काठमाडौं, ३० भाद्र । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावबाट माओवादी केन्द्रलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।
दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७औं स्मृति दिवसका अवसरमा मुख्यालय पेरिसडाँडामामा आज आयोजित आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
माओवादी केन्द्र पहिलो पार्टी हुन्छ भनेर कसैले नपत्याएकोमा प्रचण्डले गुनासोसमेत गरे ।
‘शान्ति प्रक्रियामा आएपछि ६४ सालको निर्वाचनमा पहिलो पार्टी हुन्छ भनेर कसैले पत्याएका थिएनन् । हामीलाई विपक्षीहरुले बन्दुक देखाएर दुई-चार सिट ल्याउँछ भन्थे’, उनले भने ।
पहिलो संविधानसभामा माओवादीको पक्षमा आएको जनलहर पुनः ल्याउन पुनर्गठन र रुपान्तरणको अभियान सुरु गरेको प्रचण्डको भनाइ छ ।
चुनावमा पहिलो पार्टी बनाउनका लागि नेता–कार्यकर्ताहरूले अब आफैंले आफैंलाई गाली गर्नुपर्ने अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।
‘पार्टी पुनःनिर्माणको महान अभियानमा लागेकाले अब अरुलाई गाली गर्न छाडेर आफैंलाई गाली गर्नुपर्ने अबस्था आएको छ’, उनले भने ।