नाजिरको ‘लभ सर्कल’ डिजिटल प्लेटफर्ममा


लेखक : सुन्दराञ्चल      साउन १८, २०७८ मा प्रकाशित     
नाजिरको ‘लभ सर्कल’ डिजिटल प्लेटफर्ममा

कोरोना महामारीका कारण सिनेमा हलमा ताल्चा लागेको लामै समय भइसकेको छ । जसले गर्दा निर्माण सकिएका दुई दर्जन बढी नेपाली फिल्म रिलिज हुन पाएका छैनन् । कोरोना महामारीको तेस्रो लहर सुरु भएसँगै सिनेमा हल खुल्ने थप अनिश्चित हुँदा हलिउड/बलिउडमा झैँ नेपाली निर्माताहरुले पनि डिजिटल प्लेटफर्मलाई फिल्म रिलिजको विकल्पको रुपमा हेर्न थालेका छन् ।

सिनेमा हल खुल्ने टुंगो नहुँदा कोरोना महामारीकै समयमा फिल्म ‘कोपिला र हिरो रिर्टन्स’ डिजिटल प्लेटफर्ममा रिलिज भए । यही २७ तारिखमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अभिनीत तथा निर्मित फिल्म ‘म त मर्छु कि क्या हो’ पनि ओटीटी प्लेटफर्ममा रिलिज हुने तयारीमा छ । यस्तैमा, अर्को फिल्म ‘लभ सर्कल’ ले पनि रिलिजका लागि डिजिटल प्लेटफर्म रोजेको छ ।

यही साउन २९ गते डिस होमको च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आउने फिल्मको आइतवार फर्स्टलुक पोस्टर सार्वजनिक गरियो । कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको फिल्मको पोस्टरमा कलाकारहरु मुकुन भुषाल, नाजिर हुसेन, पवित्रा आचार्य, रबिन्द्र झा, रिस्ता बस्नेत र सुमन कोइराला (दले दाई) लाई देख्न सकिन्छ । फिल्मको क्याप्टेनसिप बसन्त निरौलाले सम्हालेका हुन् ।

फिल्म क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले ‘लभ सर्कल’ लाई डिजिटल प्लेटफर्ममा रिलिज गर्न लागेको निर्देशक निरौलाले बताए । मि टिभीको प्रस्तुतिमा ओम प्रकाश अग्रवाल र रोशन पौडेलको संयुक्त निर्माण रहेको फिल्ममा अंकित बाबु अधिकारीको संगीत, अभिमन्यु निरवीको लेखन, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी र शाहिल खान/मिलन श्रेष्ठको सम्पादन छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap