धनगढी- भदौ ३१,सुदूरपश्चिम प्रदेश सभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको छ । आज बसेको प्रदेश सभाको बैठक प्रतिपक्षी दल माओवादी केन्द्र र एकीकृत समाजवादीको अवरोधपछि स्थगित भएको हो ।
प्रदेशसभाको बैठक सुरु भएपछि माओवादी केन्द्रका दलका उपनेता अक्कल रावलले आफ्ना भनाइ राखेका थिए । उनले आजको बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको बताउँदै बजेट असंवैधानिक बाटो ल्याउन खोजिएको बताए ।
उनले भने ‘प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । अघिल्लो सरकारले निर्धारित समयमै बजेट ल्याएको थियो । पास गर्न दिइएन् । अहिले २ महिनापछि बजेट ल्याउन खोजिदैछ ।
यो असंवैधानिक छ । यसलाई स्विकार्न सकिदैन् ।’ उनले अहिलेको सरकारले संविधानका धारा उपधारा मिचेर बजेट ल्याउन खोजेको बताए ।
उनले बोलिसकेपछि माओवादी र एकीकृत समाजवादीका सांसदले बैठक अगाडि चल्न नदिएपछि सभामुख भीमबहादुर भण्डारीले बैठक २० मिनेटका लागि स्थगित गरेका थिए । यसअघि तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट पास हुन सकेन् । अहिले प्रदेश बजेट सुन्यताको अवस्थामा छ ।