प्रतिनिधिसभा बैठक आज बस्दैछ


लेखक : सुन्दराञ्चल      साउन ८, २०७९ मा प्रकाशित     
प्रतिनिधिसभा बैठक आज बस्दैछ

८ साउन, प्रतिनिधिसभा बैठक आज बस्दैछ । आजको बैठकमा कारागार विधेयक २०७८ पारित गर्ने सम्भावित कार्यसूची छ । २९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले २०७८ वैशाखमा पारित गरेको थियो ।

पारित विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार रहनेलगायत विषय समेटिएका छन् । विधेयकको दफा ४२ अनुसार कैद अवधिको दुई तिहाई अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कैदीलाई कारागार प्रशासकले खुला कारागारमा राख्न सिफारिस गर्न सक्नेछ ।

खुला कारागारमा रहेका कैदीलाई नेपाल सरकार, प्रदेश सरकार मातहत सञ्चालित विकास आयोजना वा कार्यक्रममा काम गर्न लगाउन सकिने, स्वयंसेवकको रूपमा काम लगाउन सकिनेलगायतका प्रावधान समेटिएका छन् । काम लगाउँदा कैदीबन्दीलाई नेपाल सरकारले तोकेको न्यूनतम तलब दिनुपर्नेलगायत व्यवस्था समेटिएको छ ।

त्यस्तै, कारागार प्रशासकले गर्भवती वा सुत्केरी बन्दीलाई बसोबास, खानपान र स्वास्थ्य परीक्षणको सम्बन्धमा विशेष व्यवस्था राखिएको छ । उपचारका लागि गर्भवती बन्दी कारागार बाहिर बस्न चाहे सुत्केरी भएको ६० दिन पूरा भएको भोलिपल्ट कारागार फर्किन पाउने गरी कारागार प्रशासनले अनुमति दिनुपर्ने प्रस्ताव पनि विधेयकमा छ ।

यो विधेयकले कैदीबन्दीलाई बिहे र प्रजनन अधिकार दिने प्रावधानलाई पनि समावेश गरिएको छ । आज दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस गर्ने र मदन भण्डारी विश्वविद्यालय विधेयक २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap