काठमाडौं महानगरपालिका–१० का विभिन्न भागमा रहेको ५० रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी उद्यान निर्माण गरिएको छ । वडा क्षेत्रमा रहेका सार्वजनिक जग्गा संरक्षण गरी खुला स्थानको विकास गर्ने नीतिअनुसार रु तीन करोड ५० लाख लगानीमा उद्यान निर्माण गरेर ११ ठाउँका गरी करिब ५० रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको वडाध्यक्ष रामकुमार केसीले राससलाई जानकारी दिए ।
विभिन्न व्यक्ति एवं संस्थाले मिचेका करिब २० रोपनी जग्गा भने अझै संरक्षणमा ल्याउन नसकिएको वडाध्यक्ष केसीले सुनाए । ती जग्गा पनि संरक्षण गर्ने गरी वडा कार्यालयले योजना बनाइसकेको छ । संरक्षण गरिएका र गर्न बाँकी जग्गामा बनेको उद्यानलाई भूकम्पलगायत प्राकृतिक प्रकोपका बेला पनि उपयोगमा ल्याउन सकिने गरी खुला स्थलका रूपमा विकास गरिएको छ ।रासस