प्रतिपक्षी दार्चुलाको घटना र खोपको विषयलाई लिएर सरकारमाथि खनिए


लेखक : सुन्दराञ्चल      साउन २०, २०७८ मा प्रकाशित     
प्रतिपक्षी दार्चुलाको घटना र खोपको विषयलाई लिएर सरकारमाथि खनिए

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले दार्चुलाको घटना र खोपको विषयलाई लिएर सरकारमाथि खनिएका छन् ।
प्रतिनिधि सभाको शुन्य समयमा बोलेका प्रमुख प्रतिपक्षका सांसदहरूले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाएका छन् । भारत सरकारकाविरुद्ध बोल्न नसकेको, कम्र्फटेवल भएको भन्दै निन्दा गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि आफू बसेको स्थानबाट उठेर सरकारको ध्यानाकर्षण गराएका नेकपा एमालेका सांसदहरूले शून्य समयको भरपुर उपयोग गरेका छन् । सरकारले छानविन समितिको निष्कर्ष आउनुअघि धारणा सार्वजनिक उचित नहुने बताइरहेका बेला सरकारले भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण लिनुपर्ने आवाज उठेको छ । त्यसैगरी सत्तारुढ दलका सांसदहरूले पनि समसामयिक विषयमा आफ्नो धारणा राखेका छन् ।
सांसद विमला नेपालीले ३ वर्ष अगाडी नै प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन विस्थापित गर्ने घोषणा गरेको भएपनि हालसम्म विस्थापित हुन नसकेको भन्दै नेताहरूले सक्ने काम बारे मात्रै बोल्न सुझाए । उनले नेताले जनतालाई झुक्याउनुनहुनेमा सचेत गराए । उनले भन्नुभयो – ‘केपी शर्मा ओलीले पहिलो निर्णय नै एक वर्षभित्रमा देशैभरीका तुइन विस्थापित गर्छु भन्ने प्रतिवद्धता गर्नुभएको कुरा आज सम्झना आयो । उहाँ ३ वर्ष प्रधानमन्त्री हुनुभयो तर काम भएन । आज हामीले यो दुखद घटना सम्झनुपर्दा उहाँको बोलीको ठेगान थिएन भन्नेकुरा प्रमाणित भएको छ । तसर्थ हामी नेतृत्वमा बस्ने व्यक्तिहरूले सक्ने काम मात्रै गरौँ । नसक्ने काम नबोलौँ । र जनतालाई नझुक्काउ भन्नेकुरा राख्न चाहान्छु ।’
सांसद भरतकुमार साहले राज्य व्यवस्था समितिबाट पास भएर संसदमा आएको नागरिकता सम्बन्धी विधेयकलाई संसदबाट छिट्टै पास गराउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उनले सवारी साधनको लाइसेन्स परीक्षा नखुलेको भन्दै त्यसलाई पनि खुलाउनुपर्नेमा जोड दिए । उनले भने, ‘राज्य व्यवस्था समितिले नागरिकता सम्बन्धी विधेयक यस संसदमा पेश गरिसकेको छ । जन्मसिद्धका छोराहरूको नागरिकता नभएर धेरै समस्या छ । इन्जीनियर पास। बिए पास, एमए पास छन् । घुमिरहेका छन् । नोकरी पाएका छैनन् । बेरोजगार छन् । बिदेश जाने पासपोर्ट पनि बनाउन सकेका छैनन् । त्यसकारण म सरकारसँग माग गर्न चाहन्छु, त्यो विधेयकलाई संसदमा छलफल गरेर चाँडै टुंग्याइयोस् । पास गरियोस् भन्ने कुराहरू म निवेदन गर्न चाहन्छु । अर्को कुरा गाडी, मोटरसाइकलहरूको लाइसेन्सको धेरै दिनबाट खुलेको छैन । यसलाई चाँडै खुलाइयोस् ।’
सांसद भिमसेन दास प्रधानले विदेश जाने श्रमिकहरू खोप लगाएको प्रमाणित गर्न भीडभाड गर्दै लाइनमा बस्नुपरेको भन्दै त्यसलाई सहज बनाउन सरकार समक्ष माग गर्नुभयो । उनले भने, ‘श्रमिकहरू बीचमा ३÷४ बजेदेखि लाइनमा बस्नुपर्ने, तर १२ बजेपछि टोकन छैन भनेर फर्काइदिने । अस्तव्यस्त छ । गाउँबाट आएका धेरै युवाहरू फ्रस्टेशन छन् । डिजिटल डिस्प्ले राखोस् । टोकन दिओस् । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद भूमिप्रसाद त्रिपाठीले दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरे । वर्तमान सरकार भारतीय दादागिरीका सामु निरिह भएको उनको टिप्पणी छ । उनले भने, ‘सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु । वर्तमान सरकार भारतीय दादागिरिका सामु निरिह साबित भएको छ । यो सरकार नेपाली नागरिकका लागि होइन । अरु कसैको लागि कम्र्फटेवल भएको चर्चा सर्वत्र सुन्न पाइन्छ । हेक्का रहोस् गोरु सधैँ व्याउँदैन । लोकतन्त्रमा जनता नै भगवान हुन् ।’
सांसद मनकुमारी जिसीले केही महिनाअघि दुई राउटे युवतीलाई अमानविय व्यवहार गरिएको र उनीहरूको जीवन नै जोखिममा रहेको प्रचार प्रसार भइरहेको भन्दै उनीहरूको हालको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरे । उनले भने, ‘सम्झना र गाजलु दुई निर्दोष चेलीहरू माथि अमानविय व्यवहार गरियो । सामाजिक सञ्जालमा एकदम भाइरल गराइयो । तिनीहरूलाई न्यायको कठघरामा ल्याए पनि फेरि उनीहरूलाई मृत्युदण्ड दिँदैछन् भन्ने प्रचार प्रसार गरियो । उनीहरूको न्याय होस् र उनीहरूलाई सार्वजनिक गर्दै अझ के कस्तो भइरहेको छ यो बाहिर आओस् यो माग गर्न चाहन्छु ।’
सांसद महेश बस्नेतले कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाए । त्यस्तै सरकारले खोपको दुरुपयोग गरेको प्रतिकवितात्मक शैलीमा खरो टिप्पणी गनुभयो । उनले वर्तमान सरकार चल्ने जस्तो नदेखिएको पनि बताए । उनले भने, ‘एसएसबीले तुइन काटे, जयसिंह धामी महाकालीमा डुबे । सरकार भन्छ मौन बस, समाचार नबनाउ । प्रधानमन्त्री भन्नुहुन्छ खोप, खोप, खोप । कांग्रेसको मेयरको घरमा खोप । उपसभापतिको घरमा खोप । होटलमा सत्ता पक्षको कार्यकर्तालाई खोपै खोप, जनता दिनभरी लाइनमा खोप न सोप । बिचरा सरकार व्यापारी मन्त्री बनाउँछ । दक्ष सचिव फेर्छ । बिर हस्पिटलको एमडी फेर्छ । स्वास्थ्य माफियालाई संरक्षण गर्छ । देशभर बाढी पीडित जनता राहत पाइनँ भनेर कराउँदछन् । कांग्रेसका विपक्षीहरू मन्त्री नपाए सरकारमा जान्न भन्दैछन् । कांग्रेसका वडा अध्यक्षहरू नगरपालिकाको कार्यालय फोड्दै छन् ।
माओवादी, जसपा भन्दैछ मन्त्री संख्या नबढाए सांसदले आत्महत्या गर्ने भए । दिमागमा आतंक ल्याए, भूकम्प ल्याए । परमादेशबाट बनेको सरकार तिन हप्ता भएछ मन्त्रीमण्डल गठन भएन, न्यूनतम साझा कार्यक्रम आएन । प्रधानमन्त्री अब बेरोजगार भएका त्रिपाठीहरूलाई अदालत पठाउनुस् । फलानो पार्टीका फलानो मन्त्रीलाई मन्त्री बनाइँपाउँ भनेर परमादेश जारी गराउनुस् । नत्र जनादेश विनको सरकार चल्ला जस्तो देखिएन । अब जनता भन्दैछन्, केपी बा आइ लभ यू ।’
सांसद महेश्वरजंग गहतराज अथक ले दार्चुला घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न कुटनीतिक र राजनीतिक तहबाट छलफल अगाडि बढाउनुपर्ने बताए । उनले भने, ‘यसको बारेमा सरकारले छिटोभन्दा छिटो सत्यतथ्य छानबिन गरेर यसलाई सार्वजनिक गर्नुपर्छ । र भारत सरकारसँग कूटनीतिक र राजनीतिक तहमा समेत छलफल गरेर यस घटनाको बारेमा गम्भीर ढंगले हामीले पहल कदमी गर्नुपर्छ ।’
सांसद मीनबहादुर विश्वकर्माले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसको छानबिन गर्न माग गरे । त्यहाँ आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीहरूको मागलाई सम्बोधन गरिनुपर्ने उनले बताए । उनले भने, ‘त्यहाँका पदाधिकारी,भिसी र उच्च तहका कर्मचारीहरूको लापरबाही, निजी तथा व्यक्तिगत स्वार्थका कारण माफिया र डनहरूको संलग्नतामा भएको अनियमितता र भ्रष्टाचारले आज विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आफैं सिकिस्त भएको छ । यसको सुधारको लागि चिकित्सक, कर्मचारी र विद्यार्थीहरू डेढ महिनादेखि आन्दोलनरत छन् । आन्दोलनलाई सम्बोधन गर्न र समस्या समाधान गर्न गठित उच्च स्तरीय छानविन समितिले बुझाएको प्रतिवेदनलाई सार्वजनिक गरी कार्यान्वयन गर्न र स्वच्छ छविका प्रतिष्ठित चिकित्सकलाई भिसीलगायत पदाधिकारीमा नियुक्त गरी व्यापक फेरबदल गर्न र प्रतिष्ठानलाई अपेक्षित सुधार ल्याउनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’
सांसद मेटमणि चौधरीले अब प्रतिनिधि सभा पुरा अवधि चल्नुपर्ने बताउनुभयो । संविधानको पालना गरी सोहीअनुरुप सरकार सञ्चालन गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सत्तामा बस्नेहरूलाई घमण्ड नदेखाउन पनि उनले सचेत गराए । उनले भने, ‘बाँकी अवधिभरी जनप्रतिनिधिहरूको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन नहोस्, संविधानको धारा, उपधारामा उल्लेख भएबमोजिम नै नेपाल सरकार अगाडि बढोस् । संविधानको पालना गर्ने क्रममा ध्यान पुगोस् । शक्ति र सत्तामा छु भन्दैमा सरकारको नेतृत्व गर्ने व्यक्तिहरूमा घमण्ड नहोस् ।’
सांसद योगेश भट्टराईले कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई समयको छुट नभएको बताए । स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीले घोषणा गरे अनुरुप खोप उपलब्धता हुनेमा शंका व्यक्त गर्दै उनले प्रतिबद्धता अनुरुप काम गर्ने समय सुरु भएको सुझाउनुभयो । उहाँले भन्नुभयो – ‘असोज महिनाभित्र सबै खोप लगाउछु भन्ने स्वास्थ्यमन्त्रीको घोषणा, खोप, खोप, खोप भन्ने प्रधानमन्त्रीको घोषणा लागू हुने देखिँदैन । सम्माननीय प्रधानमन्त्रीजी कोरोनाको रोकथाम र नियन्त्रणको निम्ति तपाईलाई समयको छुट छैन । शंकाको लाभ छैन । र, तपाईंको समय अब सुरु भएको छ । हेक्का रहोस् ।’
सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले विगतको सरकारले गरेको जनविरोधी कामहरूलाई खारेजी गर्नुपर्ने बताउनुभयो । उनले भने, ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र लोकतन्त्रलाई सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले गरेका जनविरोधी कामहरूलाई खारेज गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ । यसको एउटा राम्रो उदाहरण हो, झापाको गिरिबन्धु टि स्टेट गार्डेनको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्ने अघिल्लो सरकारको क्याबिनेटको निर्णयलाई तत्काल खारेज गर्नुपर्छ भनेर झापाबाट एउटा प्रतिनिधि मण्डलपनि आएको छ । यसतर्फ सरकारको म ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद झाँक्रीले वर्तमान सरकारको संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिडाउने दायित्व रहेको पनि बताएइन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap