पुलको काम दशकदेखि अलपत्र, डुङ्गामा जोखिम मोलेर नदी तर्दै स्थानीय


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
पुलको काम दशकदेखि अलपत्र, डुङ्गामा जोखिम मोलेर नदी तर्दै स्थानीय

धनगढी,२६ साउन । कान्द्रा नदीमा पुल नहुँदा भजनी नगरपालिकाका बासिन्दा जोखिम मोलेर डुङ्गाबाट नदी तर्ने गरेका छन् । वर्खायाममा बाढीले उर्लने कान्द्रा नदी वारीपारी दुवैतिर बस्ती छन् । कामविशेषले वारीपारी गर्नुपर्ने स्थानीयलाई नदी तर्न डुङ्गाको भर पर्नुको विकल्प छैन ।कान्द्रा पारी पर्ने वडा नम्बर ५ र ७ लाई अन्य वडासँग जोड्न नदीमा पुल छैन ।

त्यसैले जोखिम मोलेर डुङ्गाबाट नदी वारपार गर्नुपर्छ । त्यहाँ निर्माणाधीन पुल दशकदेखि अलपत्र छ । नदी पारीको बस्तीका बासिन्दालाई पुल नहुँदा बढी समस्या छ । भजनी बजार, नगरपालिका कार्यालय, स्वास्थ्य चौकी र कामविशेषले नगरका अन्य बस्तीमा जान उनीहरुले नदी तर्दा जोखिम मोल्नु पर्छ ।

बर्खायाममा दैनिक सयौँ सर्वसाधारणले डुङ्गाको जोखिमपूर्ण यात्रा गर्ने गरेका भजनी–५, लालबोझीका स्थानीय जोखनलाल चौधरीले बताए । ‘किनमेल गर्न भजनी बजार नपुगि हुँदैन । बिरामी हुँदा स्वास्थ्य चौकी जानै प¥यो ।’ चौधरीले भने, ‘बजार, अस्पताल सबै पारी छन् । नगरपालिका कार्यालय पनि उतै छ । कतिपयका खेतबारी उतै छन् । जोखिम भएर के गर्नु नदी वारपार गरिरहनु पर्छ ।’

वर्षाले नदीमा अत्यधिक बाढी आएको दिन डुङ्गा नचल्ने भएकाले आवतजावतनै बन्द हुने गर्छ । त्यस्तो बेला बिरामी र अत्यावश्यक काम परेकाहरु मारमा पर्ने गर्छन् । नदीमा बढी बाढी आएको दिन वारीपारि थुनिएर बस्नुपर्ने बाध्यता रहेको स्थानीय कहरसिंह कडायतले बताए । बाढीले डुङ्गा नचल्दा कहिलेकाँही बिरामी, सुत्केरीलाई अस्पताल लैजान पनि समस्या हुने गरेको उनले बताए ।

‘धेरै बाढी आउँदा थुनिएर बस्नुपर्छ, पारी जान सकिदैन ।’ कडायतले भने, ‘त्यस्तो बेला बिरामीलाई पनि अस्पताल लैजान पाउँदैनौँ ।’ डुङ्गाबाट दैनिक नदी तरेर विद्यार्थीले विद्यालय र क्याम्पस आउजाउ गर्छन् । बाढी आएको दिन उनीहरु विद्यालय जान पाउँदैनन् । डुङ्गामा डरैडरले नदी तर्ने गरेको स्थानीय बताउँछन्।

डुङ्गा पल्टन सक्ने भएकाले नदी तर्दा जहिल्यै जोखिम मोल्नु परेको अर्का स्थानीय चम्पालाल डगौराले बताए। बालबालिका, महिला र वृद्धवृद्धालाई डुङ्गाको यात्रा अझ बढी जोखिमपूर्ण हुने गरेको उनले बताए ।बर्खायामका तीन महिना नदी तर्न जोखिम र सास्ती हुने गरेको भजनी– ५ का वडाध्यक्ष केशवबहादुर बुढाले बताए । दैनिक ओहोरदोहोर गरिरहनु पर्ने भएकाले विद्यार्थी बढी जोखिममा रहेका बताए ।

विद्यालयका गएका बालबालिका बेलुकी घर नपुग्दासम्म अभिभावक चिन्तित हुने गरेका उनले बताए । ‘डुङ्गाको यात्रा जोखिमपूर्णनै हो । कतिबेला के पो हुन्छ भन्ने डरैडरले तर्नुपर्छ ।’ बुढाले भने । पुल नहुँदा नदी पारीका दुई वडाका करिब दुई हजार दुई सय घरधुरीलाई सबैभन्दा बढी समस्या रहेको उनले
बताए ।

डुङ्गाको सहारामा नदी तर्दाको जोखिम त छँदैछ, नदी तर्दा पैसा तिर्नुपर्ने बाध्यता पनि छ । लालबोझीको दुई ठाउँमा डुङ्गा चल्छ । एक ठाउँमा नदी तारेको पैसा उठाउन नगरपालिकाले ठेक्का लगाएको छ । अर्को ठाउँमा स्थानीयले डुङ्गा चलाउने गर्छन् ।डुङ्गामा एक पटक नदी तरेको दश रुपैयाँ र मोटरसाइकलसहित भए ३० रुपैयाँ शुल्क तोकिएको छ । ठेकेदारले अझ बढी शुल्क लिने गरेका स्थानीयले बताएका छन् । बर्खा सकिएपछि भने नदीमा पानीको सतह घट्ने भएकाले ठेकेदारले सानो काठको पुल राख्छन् । काठेपुलबाट नदी तरेको पनि ठेकेदारले पैसा असुल्छन् ।

सय मिटर पुल दश वर्षसम्म बनेन
स्थानीयले जोखिम मोलेर नदी वारपार गरिरहँदा कान्द्रा नदीमा पुल निर्माणको काम भने दशकदेखि अलपत्र छ । हुलाकी राजमार्गअन्तर्गत भजनी–५, लालबोझी र वडा नम्बर ३ ठेकी जोड्न कान्द्रामा पुल निर्माणका लागि ३१ जेठ २०६८ मै सम्झौता भएको थियो । तेस्रो पटक थपिएको अवधि सकिदा निर्माण कम्पनी लामा–शाल्पा–शेर्पा–विरुवा जेभी पुलका चार वटा स्पानमध्ये दुई वटाको काममात्र सकेको छ ।

एक सय मिटर लामो र ७.२ मिटर चौडा रहेको यो पुलको लागत चार करोड ४३ लाख रुपैयाँ हो । पुल बन्न सुरु हुँदा नदी पार गर्दा भोग्नु पर्ने दुखका दिन जाने भए भनेर खुशी भएका स्थानीय निर्माणमा भएको ढिलासुस्तीले निराश र आक्रोशित छन् । ठेकेदारले दशकसम्म काम अलपत्र पार्दा सम्बन्धित निकायले समेत पुल निर्माणमा चाँसो नदेखाएकोमा उनीहरुको आक्रोश छ ।

वडाध्यक्ष बुढाले पुल निर्माण भए नदी पारी दुई वडा दर्जनौँ बस्तीका बासिन्दालाई राहत पुग्ने बताए । पुल बनेमा स्थानीयबाहेक राजमार्गमा हिँड्ने सयौँले राहत पाउने उनले बताए । ‘बर्खाका तीन महिना नदी तर्न स्थानीयले निकै जोखिम मोल्नुपर्छ । पुल बनेको भए यो बाध्यता हट्ने थियो ।’ बुढाले भने, ‘सय मिटर लामो पुल १० वर्षसम्म बनेन, अझै कहिले बन्ने हो एकीन छैन ।’ कान्द्रा नदीमा पुल नभएकै कारण धनगढी–टीकापुर–नेपालगञ्जसम्म हुलाकी राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap