अछाम, २५ भाद्र । निर्वाचित वडा अध्यक्ष लगायत सदस्यले नपत्याएपछि नेकपा एकिकृत समाजवादी (एस) मा लागेका अछामको साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर अल्पमतमा परेका छन् । नगरपालिकाका जितेका ८ वडा र ४ जना बाहेक कुनै पनि सदस्यले प्रमुख कुँवरलाई साथ नदिए पछि उनी अल्पमतमा परेका हुन् ।
साँफेबगर नगरकायपालिकामा जम्मा २४ जना सदस्य रहेका छन् । जसमध्ये १४ जना नेकपा एमाले, ६ जना नेपाली कांग्रेस र प्रमुख, उपप्रमुख र दुई जना कार्यपालिका सदस्यसहित ४ जना नेकपा समाजवादीका रहेका छन् । यसले नगर कार्यपालिकामा नेकपा एमालेको बहुमत देखिएको छ। नगर कार्यपालिकामा नेकपा एमालेबाट निर्वाचित ४२ जना जनप्रतिनीधिमध्ये ६ जना समाजवादी र बाँकी सबै नेकपा एमालेमै रहेका छन् ।
नाम नखुलाउने शर्तमा एक वडा अध्यक्षले भने ‘प्रमुख कुँवरले विगत ४ बर्ष झैँ एकात्मक निर्णय गरेपछि सबै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यले मानिहाल्छन् भन्ने सोच्नु भयो, तर हामी पार्टीले बनाएका जनप्रतिनीधि हौँ, प्रमुखले बनाएका हाईनौँ ।’ उनले थप्दै भने, ‘आजसम्म प्रमुखले गरेका हरेक निर्णयमा हामीले समर्थन जनायौँ, तर पार्टी नै परिवर्तन गर्ने कुरामा स्वविवेक प्रयोग गरेका छौँ ।’ साँफेबगरका केहि जनप्रतिनीधिले नेकपा एमाले टुक्रिएपछि बनेको माधवकुमार नेपाल नेतृत्व बनेको समाजवादी पार्टीलाई रोजे पनि नेकपा एमालेबाट निर्वाचित सम्पूर्ण वडा अध्यक्षले भने नेकपा एमाले पार्टीलाई नै रोजेका छन् ।
उक्त विज्ञप्तीमा भनिएको छ, ‘२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा सूर्य चिन्हबाट निर्वाचित वडा अध्यरुक्ष टुटफुटमा नलागी हाम्रो मुल पार्टी नेकपा (एमाले) मै रहेको जानकारीका साथै अन्य जनसमुदायमा पनि कुनै भ्रममा नपरी नेकपा (एमाले) मै रहन आग्रह गदछौँ ।’ विज्ञप्तीमा साँफेबगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बालगिरी कुँवर, ५ का अध्यक्ष उजिरसिंह साउँद, ६ का अध्यक्ष प्रेमराज शर्मा, ८ का अध्यक्ष टंकबहादुर कुँवर, ९ का अध्यक्ष ध्रुबबहादुर थापा, १० अध्यक्ष लालबहादुर खड्का, १३ का अध्यक्ष सागरसिंह बाब्ली र १४ का अध्यक्ष कर्णबहादुर साउँदले हस्ताक्षर गरेका छन् ।
साँफेबगर नगरपालिकाका प्रमुख कुँवरलाई नेकपा एमालेबाट निर्वाचित कुनै पनि वडा अध्यक्षले साथ नदिए पनि उपप्रमुख बिर्मलादेवी बुड्थापाले भने साथ दिएकी छन् । उपप्रमुख बुड्थापासंगै नगर कार्यपालिका सदस्य जयन्ती बोगटी र जितबहादुर निशानीले पनि साथ दिएका छन् । साँफेबगर नगरपालिकाका साथै जिल्लाका २ सय १५ जना निर्वाचित जनप्रतिनीधिमध्येबाट २७ जना जनप्रतिनीधीले नेकपा समावादी पार्टी रोजेको जिल्ला निर्वाचन कार्यालय अछामका निमित्त निर्वाचन अधिकारी गजेन्द्रप्रकाश थारुले जानकारी दिएका छन् ।