‘तपाईँको मास्क खै अभियान’ किन ?


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
‘तपाईँको मास्क खै अभियान’ किन ?

काठमाडौँ २ भाद्र । तपाइको मास्क खै ?  सडकमा उभिएका ट्राफिक प्रहरीले भिरेको रिवनमा यही लेखेको हामीले देख्छौँ । केही प्रहरीको हातमा ‘तपाईँको मास्क खै ?’ लेखेको प्ले कार्ड हुन्छ ।

कोभिड–१९ (कोरोना भाइरस)प्रतिको डर शुरु–शुरुमा मानिसहरुमा जुन तहमा थियो, अहिले हराउँदै गएको देखिन्छ । त्यही डर हराएर होला संक्रमण बढिरहँदा मानिसहरु मास्कविनै सडकमा हिँडिरहेको देख्न सकिन्छ ।

कोरोना संक्रमणविरुद्ध लड्न जनचेतना बृद्धि गर्ने हिसाबले यो महत्वपूर्ण कदम हो । तर किन यति ढिलोगरी शुरु गरियो ? आममानिसको प्रश्न यहाँनिर छ ।

मास्कविनै मानिसहरू सडकमा हिड्न थालेपछि मास्क अभियानको थालनी गरेको नेपाल प्रहरीको दावी छ ।

यस अभियानअन्तर्गत मास्कसम्बन्धी चेतना फैलाउन प्लेकार्ड, गाडीमा स्टिकर टाँस्ने र ट्राफिक जवानको शरीरमा फित्ता लगाएर नागरिकलाई जागरुक बनाउने प्रहरीको लक्ष्य छ ।

२५ साउनदेखि उपत्यकाका ४४ ट्राफिक कार्यालयका नौ सय ट्राफिक प्रहरीले ड्युटी समयमा अनिवार्य रिबन प्रयोगमा ल्याउँदै आएका छन् ।

सँगै अर्को प्रश्न पनि उठ्छ, संघीय राजधानीदेखि बाहिरी जिल्लासम्म यो अभियान प्रभावकारी छ त ? वा, नागरिक यसबाट प्रभावित भइरहेका छन् त ?

राजधानीमा मात्र करिब नौ सय ट्राफिक प्रहरी हरेकदिन तपार्इँको मास्क खै भनेर सडकमा उभिएका हुन्छन् । त्यही छेउबाट यात्रु बोकेर हिडिरहेको सार्वजनिक यातायातको साधनमा भने मास्कविनै यात्रा गरिरहेको देखिन्छ ।

त्यसैले, प्रहरीको मास्क खै अभियान ट्राफिक प्रहरीको सडक यात्रामा मात्र सीमित हुँदै पो हो कि ?  बसमा होस् वा गल्ली, कयौँ पैदलयात्रीहरुले मास्क लगाएको पाइन्न ।  लगाए पनि आधाउधी मात्रै लगाएको देखिन्छ ।

करिब एक वर्षअघि कोरोनाको पहिलो लहरदेखि नै लाखौँ खर्चेर सुरु गरेको ‘तपाईँको मास्क खै’ अभियान असफल भएको दोस्रो लहरमा कोभिड संक्रमणबाट ज्यान गुमाउनेहरुको तथ्यांकले देखाउँछ । यदि, यो कार्यक्रम सफल भएको भए दोस्रो लहर नै नआउने जनस्वास्थ्यविद्हरूको तर्क छ ।

जनस्वास्थ्यविद् डा.शेरबहादुर पुन मास्क खै  अभियान मानिसलाई सचेतना गर्न मात्रै सरकारले ल्याएको बताउँछन् । उनी भन्छन्, ‘यसको खासै प्रभाव हुँदैन । देखाउन मात्रै यो अभियान लागु गरिएको हो ।’

जबसम्म जनता आफैँ सचेत हुँदैनन् तबसम्म यस्ता अभियानको औचित्य नहुने उनको भनाइ छ ।

तर, नेपाल मास्क अभियान अहिले झन् प्रभावकारी बनेको नेपाल प्रहरीका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीवदास शर्माको दावी छ । तर, यो दावी गर्न उनीसँग कुनै पनि तथ्यांकको आधार नदिएको विज्ञहरुको भनाइ छ ।

यो अभियान संचालन गर्ने बजेटको प्रबन्ध नेपाल प्रहरीले गर्ने प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । नेपाल प्रहरीले आफ्नो आन्तरिक बजेटबाट मास्क किन्ने गरेको उनको भनाइ छ ।

‘हामीले प्रहरीको आन्तरिक बजेटबाट यो अभियान संचालन गरेका छौँ’, उनले भने, ‘अन्य संघसंस्था र सरकारका अन्य निकायबाट प्राप्त भएको मास्कलाई वितरण गर्ने गरेका छौँ ।’

जनस्वास्थ्यविद्  डा. शेरबहादुर पुन मास्क खै  अभियान मानिसलाई सचेतना गर्न मात्रै सरकारले ल्याएको बताउँछन् ।

उनका अनुसार नेपाल प्रहरीले प्रत्येक दिन २० देखि ५० हजारसम्म मास्क वितरण गर्ने गरेको छ । ३० हजारभन्दा बढी सचेतानामुलक कार्यक्रम गरेको छ ।  अभियान सुरु भएदेखि हालसम्म करिब आठ लाख मास्क वितरण गरिसकिएको छ । यसमा प्रहरीले आन्तरिक रुपमै बजेट व्यवस्थापन गरेर पर्चा छपाउनेदेखि अभियान सञ्चालन गर्ने गरेको छ ।

प्रवक्ता कुँवरले यो अभियान कुन बजेटअन्तर्गत दैनिक कति खर्च हुन्छ भन्ने खर्च विवरण भने दिन नसकिने जनाए ।

के यो साँच्चिकै प्रभावकारी छ त  ?  

‘तपाईँको मास्क खै ?’ अभियान मास्क वितरण मात्रै होइन । प्रहरीले मास्क लगाउन अटेर गर्नेलाई कारवाही पनि गरिरहेको छ । कारवाहीबाट मात्रै हालसम्म ४२ देखि ४३ लाख राजश्व सञ्चालन गरिसकेको प्रवक्ता कुँवर बताउँछन् ।  यो अभियान त राजश्व संकलन गर्ने अभियान पनि भएछ नि त ? भन्ने प्रश्नमा उनको उत्तर छ, ‘हाम्रो उदेश्य  राजश्व संकलन गर्नेभन्दा पनि मास्क लगाउनुपर्छ है भन्ने सन्देश दिनु हो । तर स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ भन्दाभन्दै पनि पालना नगर्ने, लापरवाही गर्नेहरूलाई त सजाय दिनै प¥यो नि !’

जनचेतनाका लागि सडकमा ब्यानर, पोस्टर टाँसिएको छ त्यो हेरेर र बुझेर जनता आफैँ सुरक्षित हुने प्रवक्ता कुँवरको विश्वास छ ।
‘हाम्रा अगाडि हुँदा मास्क लगाउने त्यसपछि फुकाल्ने ग¥यो भने त हामीले के नै गर्न सक्छौँ र  ?  प्रत्येक नागरिक आफैँ जिम्मेवार बन्नुपर्छ’, उनी भन्छन् ।

अभियान देशभर ‘चर्चित’ 

संगठनमा मात्रै नभई सर्वसाधारणलाई पनि मास्क लगाइदिने यो अभियान मुलुकका विभिन्न जिल्लामा प्रहरीदेखि जनसमूदायसम्मले गरिरहेका छन् ।

मास्क नलगाइ यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि जिल्ला प्रहरी कार्यालय भोजपुर, रामेछाप, गोरखा, काभ्रे, गुल्मी खोटाङ, पोखरालगायतमा स्थानमा यो अभियान धमाधम सञ्चालनमा छन् ।

यी जिल्लाहरूमा जिल्ला जनस्वास्थ्य कार्यलय, रेडक्रस सोसाइटी, प्रहरी, वडा, जिल्ला प्रशासन कार्यलयकै समन्वयमा सचेतना कार्यक्रम हुने गरिउको छ । तर, यो कार्यक्रम गरेपछि कति मास्क बाडिँयो भन्नेबाहेक कति मानिस सचेत भएभन्ने कुराको रेकर्ड राखिँदैन ।

यद्यपि, यो अभियानमा घुम्दा धेरैजसोले मास्क लगाएको पाएको पनौती नगर प्रमुख भीम न्यौपाने बताउँछन् ।

बनेपाका प्रहरी निरीक्षक राजन कोइराला भने चालक–सहचालकसहित यात्रुले पनि मास्क नलगाएको भेटिएको बताउँछन् ।

उता गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पनि कोरोनाको दोस्रो लहरबाट प्रभावित पारिरहेको बेला फेरि तेस्रो लहरको फैलिन सक्ने भन्दै जिल्लामा मास्क लगाउन कडाइ गर्दै ‘तपाईको मास्क खै’ अभियान चलाइएको बताइन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap