएपछि बच्चा चुप। नभए मिठो स्वादका बजारे झोल प्रसस्त पाइन्छन्। आमा किन चाहियो, बा किन चाहियो !

हाम्रो दैनिकी कमाउने र रमाउनेमा सीमित भयो। बच्चालाई छानीछानी बजारे ग्याजेटमा पल्काएर आफू समय निकाल्ने जुक्तिमा लाग्यौं। घरमा मोबाइल, ट्याव, आइपोर्ट, ल्यापटप र स्मार्ट टिभी भएपछि बच्चा रोजीरोजी चलाउन सक्ने भयो। ‘स्मार्ट ग्याजेट’लाई आमा बन(ाउने जुक्ति पनि ‘स्मार्ट’ नै हो ! नानीले धेरै मोबाइल चलाउँदा रोक्नुको सट्टा उसैलाई ‘टिकटक’ खिच्न लगाउँछौं। बाबुले धेरै जान्दछ भनेर फुक्र्याउँदै बच्चालाई ‘फोटोग्राफर’ र ‘भिडियोग्राफर’ बनाउने घरकै ठूलाबडा हुन्। फेसबुकका फेसबुके फोटा, भिडियो र गफबाट घरका साना पुस्ता छुट्ने कुरै भएन। बरु आमाले नै ‘युट्युब’ भिडियोबाट सिकेर राम्रो फोटो खिचिदेऊ न बाबू’ भन्छिन्।

बच्चा रोकियोस् पनि कसरी, रोक्नुपर्नेले आफैं मोबाइल चलाउँछ। नगर भन्नुपर्नेले आफैं फोटो खिच्न लगाउँछ। नहेर भन्नुपर्नेले आफैं भिडियो खोज्न लगाउँछ। नयाँ पुस्ता हो, छिटो हुन्छ उसको गति। युट्युब भिडियोबाट सुरु भएको बच्चा कतिबेला पोर्न भिडियोमा पुग्छ, कसैले अनुमान लगाउन सक्दैन। जब बच्चा ग्याजेटमा पैदल हुँदै उड्न थाल्छ, अनि समस्या सुरु हुन्छ। उसको गति हिन्दी सिनेमा ‘रोबट’मा देखाइएको ‘चिठ्ठी’को जत्तिकै हुन्छ। ‘डा. वसिकरण’ नै आए पनि रोक्न हम्मे हम्मे पर्छ। यतिबेला विश्वव्यापी कोरोना महामारी भोगिरहेका छौं। प्रायः स्कुले बच्चादेखि युवासम्म ग्याजेटको सहायतामा अनलाइन क्लास लिइरहेका छन्। रहर वा बाध्यता जे भने पनि अर्को विकल्प छैन। कति विद्यालयले जानेर, कतिले नजानेर र कतिले फेसन जसरी अनलाइन क्लास चलाउँदै छन्। लामो समय नानीहरू ‘जुम क्लास’ लिइरहेका छन्।

डाक्टरहरू सल्लाह  दिन्छन्, ‘हामीले बढीमा दुई घण्टा मोबाइल वा कम्प्युटरको स्क्रिन हेर्न मिल्छ।’ त्योभन्दा लामो समय नियमित मोबाइल चलाउनु हुँदैन। हामी त वीर गोर्खालीका सन्तान हौं, माने पो ! डा. सरोजप्रसाद विशाल भन्नुहुन्छ, ‘धेरै ग्याजेट चलाएपछि आँखा हुँदै मस्तिष्कसम्म समस्या आउँछ।’ ‘भर्चुअल’ दुनियाँ सुविधा हो तर यसैलाई दुनियाँ बनाउनु हुँदैन। शरीरमा हुने विभिन्न खाले ‘केमिकल रियाक्सन’ले ‘स्ट्रेस’ पैदा गर्छ। उनका अनुसार धेरै समय भर्चुअल दुनियाँमा रमाउने मान्छेलाई डिप्रेसनको सम्भावना धेरै हुन्छ। ‘भर्चुअल’ दुनियाँको धेरै प्रयोगले बच्चाको साइकोलोजीमा असर पर्छ। उसको स्वभावमा परिवर्तन आउन थाल्छ। निद्रा नलाग्ने, धेरै रिसाउने, छिट्टै आक्रोशित हुनेलगायत समस्या हुन्छ। मानिसलाई चाहिने शारीरिक कसरत त पुग्दैन नै, मानसिक कसरत पनि पुग्दैन। अन्ततः मानिस रोगी हुन्छ। ‘टेक्नोलोजी’ गज्जब हो, टेक्नोलोजीमा पहुँच पुग्नु झन् राम्रो कुरा हो’ विशाल थप्नुहुन्छ, ‘तर प्रयोगमा ‘मोनिटरिङ’ गर्न अत्यन्तै जरुरी छ।’ ग्याजेट चलाउने पूर्ण अधिकार बच्चालाई दिन्छौं, खैलौना दिएजसरी। छुटाउन मद्दत गर्नुपर्ने चलाउन उत्प्रेरणा दिन्छौं, गलत यहाँ पनि छौं। ‘भर्चुअल दुनियाँमा’ नानी राखेर, बच्चाका लागि दुःख गरेको भन्छौं। बजारबाट रोगका पोका किनेर ल्याएर खुवाउँछौं। तर तपाईंको सफलता हेर्न तपाईंको सन्तान रहेन भने ?

समाचार देखें, मोबाइल फोनले एक्लिँदै बालबच्चा शीर्षकमा। सामान्यतः बच्चाको दैनिकी मोबाइलको स्क्रिनबाट सुरु र अन्त्य हुन्छ। उसले त्यसमा के हेर्छ, परिवारलाई पत्तो हुन्न। बच्चा यति जिद्धि छ कि मोबाइल पाएन भने केही गर्दैन, खाना पनि खाँदैन। रिसाउँछ। परिवारलाई तनाव खेप्नुभन्दा मोबाइल दिन सजिलो छ। गज्जबको बहाना छँदैछ, अनलाइन क्लास। अबका दिनमा बच्चाको भविष्य कस्तो होला ? बालरोग विशेषज्ञ डाक्टर मिना शाक्यको लेखमा मोबाइल प्रयोगको दीर्घकालिन असर भयावह हुनसक्ने संकेत गर्नुभएको थियो। यसले जीवनशैली परिवर्तन गर्छ तर नकारात्मक। प्रविधिको उच्चतम प्रयोग गर्नेको सन्दर्भ एकातिर होला तर उच्चतम दुरुपयोग हुनसक्ने र दीर्घकालीन असर पर्न सक्ने सम्भावनामा थोरैको ध्यान होला।

शान र स्वभिमानका लागि महँगो दाममा किनिएका ग्याजेटले समाजमा महँगो रोग भित्रँदै छ। अहिले घर–परिवार, साथी–संगी, आफन्त र खेलकुदबाट एक्लिएका बालबच्चा भोलि डिप्रेसनसम्मको शिकार हुँदैनन् भन्ने केही ग्यारेन्टी छैन। बेवास्ताले सन्ततिको भविष्य बि(ग्रियो भने ? आचरण सुधार्न सकियो भने बच्चाको भविष्य सुधार्न सकिन्छ।  साभार ‍अन्नपूर्णपाेष्ट

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap