काठमाडौं १८ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेर काम थालेका छन्। देउवाले एकातिर बैठक सुचारु गर्नुपर्ने अवस्था छ भने अर्कोतिर अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बाट प्राप्त ५० करोड अमेरिकी डलरको परियोजना संसद्बाट पारित गर्नुपर्ने छ।
प्रमुख विपक्षी नेताका रूपमा देउवाले यसअघि ओलीसँग हार्दिकतापूर्ण सम्बन्ध राखेका थिए। विपक्षी नेताका रूपमा देउवाले ओलीलाई अप्ठ्यारो पारेनन्। प्रधानमन्त्रीबाट आफू हट्नुपरेका कारण सुरुआती दिनका असन्तुष्टि बाहेक ओलीका पनि देउवासँग खासै गुनासा छैनन्। ओलीको सबैभन्दा बढी आक्रोश नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छ। नेपाल र दाहाल सत्तासाझेदार भए पनि एमसिसी पारित गर्ने विषयमा देउवाका लागि ओली निकट हुन सक्छन्।
देउवाका निम्ति नेपाल र दाहाल एमसिसी पारित गर्ने विषयमा चुनौती हुन सक्छन्। तर ओलीको साथ लिन सके भने उनलाई राजनीतिक रूपमा लाभ हुने देखिएको छ। एमसिसी उपाध्यक्ष फतिमा सुमारको आगामी बिहीबारदेखि हुने नेपाल भ्रमणका क्रममा नेपाल र दाहालसँग समेत वार्ता गर्ने कार्यक्रम तय भइसकेको छ। सुमारसँग कुराकानी भइसकेपछि उनीहरू संसद्बाट एमसिसी पारित गर्ने बाटोमा जान पनि सक्छन्। तर पनि कुसूचनाले धेरै गिजोलिसकेको एमसिसी मुद्दाले पार पाउन सहज छैन।