त्यो रात अर्को जुगेडा काण्ड हुनबाट जोगिएको कञ्चनपुरको सुन्दरनगर


लेखक : सुन्दराञ्चल      अशोज ६, २०७८ मा प्रकाशित     
त्यो रात अर्को जुगेडा काण्ड हुनबाट जोगिएको कञ्चनपुरको सुन्दरनगर

कञ्चनपुर,६ असोज – ३ कार्तिक २०७७ को राति धनगढीको अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्जसहित दुई जना प्रहरीको तस्कर समूहले विभत्स हत्या गरेर शव मोहना नदीमा फाल्यो । नेपाल–भारत सीमा नजिकै प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँद तस्करी नियन्त्रणका लागि खटिएका बेला भारततर्फ लैजाँदै गरेको केराउ रोक्न खोज्दा मारिएका थिए । उनीहरुको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेका ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने केराउ व्यापारी धरौटीमा छुटेका छन् । त्यो मुद्दाको अन्तिम फैसला हुन बाँकी छ । गत सोमबार कञ्चनपुरको सुन्दरनगर यस्तै प्रकृतिको अर्को काण्ड हुनबाट जोगिएको छ ।

के भएको थियो सोमबार राति ?

नेपाल–भारत सीमा नजिकै कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–८ मा सुन्दरनगर गाउँ छ । वारी नेपाली बस्ती र पारी भारतीय बस्ती भएको यो गाउँ पुग्न जोगबुढा नदी हुँदै जानुपर्छ । बाबाथान बजारबाट पश्चिम दक्षिणतर्फ सशस्त्र प्रहरीको बिओपी छ भने त्यहाँबाट करिब ४ किलोमिटर पूर्व दक्षिणतर्फ सुन्दरनगर पर्छ ।

सोमबार दिउँसो सशस्त्र प्रहरीको बिओपी सुन्दरनगर र पारीपट्टी रहेको भारतीय एसएसबीको बिओपीबाट खटिएका अधिकारीहरुले संयुक्त सीमा गस्ती गरेका थिए । साँझ पर्न–पर्न लाग्दा संयुक्त गस्ती सकेर उनीहरु आ–आफ्नो कार्यालय फर्किए । सशस्त्र प्रहरीको बिओपी सुन्दरनगरले चोरी तस्करी नियन्त्रणका लागि नियमित गस्ती गर्दै आएको छ ।

सोमबार साँझ पनि खाना खाएर करिब ६ बजेको समयमा सशस्त्र प्रहरीको बिओपीका इन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक मानसिंह बिष्टसहितको टोली सुन्दरनगरतर्फ हानियो । पैदल हिँडेर गएका उनीहरु त्यो क्षेत्रमा पुग्दा राति भइसकेको थियो । सुन्दरनगरस्थित सीमा नजिकै नेपाली भूमीमा एसएसबी र सशस्त्रले संयुक्त डिउटी गर्न बनाएको अस्थायी टहरामा खटिएका एसएसबीका जवानहरु पनि फर्किसकेका थिए ।

सात जनाको टोलीमा गस्तीमा निस्किएको सशस्त्र प्रहरी तीन ठाउँमा विभाजित भयो । उनीहरु तीन जनाको एउटा समूह र दुई/दुई जनाको दुई समूह छुट्टाछुट्टै स्थानमा बाँडिएर तस्करको समूहलाई ढुकेर बसे । सशस्त्र प्रहरी भारतीय मेलाघाट बजारबाट अवैध रुपमा सामान तस्करी गरेर ल्याउने मूल बाटोमै उनीहरुलाई ढुकेर बसेको थियो ।

रातिको करिब ८ बजेको समयमा ६ वटा मोटरसाइकलमा अवैध सामान बोकेर तस्करको समूह सुन्दनगर (नेपाली गाउँ) पुग्यो । चिनी, पीठो लगायतका सामान बोकेर ल्याउँदै गरेको देखेपछि सशस्त्र प्रहरी जवान सुदिप सुनार र सुनिल घिमिरेले मोटरसाइकल रोके । उनीहरुले रोकेर केरकार गर्न मात्र के खोजेका थिए, तस्करी गर्ने मध्येका अर्जुन कुमारसहितका ६/७ जनाले उनीहरुमाथि आक्रमण गरे । तर सशस्त्रका जवानले हात उठाएनन् ।

सुनारमाथि आक्रमण भइरहँदा फुत्केर भाग्न सफल घिमिरेले फोन गरेर अन्य पाँच जनालाई बोलाएपछि आक्रमणकारीहरु अवैध सामानसहित भारततिर भागे । ‘यदि त्यहाँ सशस्त्र प्रहरीले पनि एक्सन लिन खोजेको भए अर्को जुगेडा काण्ड हुने निश्चित थियो, किनकी सशस्त्र प्रहरीका दुई जवानसँग हतियार थिएन,’ स्थानीय बिरबहादुर सुनार भन्छन् । सशस्त्र प्रहरीको स्रोतकाअनुसार पनि उनीहरु दुवै जना जवानसँग घटनाका बेला निःशस्त्र थिए ।

जब सशस्त्र प्रहरीको पक्षमा राति नै गाउँ उठ्यो

हेर्दा सामान्य लाग्ने तर डिउटीमा खटिएका सशस्त्र प्रहरीमाथि तस्करको समूहले आक्रमण गर्नुलाई स्थानीयले असामान्य घटना मानेका छन् । सुरक्षाकर्मीमाथि नै हात हाल्ने समूहले सर्वसाधारणलाई बाँकी राख्ला त ? भन्ने प्रश्न सीमा क्षेत्रका स्थानीयले गर्न थालेका छन् ।

भारतीय तस्कर समूहको आक्रमणमा परेका मध्येका सशस्त्र प्रहरीका जवान सुदिप सुनार दोधाराचाँदनीकै स्थानीय हुन् । उनीमाथि तस्करको समूहले आक्रमण गरेको खबर पाउने बित्तिकै सोमबार राति सुन्दनगर गाउँका स्थानीय दशगजा क्षेत्रमा पुगेका थिए । पूरै गाउँ नै उठेर गएपछि सुरक्षाकर्मीलाई सम्हाल्नै हम्मे–हम्मे पर्‍यो ।

सुनारमाथि हात हाल्ने व्यक्तिलाई आफूहरुले चिनेकाले पारी सुन्दनगर गएर आफूहरु ल्याउने भन्दै तम्सिए । उनीहरु दशगजामा टायर बालेर प्रदर्शन गर्दै नाराबाजीमा उत्रिए ।

त्यति मात्रै भएन की भारतीय एसएसबीमाथि स्थानीयले हातपात गर्नेसम्म स्थिति सिर्जना भएपछि मालघाटबाट खटाइएका एसएसबीका इन्सपेक्टर झोक्किन थाले । नेपाली सुरक्षा अधिकारीहरुलाई स्थानीय आक्रोशित भएका बेला एसएसबीले एक्सन लिएमा अर्को ठूलो घटना निम्तिने पिर पर्यो । तर बिओपी दोधाराचाँदनीबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक किसन बोहरा र बिओपी सुन्दरनगरका सशस्त्र प्रहरी नायब निरीक्षक मानसिंह विष्टले भारतीय एसएसबीलाई संयम हुन आग्रह गरे ।

एकछिनमा पुगेको भारतीय प्रहरीले आक्रमणमा संलग्नलाई मंगलबार बिहान १० बजेसम्म नियन्त्रणमा लिएर कारवाही गर्ने प्रतिबद्धता जनाएपछि स्थानीय शान्त भएका थिए । ‘सशस्त्र प्रहरीले संयमता नअपनाएको भए भारतीय एसएसबीका कारण त्यो दिन अर्को ठूलो दुर्घटना हुने थियो,’ सशस्त्र प्रहरीका एक अधिकारीले भने ।

सीमामा सुरक्षाकर्मीमाथि किन हुन्छ पटक–पटक आक्रमण ?     

कैलालीमा तस्करको समूहले दुई जना प्रहरीको विभत्स हत्या गरेको घटना र कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि हातपात भएको घटना प्रतिनिधिमुलक मात्र हुन् । कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा सुरक्षाकर्मीमाथि पटक–पटक आक्रमणका घटना भएका उदाहरण छन् । कयौं पटक सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा क्षेत्रमा गोली नै चलाउनु परेको छ । आखिर सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीमाथि पटक–पटक आक्रमण किन हुन्छ त ?

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल यसमा चोरी, तस्करीका अतिरिक्त अन्य कारण पनि देख्छन् । ‘हामीकहाँ सीमा क्षेत्रमा बिओपी स्थापना गर्ने क्रम बढ्यो तर त्यो अनुसारको पूर्वाधार निर्माण, जनशक्ति परिचालन र सही मान्छे नखटाउँदा चोरी तस्करीको समस्या बढ्यो,’ मल्ल भन्छन् ।

हाल नेपालबाट भारततर्फ तस्करी हुने सुपारी, मरिच, केराउ जस्ता वस्तु राज्यले आवश्यकता भन्दा बढी आयात गर्नु तस्करीलाई प्रोत्साहन गरेसरह हुने उनी ठान्छन् । ‘यस्ता वस्तुहरु आवश्यकता भन्दा बढी आयात गरेर राज्यले नै तस्करीलाई प्रोत्साहन गरिरहेको छ भन्ने मलाई छ,’ उनले भने, ‘तस्करी नियन्त्रण गर्न अब सरकारले नीतिगत रुपमै लाग्नुपर्ने देखिन्छ । नभएसम्म सीमा क्षेत्रमा समस्या समाधान हुँदैन ।’

                                                                                                                                            अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap