नगर विकासको जमिन बिक्रीमा अनुसन्धान


लेखक : सुन्दराञ्चल      भदौ २१, २०७८ मा प्रकाशित     
नगर विकासको जमिन बिक्रीमा अनुसन्धान

कञ्चनपुर २१ भाद्र । तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जमिन बिक्री–वितरणमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको टोलीले अनुसन्धान सुरु गरेको छ । आयोगको केन्द्रीय कार्यालयले छानविन टोली बनाएर शनिबारदेखि अनुसन्धान सुरु गरेको हो । आयोगका उपसचिव ओमप्रकाश बरालको संयोजकत्वमा गठित ४ सदस्यीय कार्यदलले अनुसन्धान सुरु गरेको छ ।

नगर विकास समितिको महेन्द्रनगर बजार क्षेत्रमा भएको जमिन बिक्री–वितरण र लिजमा दिँदा व्यापक अनियमितता भएको भन्दै उजुरी परेपछि आयोगले अनुसन्धान सुरु गरेको हो । ‘नगर विकास समितिको जग्गाको व्यापक हिनामिना भएको भन्ने उजुरी परेको छ, त्यसकै आधारमा हामीले अनुसन्धान सुरु गरेका हौं,’ आयोगका केन्द्रीय सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले भने, ‘नगर विकास समितिको जमिनका विषयमा आयोग गम्भीर भएको छ, छिटोभन्दा छिटो यसको अनुसन्धान सक्ने गरी हामीले अनुसन्धान थालेका छौं ।’ उनका अनुसार छानबिन टोलीले सरोकारवालासँग छलफलसँगै नापनक्सादेखि सबैको स्थलगत अनुगमन गर्नेछ ।

छानबिन टोलीले जमिन बिक्री–वितरण तथा लिज प्रकरणमा भएको प्रक्रिया, सार्वजनिक खरिद ऐनअनुसार भए नभएको सबैको अध्ययन गर्नेछ । यसअघि सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय आयोजना कार्यान्वयन एकाइ र सहरी विकास मन्त्रालयको छुट्टाछुट्टै छानबिन टोलीले समेत जमिन बिक्री–वितरणमा अनियमितता भएको ठहरसहित निष्कर्ष निकालेको थियो ।

‘नगर विकास समितिको जमिन बिक्री, लिजमा दिने र भाडामा दिने प्रक्रिया प्रचलित कानुनबमोजिम भएको छ वा छैन भन्ने हामीले अनुसन्धान गर्ने हो,’ भण्डारीले भने, ‘छानबिन टोलीले अनुसन्धानपछि प्रतिवेदन बुझाउनेछ र त्यसपछि कारबाही प्रक्रियाअघि बढाइनेछ ।’

टोलीले महेन्द्रनगर पुगेर अनुसन्धान सुरु गरिसकेको अनुसन्धान टोलीका संयोजक आयोगका उपसचिव बरालले बताए । उनका अनुसार टोलीले बयान लिनेदेखि फिल्डको अनुगमन सबै सकेर प्रतिवेदन तयार गरेर आयोगमा बुझाउनेछ ।

२०३५ मा गठित नगर विकास समितिको नाममा ६३८ बिघा जमिन थियो । तर हाल समितिको नाममा करिब ६० बिघा मात्रै जमिन बाँकी छ । नगर विकास समितिले जमिन बिक्री–वितरणमा गरेका सबै कामकाज खारेजीको माग गर्दै महेन्द्रनगरमा पटक पटक आन्दोलनसमेत भइसकेको छ । २०७५ मा यहाँका युवा र विद्यार्थीहरूको आन्दोलनपछि नगर विकास समिति नै खारेज गरेर संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनगढीले हेरिरहेको थियो ।

समिति मातहत रहेको जमिन तथा भौतिक संरचनालाई २०७७ मा भीमदत्त नगरपालिकालाई हस्तान्तरण गरिएको छ । २०६७ पछि नियुक्त भएका अध्यक्षहरूले आफू निकटका व्यक्तिहरूलाई तोक आदेशका आधारमा जमिन बिक्री–वितरण र लिजमा दिने गरेका थिए । ०६७ यता नगर विकास समितिमा ६ अध्यक्ष नियुक्त भएका छन् । अध्यक्ष नियुक्त भएका पुष्कल चौधरी, मोहन गिरी, पल्टु राना, गोपाल रसाइली र सुरेन्द्र विष्टले आफ्नो पालामा मनपरी ढंगले जमिन बिक्री र लिजमा दिने काम गरेका हुन् ।

२०५८ मा कान्तु पनेरू नगर विकास समितिका अध्यक्ष थिए । उनकै पालामा महेन्द्रनगर बजार क्षेत्रमा सिटी हल निर्माणका लागि नगर विकास मातहतको जमिन बिक्री गर्ने निर्णय भएको थियो । यही निर्णयका आधारमा त्यसपछिका अध्यक्षहरूले धमाधम तोक आदेशका भरमा जमिन बिक्री र लिजमा दिने काम गरेका हुन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap