नेपाल टेलिकमको ष्यस वर्षको नाफा दुई अर्ब रूपैयाँ घटेको छ । आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आव २०७७/०७८ मा खुद मुनाफा दुई अर्ब २९ करोड ४८ लाख ७१ हजार रूपैयाँ कम भएको टलिकमले जनाएको छ ।
टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणअनुुसार आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासिक अवधिमा खुद मुनाफा नौ अर्ब ७४ करोड ८९ लाख ५६ हजार थियो । २०७७/०७८ मा खुद मुनाफा सात अर्ब ४५ करोड ४० लाख ८५ हजारमा झरेको हो ।
मुनाफामा कमी आउनुको प्रमुख कारण कोरोना महामारी रहेको टेलिकमले जनाएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने ब्याजदर अघिल्लो वर्षको तुलनामा घटेकाले ब्याज आम्दानीमा कमी आएको टेलिकमको भनाइ छ ।
कम्पनीले कोभिड महामारीलाई लक्षित गरी निकै कम मूल्यमा डेटा प्याकेज उपलब्ध गराएको थियो । यस कारण अघिल्लो वर्षको तुलनामा डेटा उपभोग बढे पनि राजस्व सोचेजस्तो बढ्न नसकेको टेलिकमले जनाएको छ ।
महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा लागू भएको प्रतिबन्धका कारण रोमिङ सेवामा आएको गिरावटले पनि असर पारेको टेलिकमले उल्लेख गरेको छ ।
आव २०७६/०७७ को असार मसान्तको अन्तिम लेखा परीक्षणपछिको कुल आम्दानी ३४ अर्ब ६१ करोड ९९ लाख ६४ हजार रहेको टेलिकमले जनाएको छ । २०७६/०७७ को तुलनामा कम्पनीको आम्दानी भने ३.७० प्रतिशत बढेको छ । आव २०७७/०७८ मा आम्दानी ३५ अर्ब ९० करोड ३७ लाख ३३ हजार पुगेको कम्पनीले जनाएको छ ।