दार्चुलामा बाढी र पहिरोका कारण करौंडो मूल्य बराबरको क्षति


लेखक : सुन्दराञ्चल      भदौ २४, २०७८ मा प्रकाशित     
दार्चुलामा बाढी र पहिरोका कारण करौंडो मूल्य बराबरको क्षति

दार्चुला, २४ भाद्र । जिल्लामा बाढी र पहिरोका कारण करौंडो मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार भदौ १३ गते आएको बाढिपहिरोका कारण तीन जनाको मृत्यु र दुई जना वेपत्ता भएका छन् ।

यस्तै केहि झोलुंगेपुल समेत बगाएका छन् । बाढीपहिरोको कारण सबैभन्दा दुहुँ गाउँपालिकामा बढी क्षती भएको छ । महाकाली नगरपालिकामा समेत ब्यापक क्षती भएको छ । बाढीपहिरोका कारण नौगाड गाउँपालिका, अपिहिमाल गाउँपालिका र मार्मा गाउँपालिकामा समेत क्षती भएको छ ।

अविरल वर्षापछि आएको बाढीपहिरोले झोलुंगेपुल समेत बगाएपछि ओहोरदोहरमा निकै समस्या भएको छ । विरामी, सुत्केरी र बृद्धबृद्धाहरु सबैभन्दा बढी मारमा परेका छन् । झोलुंगेपुल नै बगाएपछि स्थानीयहरुलाई निकै समस्या भएको छ ।

सो समस्यालाई मध्येनजर गर्दै नेपाल स्थित संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) सुदूरपश्चिम प्रदेश कार्यालयले समाज कल्याण समाज दार्चुलासंग सहकार्य गर्दै काठेपुल निर्माण गरिरहेको छ ।

समाज कल्याण समाज दार्चुलाका अध्यक्ष रघुबिर सिंह ठगुन्नाले युएनडीपीको आर्थिक सहयोगमा स्थानीय जनप्रतिनिधि र नेपालसंगको सहकार्यमा अहिलेसम्म दुहु गाउँपालिकाको नौ स्थानमा काठेपुल निर्माण गरेको बताए ।

उनले काठेपुल निर्माण पश्चात यहाँका करिब ८२५ घरघुरीलाई आवतजावतमा सहज भएको बताए । दुहु गाउँपालिकाको वडा नम्बर १ र ५ मा रहेका भलभले डडालुगाड, सिमारसुत खोला, नानीगाड खडिखान खोला, घट्टेगाउ खोला, भाडीका लागाडी खोला, बाङसेरा समैजी कालागाड खोला, कालागाड खोला, नाजाङ खोला र दुर्ला खोला गरि नौ स्थानमा काठेपुल निर्माण गरेको अध्यक्ष ठगुन्नाले बताए ।

दाचृूलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले काठेपुल निर्माण पश्चात मानिस लगायत पशु चौपायालाई समेतलाई निकै सहज भएको बताए ।

उनले विभिन्न गैरसरकारी संस्था, नेपाली सेना, नेपाल प्रहरी, सामुदायिक वन लगायतको सहयोगमा काठेपुलको निर्माण गरिएको बताउदै अहिले खाद्यान्न ढुवानी लगायत आवतजावतमा कुनै बाधा नरहेको बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap