,पुष ७ गते, कावासोती । पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दै आएका छन् ।
नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रध्यानाध्यापक भोजराज दाहालले बताए । ‘विगतमा पनि जुम्ल्याहा विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका थिए, एकैपल्ट यति धेरै जुम्ल्याहा विद्यार्थी पढ्न आएका यसपटक नै हो, यो आफैंमा दुर्लभ संयोग हो,’ दाहालले भने, ‘एउटै शैक्षिक सत्रमा १३ जोडी जुम्ल्याहा विद्यार्थी हामीसँग हुँदा गर्व लागेको छ ।’
जुम्ल्याहा विद्यार्थी अध्यापन गराउँदै आएका शिक्षकसँग पनि फरक खालको अनुभव छ । जुम्ल्याहा विद्यार्थी एउटै कक्षामा रहेकाले उनीहरुमा सहकार्य प्रतिस्पर्धाको भावना रहेको विद्यालयका सामाजिक शिक्षक ईश्वर पौडेल बताउँछन् । विद्यार्थीलाई अध्यापन गराउने क्रममा शिक्षक अनुहारमा एकरुपता भएकाले कहिलेकाहीं झुक्किने गरे पनि जुम्ल्याहा जोडीसँग व्यवहार गर्न सजिलो हुने पौडेल बताउँछन् । तेह्र जोडी जुम्ल्याहा विद्यार्थी अरु विद्यार्थीजस्तै पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल रहने गरेका उनले बताए ।
उनीहरु जस्तै विद्यालयकै कक्षा ८ मा पढ्ने रीतिका सापकोटा र रिया सापकोटा दिदी–बहिनी हुन् । दिदी–बहिनी त्यसैमाथि एउटै कक्षामा अध्ययन गर्ने भएकाले कहिलेकाहीँ साथीहरु र शिक्षक शिक्षिकासमेत झुक्किने गरेको अनुभव उनीहरुसँग छ ।
जुम्ल्याहा सन्तान जन्मिँदा सुरुका केही वर्ष हुर्काउन बढाउन सम्स्या भएको भए पनि दुवै सन्तानले सँगसँगै प्रगति गरेको देख्दा भने फरक खालको खुसी महसुस हुने गरेको कावासोती–२ का जुम्ल्याहा सन्तानका पिता ऋषिकान्त सापकोटा बताउँछन् । जुम्ल्याहा सन्तानलाई आमाको दूध, पोषणलगायतका कुराहरु आवश्यक मात्रमा पुर्याएर सुरु–सुरुमा हुर्काउन गाह्रो भए पनि हुर्किदै गएपछि धेरै कुराहरु मेल खाने भएकाले उनीहरुलाई बुझ्न झनै सजिलो हुने सापकोटा बताउँछन् । ‘सँगै पढ्ने, सँगै खेल्ने, एकअर्काको भावना अरु बच्चाहरुले भन्दा छिट्टै बुझ्ने भएकाले पनि रमाइलो लाग्छ’, उनले भने ।
वि.सं. २०४६ मा स्थापना भएको उक्त विद्यालयले आफ्नो ३३औं वार्षिकोत्सवमा मंगलबार जुम्ल्याहा सन्तान र उनीहरुका अभिभावकलाई सम्मान गरेको छ ।