दल विभाजन अध्यादेशविरुद्ध एमाले सचिव गोकर्ण विष्ट, ‘प्रतिगामी निर्णयको सबैले विरोध गरौं’


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
दल विभाजन अध्यादेशविरुद्ध एमाले सचिव गोकर्ण विष्ट, ‘प्रतिगामी निर्णयको सबैले विरोध गरौं’

काठमाण्डाै १ भाद्र । कपा एमालेका सचिव गोकर्ण विष्ट सरकारको दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णयविरुद्ध उत्रिएका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै सचिव विष्टले अध्यादेश ल्याउने प्रतिगामी निर्णयको सबैले विरोध गर्न आह्वान गरेका छन् । एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा रहँदै आएका सचिव विष्टले अध्यादेशको विरोध गरेर एमालेमै रहने संकेत दिएका छन् ।  विष्टले लेखेका छन्, ‘लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरीत दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ । यसले दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढंगले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्नेछ । राजनीतिक अस्थिरता, अन्योलता र अराजकता सिर्जना गर्नेछ । दलहरूप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दुःखद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले विरोध गरौं । फिर्ता लिन बाध्य पारौं ।’

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap