धनगढीको निसर्ग हस्पिटलमा टेलिमेडिसिन सेवा शुरु


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
धनगढीको निसर्ग हस्पिटलमा टेलिमेडिसिन सेवा शुरु

३२ साउन, धनगढी । धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले सुदूरपश्चिममै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाई समेत विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यअनुसार प्रदेशमै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याइएको हस्पिटलले जनाएको छ ।

निसर्ग हस्पिटलमा कार्यरत विशेषज्ञ चिकित्सकले ‘टेलीमेडिसिन सेवा’ को माध्यमबाट सात वटै पहाडी जिल्लाका बिरामीहरुलाई आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गर्ने हस्पिटलका स्वास्थ्य निर्देशक डा.मिराजआलम अन्सारीले जानकारी दिए ।

हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले सोमबारदेखि बझाङबाट ‘टेलीमेडिसिन सेवा’ सुरु गरिएको बताउँदै छिट्टै अन्य जिल्लामा पनि विस्तार गरिने जनाए । जीआईजेड र मिदास टेक्नोलोजी प्राइभेट लिमिटेडसँगको सहकार्यमा बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रबाट ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याइएको उनले बताए ।
‘टेलीमेडिसिन सेवा’ मार्फत स्वास्थ्य परीक्षण तथा परामर्श लिएको शुल्क भने लाग्ने छैन । ‘टेलीमेडिसिन सेवा’ले विशेषज्ञ स्वास्थ्य सेवाका लागि पहाडी जिल्लाबाट धनगढी लगायतका ठाउँ धाउनुपर्ने बाध्यता हट्ने विश्वास समेत लिइएको छ ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयकाअनुसार प्रदेशमा अहिलेसम्म कुनै पनि अस्पतालले ‘टेलीमेडिसिन सेवा’ सञ्चालन गरेका छैनन् ।

सेती प्रादेशिक अस्पतालमा सेवा सञ्चालनका लागि बजेट विनियोजन गरिएपनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । निजी तथा सरकारी स्तरबाट प्रदेशमा ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा नभएका बेला निसर्ग हस्पिटलले थालनी गरेको हो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap