नेपाली युवालाई स्वदेशमै रोक्ने चुनौती


लेखक : सुन्दराञ्चल      साउन ३१, २०८० मा प्रकाशित     
नेपाली युवालाई स्वदेशमै रोक्ने चुनौती

: श्रावण ३१, रोजगारी र अध्ययनका लागि भनेर विदेश जाने युवाहरूको तथ्यांक डरलाग्दो छ । अर्कातिर, उत्पादनका क्षेत्रहरूमा मानवीय श्रमको अभाव छ । उर्वरा खेतीयोग्य भूमि बाँझो पल्टिएको छ । निर्माण कार्यमा आवश्यक पर्ने श्रमशक्ति न्यून हुँदै गएको छ ।

आर्थिक–सामाजिक रूपान्तरणको विराट् उद्देश्यका निम्ति विकासका स्रोतहरूको परिचालन गर्ने योजना तर्जुमा गरियो भने पनि जनशक्तिको अभावमा केही गर्न नसकिने अवस्था बन्दै छ । मानवीय पुँजीको अभावको दुर्दशा कतै देशले भोग्नुपर्ने त होइन ? विद्यार्थीको अभावमा कलेज र विश्वविद्यालयहरू नै बन्द हुने अवस्था आउने त होइन ? जुन रफ्तारमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरू विदेश पलायन भइरहेका छन्, यसले गर्दा देशका कलेजहरूमा अध्यापनरत प्राध्यापक एवं कार्यरत कर्मचारीहरू निकम्मा हुने र सरकारी तथा निजी क्षेत्रका थुप्रै भौतिक संरचना खण्डहरमा परिणत हुने त होइनन् ? बेलैमा परिस्थितिको ठोस विश्लेषण र समाधानको पहल नभए अवस्था झन् गम्भीर बन्दै जानेछ । यस लेखमा पछिल्लो तथ्यांकलाई आधार मानेर समस्याको पहिचान, विश्लेषण र समाधानको उपाय के हुन सक्ला भन्नेबारे विमर्श गर्ने कोसिस गरिएको छ ।

नेपाल सरकार, श्रम विभागको पछिल्लो तथ्यांक अनुसार २०७९–८० मा मात्रै रोजगारीका लागि ५ लाख ८० हजार ९ सय ६२ पुरुष र ४९ हजार १ सय २८ महिला श्रमशक्ति बिदेसिएको छ । यस अन्तर्गत रोजगारीका सिलसिलामा बाहिरिएको जनशक्तिलाई हेर्दा उच्च दक्ष १२५, प्रोफेसनल ६८०, अर्ध दक्ष ५० हजार ६७ जना पुरुष र ४ हजार २ सय ६१ महिला, दक्ष २ लाख ६८ हजार ४ सय ५६ पुरुष र २३ हजार ४ सय ३३ महिला, अदक्ष २ लाख ६१ हजार ७ सय २ पुरुष र २१ हजार ३ सय ७७ महिला श्रम शक्ति बाहिरिएको छ । रोजगारीका निम्ति बाहिरिनेमा महिलाहरूको संख्या पनि क्रमशः बढ्दो छ । यो त औपचारिक र कानुनी ढंगले गएकाको संख्या हो, अनौपचारिक र गैरकानुनी बाटोबाट बिदेसिनेहरूको संख्या पनि ठूलै हुन सक्ने अनुमान गर्न सकिन्छ ।

उच्च शिक्षा अध्ययनका लागि नेपाल सरकारको शिक्षा मन्त्रालयबाट एनओसी लिएर जानेहरूको संख्या पनि ठूलो छ । २०७४ देखि अहिलेसम्मको डाटा हेर्दा ४ लाख ४७ हजार ७ सय ७१ विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भनेर बिदेसिएका छन् । २०७३ यताको प्रत्येक वर्षको तथ्यांक हेरौं । २०७३–७४ मा ५० हजार ७ सय ९६, २०७४–७५ मा ५८ हजार ७ सय ५८, २०७५–७६ मा ६३ हजार ४ सय १७, २०७६–७७ मा ३३ हजार १ सय ९६, २०७७–७८ मा २८ हजार ८ सय ८३, २०७८–७९ मा १ लाख २ हजार ५ सय ४ र २०७९–८० मा १ लाख १० हजार २ सय १७ जना अध्ययनका लागि भनेर एनओसी लिएर बाहिरिएका छन् । प्रस्तुत तथ्यांकको विश्लेषण गर्दा २०७३ देखि ७६ सम्म बिदेसिनेको संख्या क्रमशः बढ्दै गएको र २०७६–७७ मा यो संख्या ह्वात्तै घटेको देखिन्छ । यद्यपि पछिल्लो पटक २०७८–७९ मा भने यो संख्या लाखौंमा पुगेको छ । जुन रफ्तारमा विद्यार्थीहरू बाहिरिँदै छन्, त्यो मुलुकका लागि गम्भीर चुनौती र चिन्ताको विषय हो ।

युवाहरूको यस किसिमको विदेश पलायनले हाम्रा गाउँघरहरू वृद्धवृद्धा, महिला र बालबच्चाहरू मात्रै भएको समाजमा रूपान्तरित हुँदै छन् । यति मात्रै होइन, छोराहरू विदेशमा र बुहारीहरू छोराछोरी पढाउन भनेर सहर झर्दा गाउँहरू तिनै असहाय वृद्धवृद्धाहरूका मात्रै संवेदनशील बस्ती बन्दै छन् । युवा जनशक्ति नभएकाले बिरामी पर्दा अस्पताल पुर्‍याउने र मर्दा लास उठाउने मानिसको अभाव हुँदै गएको कुरा गाउँघरतिर सुन्न थालिएको छ । तर, यो अवस्थाको व्याख्या र विश्लेषणको मात्रै धेरै महत्त्व छैन, महत्त्व त यो अवस्थामा बदलाव ल्याउनुमा छ । बदलाव आउँछ कसरी ? केही चिन्तन गरौं ।

यहाँनिर युवाहरूको विदेश पलायनका मूलतः दुइटा उद्देश्य छन्— रोजगारी र अध्ययन । रोजगारीका निम्ति जानेहरू शिक्षित र शारीरिक श्रमशक्ति दुवै छन् । हामीले न ‘ब्रेन’ लाई रोक्न सकेका छौं, न त ‘लेबर’ लाई नै । ‘ब्रेन’ र ‘लेबर’ दुवै ‘ड्रेन’ भैरहेका छन् । रोजगारी, राम्रो तलब, सेवा र सुविधाको लोभमा डाक्टर र इन्जिनियरहरूले पनि देश छोड्ने गरेका छन् ।

प्लस टु सकेपछि उच्च शिक्षा अध्ययनका लागि भनेर किशोरकिशोरी लाखौंको संख्यामा बिदेसिँदै छन् । बाबुआमाहरू उनीहरूलाई रोक्न सक्ने हालतमा छैनन् । उनीहरू सकी–नसकी त्यसको बन्दोबस्तमा लाग्न बाध्य छन् । विदेशी विश्वविद्यालयहरूले यहाँबाट विद्यार्थी लैजान सयौं कन्सल्टेन्सी खोलेका छन् । वा, तिनीहरूलाई माध्यम बनाउँदै बाल मस्तिष्कलाई प्रभाव पार्ने अनेकौं काउन्सिलिङ यहाँ चलिरहेका छन् । के यी संस्थाहरूको कुनै सरकारी निकायबाट नियमन, नियन्त्रण र अनुगमन भैरहेको होला ? चिकित्सा शिक्षा र इन्जिनियरिङजस्ता विषयहरूको अध्ययनका निम्ति धेरै ठूलो जनशक्ति विदेशिइरहेको छ । यसबाट अर्बौं धनराशि पनि बाहिरिइरहेको छ ।

श्रमशक्तिको अर्को ठूलो हिस्सा शारीरिक श्रम बेच्न बिदेसिइरहेको छ । देशभित्र थोरै पनि आम्दानी गर्न सक्ने आधार नपाएर यो शक्ति बिदेसिन बाध्य भएको हो । विदेशी श्रम बजारमा रगत–पसिना बेच्न बाध्य एक श्रमिकको भनाइ छ— ‘चौतारी थियो वर थिएन, सहर थियो तर आफ्नो घर थिएन/परदेसिनु मेरो बाध्यता थियो, तर कुनै रहर थिएन ।’ थोरै कमाइको आशामा घरको गुजारा धान्न उनीहरू लाखौं खर्चिएर बिदेसिएका छन् । यसरी रोजगारीका लागि बिदेसिनुपरेका युवाहरूको गन्तव्य मुलुक भने तिनकै हैसियत अनुसारका हुने गरेका छन् । अनपढ, धेरै लगानी गर्न नसक्ने र शारीरिक श्रम मात्रै गर्न सक्ने श्रमशक्तिको गन्तव्य खाडी मुलुकहरू, मलेसिया आदि हुने गरेका छन् । अलि खर्च गर्न सक्ने र केही पढेलेखेका युवाहरू दक्षिण कोरिया, जापान लगायतमा अनि पर्याप्त खर्च गर्न सक्ने धनाढ्यहरूका छोराछोरीको युरोप–अमेरिका जाने गरेका छन् । सवाल यो हो कि, धनीदेखि निम्न वर्गसम्मका युवा जनशक्तिको गन्तव्य विदेश बनिरहेको छ । यति बेला नेपाली युवाहरूमा स्वदेशमै बसेर केही गर्न सकिन्छ वा गरौं भन्ने भावना मरिरहेको छ, जुन राष्ट्र र सत्ता सञ्चालकहरूका लागि गम्भीर चुनौती हो ।

हाम्रो भूगोल उर्वरा छ; अपार जलस्रोत छ; हजारौं नदीनाला, सयौं तालतलैया छन्; चिसो–न्यानो र गर्मीको मौसमी विविधता छ । हिमाल, पहाड, तराई, भित्री मधेश गरी भौगोलिक विविधता छ । १३० भन्दा बढी भाषाभाषी, १४० भन्दा बढी जाति–जनजाति छन् । जातीय एवम् सांस्कृतिक बहुलता छ । सयौं धार्मिक–सांस्कृतिक सम्पदाले भरिपूर्ण, दुर्लभ वन्यजन्तु र जडीबुटीले भरिएका वनजंगल भएको हाम्रो देशले युवाहरू दैनिकी चलाउनकै निम्ति सानोतिनो कामको खोजीमा बिदेसिनुपर्ने विडम्बनाबाट मुक्ति कहिले पाउने ?

हाम्रो मुलुकमा विकासको अनन्त सम्भावना छ, स्रोतहरू छन् । तिनको सही परिचालनबाट रोजगारीका अवसरहरू सृजना हुन सक्छन् । र, मुलुकको विकास र समृद्धि सम्भव हुन सक्छ । त्यसका लागि हामीले शिक्षा प्रणालीलाई लगभग आम रूपमै बदल्न जरुरी भएको छ । प्राविधिक र व्यावसायिक शिक्षा नै मुलुकको आवश्यकता हो । यसलाई पनि अनुभवमा आधारित बनाउन जरुरी छ । सैद्धान्तिकजस्तो प्राविधिक शिक्षाले पुग्दैन, पढाइ सक्दै गर्दा श्रमबजारमा पुगेर काम गर्न सक्ने शिक्षाको आवश्यकता छ । अझै काम गर्दै पढ्दै गर्न सकिने प्रणाली बनाउन जरुरी छ । मुलुकको विकासका स्रोतहरूमा आधारित शैक्षिक व्यवस्था र त्यसमा युवाहरूको परिचालन हुन सक्यो भने अध्ययनका लागि विदेश पलायन हुनेको संख्या निश्चित रूपमा घट्दै जानेछ ।

अर्को कुरा, मुलुकको राजनीतिले युवाहरूमा आशा र विश्वास जगाउन सक्नुपर्छ । युवाहरूमा देशभित्रै केही गर्न सकिन्छ भन्ने विश्वास जागृत गराउनुपर्छ । र, मुलुकभित्रै केही गर्नुपर्छ भन्ने देशभक्तिको भावना पनि जगाउन सक्नुपर्छ । युवाहरूमा मातृभूमिप्रतिको कर्तव्यबोध गराउने जिम्मेवारी सरकारको हो, जसका लागि अहिलेको सरकार पूर्ण रूपमा असफल छ ।

नेपाल ३ करोडभन्दा कम जनसंख्यालाई सुखले पाल्न नसक्ने देश होइन । साधनस्रोतको हिसाबले नेपाल गरिब छैन । उपलब्ध साधन र स्रोतको समुचित उपयोग गर्न नसकेरै हामी अविकसित र गरिब भएका हौं । मुलुकभित्रका साधनस्रोतहरूको समुचित उपायोग नै देश विकासको आधार हो । मुलुकको राजनीति पनि तदनुरूप स्थिर, दृष्टिकोणयुक्त, योजनाबद्ध, लक्ष्यकेन्द्रित र संकल्पबद्ध हुन जरुरी छ, जुन हुन सकेको छैन । यही कारण युवापंक्तिमा व्यापक निराशा र असन्तुष्टि उत्पन्न भइरहेको छ, परिणामस्वरूप युवा वर्ग भविष्य खोज्न विदेशतिरै कुदिरहेको छ ।

जलस्रोतमा अपार धनी नेपाल भर्खरै थोरै मात्र विद्युत् बिक्री गर्ने लक्ष्यमा पुगेको छ । यो पनि सकारात्मक पक्ष हो । हाम्रा नदीनालाहरूमा हजारौं मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता छ । यसको समुचित उपयोगका निम्ति पुँजी र प्रविधि जुटाउन सार्थक पहल गर्नुपर्छ, बुद्धि–विवेक लगाउनुपर्छ । हाम्रो भान्सा र यातायातका साधनमा मात्रै विद्युत्को प्रयोग हुन सके पनि पेट्रोल, डिजेल र खाना पकाउने ग्यास आयातमा गइरहेको अर्बौं रुपैयाँ जोगिन सक्छ । त्यो रकम अन्य उद्योगमा लगाउन सकिन्छ । यसले रोजगारीका अवसरहरू उपलब्ध गराउन सक्छ ।

धार्मिक पर्यटन नेपालको विकासको अर्को असाध्यै सम्भावना बोकेको क्षेत्र हो । पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम लगायतका थुप्रै धार्मिक पर्यटकीय क्षेत्रहरू नेपालमा छन्, जसले आन्तरिक र विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सक्छन् । सगरमाथा र अन्य मनोरम प्राकृतिक दृश्यहरू पनि पर्यटनका केन्द्र हुन् । यिनको उपयोग र विकासका निम्ति पर्याप्त पूर्वाधारको आवश्यकता छ । यो नेपालीलाई स्वरोजगार बनाउन सक्ने क्षेत्र पनि हो । यिनको समुचित उपयोगले देशभित्रै लाखौंलाई रोजगारी दिन सकिन्छ ।

सबैभन्दा ठूलो संख्यामा रोजगारीका अवसरहरू सृजनाका लागि चाहिँ औद्योगिकीकरणमै जानुपर्छ । यसका लागि उद्योगमैत्री वातावरण बनाउनुपर्छ । उद्योग स्थापनाका निम्ति सहज कानुनी प्रबन्ध, सरल र सहयोगी प्रशासनिक संरचना, आवश्यक पूर्वाधार विकास, सुविधा र मुनाफाको सुनिश्चितता भए मात्रै स्वदेशी–विदेशी लगानीकर्ताहरू आकर्षित हुन सक्छन् । तर सरकारको ध्यान यता जान सकेको छैन । औद्योगिकीकरण युवाहरूको विदेश पलायनलाई रोक्ने महत्त्वपूर्ण आधार हो ।

निष्कर्षतः, राजनीतिलाई रोजगारीका अवसरहरूको सृजना, शिक्षामा परिवर्तन र गुणस्तरको सुनिश्चितता, उज्यालो भविष्य देखाउन सक्ने विकास र समृद्धिमा केन्द्रित बनाउन सके युवाहरूको विदेश पलायनलाई रोक्न सकिन्छ । अन्यथा मुलुक संकटतर्फै जाने हो, बेलैमा सोचौं ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap