धनगढी,७ असोज । दशै,तिहार आउन केहि समय बाकी रहेका बेला भारत पसेका नेपालिहरु धमाधम स्वदेश फर्कन थालेका छन् । यहाँको मुख्य नाका गौरीफन्टा हुदैँ उनिहरु दिनहुँ हजारौ संख्यामा स्वदेश फर्किरहेका छन् । त्यहि मौका छोपि नाकामा भारतीय सुरक्षाकर्मीमात्र नभई नेपाली रिक्सा चालकले पनि नेपालीलाई ठग्ने गरेका छन् ।
नाकादेखि धनगढी बसपार्कसम्मको रिक्सा भाडा एक जनाको ३० रुपैयाँ रहेकोमा रिक्सा चालकले सामानसमेत बोकेको नाममा हजार रुपैयाँसम्म असुल्ने गरेका छन् । बाटोभरि ठगिदै नाकामा पुगेका नेपालीहरु त्यहाँ रिक्सा चालकको तानातानमा पर्ने गरेका छन् ।
कतिपयले रिक्सा चालकले पारिबाट सामान ल्याइदिएको नाममा जबरजस्ती आफ्नो रिक्सामा जान बाध्य पार्छन् । यात्रु तान्न वारी रिक्सा राखेर पारी नाकासम्म पुग्ने रिक्सा चालकहरु नाका पार गराइ दिने भन्दै घर फर्कने नेपालीबाट पैसा असुलेर भारतीय सुरक्षाकर्मीलाई बुझाउने गरिरहेका छन् ।
पारीबाट सामान बोकेर वारी ल्याएको समेत उनीहरुले चर्को पैसा असुलिरहेका छन् । रिक्सा चालकले मनपरी भाडा लिने गरेको गुनासो बढेपछि प्रहरीले तीन दिनयता कडाइ गरेको छ तर तोकिएको भन्दा बढी भाडा असुल्ने, पारी पुगेर जबरजस्ती सामान ल्याएर आफ्नै रिक्सामा जान बाध्य पार्नेजस्ता कार्य अझै रोकिएको छैन ।