आश्विन १३, प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् । चीनको औपचारिक भ्रमणका क्रममा रहेका प्रधानमन्त्री दाहाल शनिबार बिहान स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री दाहाल शनिबार बिहान छेन्दुबाट नेपाल फर्किएका हुन् ।
शनिबार बिहान प्रधानमन्त्री दाहाललाई छेन्दुमा सिचुवान प्रान्तका उपगभर्नर याङ चिनफिङ, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, बेइजिङ र सिचुवानका विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुले छेन्दु विमानस्थलमा बिदाई गरेका थिए ।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी भई न्युयोर्कबाटै चीनको ८ दिने औपचारिक भ्रमणमा गएका हुन् । १९औं एसियाली खेलकुद्को उद्घाटन समारोहमा भाग लिन न्युयोर्कबाट चीनको हाङचउ पुगेका थिए । प्रधानमन्त्री दाहालले हाङचउमै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए ।
त्यस्तै बेइजिङमा चिनियाँ समकक्षी ली छ्याङसँग एक्लाएक्लै र द्विपक्षीय भेटवार्ता भएको थियो । त्यस्तै प्रधानमन्त्री दाहाल बेइजिङमा विभिन्न कार्यक्रममा समेत सहभागी भए । प्रधानमन्त्री दाहाल छोङछिङ र मानसरोवर हुँदै छेन्दु आइपुगेका हुन् ।