पालिका अधिवेशन : सुदूरपश्चिममा बाजुराबाहेकका जिल्लामा देउवा पक्ष हावी


लेखक : सुन्दराञ्चल      अशोज १२, २०७८ मा प्रकाशित     
पालिका अधिवेशन : सुदूरपश्चिममा बाजुराबाहेकका जिल्लामा देउवा पक्ष हावी

१२ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका ७५ स्थानीय तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न भएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा समेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बहिष्कारकाबीच पालिकास्तरको अधिवेशन सम्पन्न भएको छ ।

धेरै ठाउँमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने निर्वाचन भएको अधिकांश स्थानमा देउवा पक्ष नै बलियो देखिएको छ । तर बाजुरामा सिटौला-पौडेल पक्ष मिल्दा देउवालाई क्षति पुगेको छ । ८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिममा कैलालीमा (१३ पालिका) भने पालिकास्तरको अधिवेशन हुन बाँकी छ ।

१. कञ्चनपुर

९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा ६ पालिकामा निर्वाचन र ३ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । जसमध्ये ६ स्थानीय तहमा पार्टी सभापति शेरबहादुर देउवा र ३ स्थानीय तहमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् ।

बेलौरी नगरपालिकामा पौडेल पक्षका पेपुराम चौधरी, पुनर्वास नगरपालिकामा सुकबहादुर तामाङ र लालझाडी गाउँपालिकामा श्रीकृष्ण राना विजयी भएका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यी स्थानीय तहमा देउवा पक्षका नेता एनपी साउद र पौडेल पक्षका दिवानसिंह विष्ट प्यानल बनाएर लडेकाले पुनर्वासका सभापति तामाङ नेता साउद निकट भएको चर्चा पनि चलेको छ । तर पौडेल पक्षधरले उनी आफू निकट भएको दाबी गरेका छन् ।

यी बाहेक जिल्लाको सबभन्दा पुरानो नगरपालिका भीमदत्तमा देउवा पक्षका अच्युतराज कलौनी, वेदकोट नगरपालिकामा तुलाराम साहु, कृष्णपुर नगरपालिकामा विष्णु खड्का, शुक्लाफाँटा नगरपालिकामा दानबहादुर ऐर, दोधाराचाँदनी नगरपालिकामा राजेन्द्र मल्ल र बेल्डाँडी गाउँपालिकामा गजबहादुर विष्ट सभापति बनेका छन् ।

कञ्चनपुरमा देउवा पक्षभित्र पनि नेता साउद र रमेश लेखकबीच आन्तरिक प्रतिस्पर्धा भएको थियो । तीन/तीन स्थानीय तहमा उनीहरु निकट उम्मेदवार विजयी भएका छन् । तर साउद पक्षले पुनर्वास समेत गरेर ४ मा आफूले जितेको दाबी गरिरहेको छ ।

२. बझाङ

कैलालीपछि सबैभन्दा धेरै स्थानीय तह रहेको बझाङमा देउवा पक्षका अधिकांश उम्मेदवार विजयी भएका छन् । १२ स्थानीय तहमध्ये ६ वटामा निर्विरोध र ६ वटामा निर्वाचन भएको थियो । केदारस्युँ गाउँपालिकामा शिवराज भण्डारी र दुर्गाथली गाउँपालिकामा युवराज भण्डारीबाहेक अरु सबै पालिकामा देउवा पक्षकै सभापति विजयी भएको नेपाली कांग्रेसका जिल्ला सभापति हर्कजंग सिंहले बताए ।

देउवा पक्षबाट वित्थडचिर गाउँपालिकामा चक्रबहादुर अधिकारी, बुङ्गल नगरपालिकामा नरेश थापा, सुर्मा गाउँपालिकामा अतित बोहरा, खप्तड छान्ना गाउँपालिकामा विष्णुभक्त जोशी, तल्कोट गाउँपालिकामा लोकेन्द्रबहादुर सिंह र मष्टा गाउँपालिकामा उत्तम जोशी विजयी भएका छन् ।

उनीहरु सबैजना सर्वसम्मत निर्वाचित भएका हुन् । यस्तै थलारा गाउँपालिकाका दिलबहादुर सिंह, छविस पाथीभेरा गाउँपालिकामा पाण्डव थापा, जयपृथ्वी नगरपालिकामा हिरेन्द्र छत्याल र साइपाल गाउँपालिकामा रामबहादुर बोहरा मतदान प्रक्रिया मार्फत निर्वाचित भएका हुन् ।

३. अछाम

१० वटा स्थानीय तह रहेको अछाममा साफेबगर नगरपालिकामा लालबहादुर कुँवर, तुर्माखाद गाउँपालिकामा कविराम बयक र पञ्चदेवल विनायकमा सज्जन शाही मतदान प्रक्रिया मार्फत निर्वाचित भए । बाँकी ७ स्थानीय तहमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ ।

मंगलसेन नगरपालिकामा झपटबहादुर रावल, कमलबजार नगरपालिकामा पदम भण्डारी, चौरपाटी गाउँपालिकामा धर्म साउद, मेल्लेख गाउँपालिकामा खगेन्द्र साउँद, बान्नीगढी जयगढ गाउँपालिकामा कर्णबहादुर ठकुल्ला, रामारोशनमा मानबहादुर साउद र ढकारीमा धनबहादुर बुढा सर्वसम्मत सभापतिमा चयन भएको कांग्रेस अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सिनाले बताए। बान्नीगढी जयगढ गाउँपालिका, साँफेबगर नगरपालिका र कमलबजार नगरपालिकामा आफूपक्षीय उम्मेदवार विजयी भएको दाबी पौडेल पक्षको छ।

४. बाजुरा

बाजुरामा सिटौला र पौडेल पक्ष संयुक्त प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएपछि देउवा पक्ष कमजोर बनेको छ । ९ स्थानीय तह रहेको बाजुरामा सिटौला र पौडेल पक्षले ६ र देउवा पक्षले ३ स्थानीय तहमा जितेको छ ।

देउवा पक्षबाट बुढीगंगा नगरपालिकामा जयराज उपाध्याय, बुढीनन्दा नगरपालिकामा डबलबहादुर खड्का र खप्तडछेकेदह गाउँपालिकामा हर्कबहादुर रावत सभापतिमा विजयी भएका छन् । यी बाहेकका ६ स्थानीय तहमा पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् ।

बडिमालिका नगरपालिकामा गोपालबहादुर कार्की, त्रिवेणीमा सुरेन्द्र गिरी, गौमुल गाउँपालिकामा राजबहादुर धामी, जगन्नाथ गाउँपालिकामा सुन्दर बिष्ट, स्वामिकार्तिक खाप्पर गाउँपालिकामा महेश कट्टेल र हिमाली गाउँपालिकामा अम्मलाल कार्की विजयी भएको कांग्रेसले जनाएको छ ।

५. डडेल्धुरा

डडेल्धुरामा क्रियाशील सदस्यताको विषयलाई लिएर पौडेल पक्षले बहिष्कार गरेका बेला पालिका अधिवेशन सकिएको छ । ७ वटा स्थानीय तहमा सबै सभापति देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । अमरगढी नगरपालिकामा खेमराज भट्ट र नवदुर्गा गाउँपालिकामा भोजराज भट्ट सर्वसम्मत सभापतिमा चयन हुँदा अन्य पालिकामा निर्वाचन भएको थियो ।

परशुराम नगरपालिकामा भरत बडायर जोशी, अजयमेरु गाउँपालिकामा टेकराज पाण्डेय, आलीतालमा चन्द्रदेव बोहरा, भागेश्वरमा डम्मरराज जोशी र गन्यापधुरा गाउँपालिकामा इन्द्र कार्की सभापतिमा विजयी भएका छन् ।

डडेल्धुरामा पौडेल पक्षधर मानिने पार्टी सभापति कर्णबहादुर मल्लले क्रियाशिल सदस्यता अवैध रुपले वितरण गरिएको भन्दै अधिवेशन बहिष्कार गरेको छ । अवैधानिक रुपले गरिएको अधिवेशन स्थगित गर्न माग गर्दै ६ दिनदेखि उनीहरु जिल्ला पार्टी कार्यालयमा रिले अनसनमा बसिरहेका छन् ।

६. बैतडी

१० स्थानीय तह रहेको बैतडीमा तीन वटामा सर्वसम्मत र सात वटामा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको छ । सुर्नया गाउँपालिकामा प्रेमसिंह महरा, शिवनाथ गाउँपालिकामा हिरा चन्द र पञ्चेश्वर गाउँपालिकामा कर्णसिंह साउद सभापतिमा सर्वसम्मत चयन भएका छन् ।

निर्वाचन प्रक्रिया मार्फत दशरथचन्द नगरपालिकामा भुवनराज पाण्डे, पाटन नगरपालिकामा मानसिंह ऐर, मेलौली नगरपालिकामा परमानन्द भट्ट, पुर्चौडी नगरपालिकामा गणेशसिंह गडाल विजयी भएका छन् । दोगडाकेदार गाउँपालिकामा नन्दराज भट्ट, सिगास गाउँपालिकामा कर्णबहादुर ऐर, डिलासैनी गाउँपालिकामा जयराज जोशी निर्वाचित भए।

बैतडीमा दशरथ चन्द नगरपालिका, पुर्चौडी नगरपालिका र डिलासैनी गाउँपालिकामा आफू पक्षीय उम्मेदवार विजयी भएको पौडेल पक्षको दाबी छ भने सर्वसम्मत भएका तीन पालिकामा साझा उम्मेदवार भएको बताइएको छ । तर देउवा पक्षले पुर्चौडी नगरपालिकासहित ८ पालिकामा आफ्ना उम्मेदवार विजयी भएको बताएको छ ।

७. डोटी

९ स्थानीय तह रहेको डोटीमा पाँच वटामा निर्वाचन र चार वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ । दिपायल सिलगढी नगरपालिकामा गणेश मलासी, पूर्वीचौकी गाउँपालिकामा बलबहादुर खड्का, आदर्श गाउँपालिकामा चन्द्रुनाथ ओझा, केआईसिंह गाउँपालिकामा अर्जुन बलायर सभापतिमा सर्वसम्मत चयन भएको जिल्ला सभापति प्रदीप देउवाले बताए ।

जोरायल गाउँपालिकामा मोहन मल्ल, बडीकेदार गाउँपालिकामा करुणाकर जोशी, बोगटानफुड्सिल गाउँपालिकामा खड्कबहादुर बोहरा, सायल गाउँपालिकामा चेतराज ओझा र शिखर नगरपालिकामा हर्कबहादुर बोगटी विजयी भएको उनले बताए । डोटीका अधिकांश पालिका सभापति देउवा पक्षका हुन् ।

८. दार्चुला

दाचुलाका ९ मध्ये पाँच वटामा सर्वसम्मत र चार पालिकामा निर्वाचन प्रक्रिया मार्फत कांग्रेसले नयाँ नेतृत्व चुनेको छ । महाकाली नगरपालिकामा चन्द्रसिंह बिष्ट, ब्यास गाउँपालिकामा नरेन्द्र भट्ट, दुहुँ गाउँपालिकामा नरेन्द्र कुँवर र लेकम गाउँपालिकामा कमलापति मिश्र विजयी भएको कांग्रेस दार्चुलाले जनाएको छ ।

अन्य शैल्यशिखर नगरपालिकामा मोहन साउद, अपी हिमाल गाउँपालिकामा शोभानसिंह लोथ्याल, नौगाड गाउँपालिकामा प्रेमसिंह धामी, मार्मा गाउँपालिकामा धनन्जय जोशी र मालिकार्जुन गाउँपालिकामा किसनसिंह सामन्त निर्विरोध भएका छन् ।

दार्चुलामा पनि अधिकांश पालिकामा देउवा पक्ष नै हावी छ । तर दुवै पक्षका नेताहरुले कुनै पनि स्थानीय तहमा प्यानल अनुसार भनेर निर्वाचन नगरिएकाले एकअर्को पक्ष भन्न नहुने प्रतिक्रिया दिएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap