धनगढी उप–महानगरपालिकामा नृपबहादुर वडको टिम निर्वाचित भएर आउनु पूर्व मनोरोगीहरु सडकमै तड्पी रहेका देखिन्थे । सडक पेटिमा मनोरोगिहरुको बास हुन्थ्यो । यही देखेर धनगढीलाई सडक मानव मुक्त शहर बनाउने अभियान नगर प्रमुख नृपबहादुर वडले सुरु गरे । अहिले धनगढीका सडकहरुमा मनोरोगि भेटिदैनन् । कतै भेटिएको जानकारी पाउने वित्तिकै उनीहरुको उद्धार गरिन्छ ।
निर्वाचित भएर आउने वित्तिकै धनगढीलाई मानवताको शहर बनाउने योजना वडले सुनाउँथे । त्यही योजना अन्तरगत मानवीय सेवामा काम गर्न दृष्टि फाउन्डेसन नामक सामाजिक संस्था संचालन गर्नका लागि उनले धनगढीकै केही सामाजिक अभियन्तालाई उत्प्रेरित गरेका र मानवीय सेवामा काम गरिरहेको मानव सेवा आश्रमलाई धनगढीमा शाखा संचालन गरि सेवा दिनका अनुरोध गरेको वडले बताए । कैलालीको बर्दगोरियामा रहेका सहार घर सञ्चालन गरिरहेका सचेत यूवा बलबहादुर बिष्टसंग पनि यस कार्यमा सहयोग गर्न अनुरोध गरे ।
‘अहिले ४८ जना भन्दा बढी महिला मनोरोगी र तिनका केटाकेटीहरुलाई धनगढी उप–महानगरपालिका वडा नम्बर ७ मा रहेको दृष्टि फाउन्डेशनले संरक्षण दिएर राखिएको छ ।’ वडले भने, ‘त्यसैगरी धनगढीको तारानगरमा रहेको मानवसेवा आश्रम र वर्दगोरियामा रहेको साहरा घरमा पनि मनोरोगीहरु राखिएक छन् ।’ मनोरोगीहरुको संरक्षण गर्ने सन्चो भएपछि परिवार मिलन गराउने काम समेत हुने गरेको वडले बताए । दृष्टि फाउन्डेशनकी संचालिका कल्पना भट्ट, सहाराघर बर्दगोरियाका संचालक बलबहादुर बिष्ट र समानवसेवा आश्रमका संचालक रामजी सर यस अभियानका सहयात्री भएको वडले बताए ।