काठमाडौं ६ माघ, । भारतमा कोभिड-१९ बाट संक्रमित हुनेको दैनिक संख्या फेरि तीन लाख नाघेको छ । त्यहाँ ८ महिनापछि कोरोना भाइरसबाट संक्रमित हुनेको दैनिक संख्या ३ लाख नाघेको हो ।
पछिल्लो २४ घण्टामा भारतभर ३ लाख १७ हजार ५३२ जना नयाँ कोरोना संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा हालसम्म कुल ३ करोड ८२ लाख १८ हजार ७७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ५८ लाख ७ हजार २९ जना निको भएका छन् ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या बढेर १९ लाख २४ हजार ५१ पुगेको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमण दर बढेर १६.४१ पुगेको छ भने साप्ताहिक संक्रमण दर १६.०६ रहेको छ ।
यसबाहेक कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या समेत बढ्दै गएको छ । बुधबारको तुलनामा बिहीबार ओमिक्रोनका संक्रमित ३.६३ प्रतिशतले बढेका छन् । हालसम्म यो भेरियन्टबाट संक्रमित हुनेको संख्या ९ हजार २८७ पुगेको छ ।