काठमाडौं
डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन हरेक कुरामा छिटो छिटो देखिएको छ।अर्थात् हाल सङ्क्रमण पुष्टि भएकाहरूको अनुभव सुन्ने हो भने अधिकांशमा छिटो फैलिएको, छिटो लक्षण देखिएको र छिटो सुधार देखिन्छ।ओमिक्रोन प्रभावित देशहरूको तथ्याङ्कलाई हेर्ने हो भने अघिल्लो लहरहरू भन्दा छिटो नै तल ओर्लिएको देखिन्छ।त्यसैले शायद नेपालमा पनि अबको केही दिनमा ओमिक्रोनको लहर ओर्लिने प्रक्षेपण गर्न सकिन्छ।यद्यपि, भाइरस कसरी अगाडी बढ्छ भनेर हेर्न भने बाकी नै छ।ओमिक्रोनको सबै भन्दा फरक विशेषता भनेको नै हालसम्मको “भेरियन्ट अफ कन्सर्न” अन्तर्गतका कोरोना भाइरसहरू भन्दा तीव्र गतिमा फैलन सक्नु मानिन्छ । विश्व स्वास्थ्य संगठनले ८९ देशहरूमा फैलिएको ओमिक्रोनको विश्लेषणबाट १ देखि ३ दिनमा सङ्क्रमणको सङ्ख्यामा दोब्बरले बढ्दै जाने तथ्य सार्वजनिक गरेको थियो। हङकङ विश्वविद्यालयले गरेको प्रयोगशाला अनुसन्धानले पनि ओमिक्रोन भेरियन्ट डेल्टाको तुलनामा श्वास-प्रश्वास प्रणालीको माथिल्लो भागमा ७० गुणा बढी तीव्र गतिमा फैलन (सङ्ख्यात्मक वृद्धि) सक्ने देखाएको थियो ।
थप अरू अध्ययनहरूले पनि ओमिक्रोन तीव्र गतिमा फैलन सक्ने क्षमता विकास गरेको देखाएका छन् । विभिन्न देशहरूको तथ्यांकहरूलाई केलाएर हेर्ने हो भने पनि यो ओमिक्रोन बिजुली गतिमा उत्कर्षमा पुगेको देखिन्छ । नेपालमा पनि पछिल्लो दुई लहरहरू भन्दा यो लहर छोटो समयमा तीव्र गतिमा उकालो लागिरहेको देख्न सकिन्छ । यी तथ्याङ्कहरूले पनि ओमिक्रोनले फैलावटलाई तीव्रता दिन सक्ने क्षमता सहित विकास भएको देख्न सकिन्छ।
ओमिक्रोन प्रभावित देशहरूमा लहरको ट्रेन्ड हेर्दा पनि छोटो देखिन्छ । दक्षिण अफ्रिका, बेलायत, फ्रान्स तथा भारतका केही प्रान्तहरूको लहरको अवस्था हेर्दा झन्डै ३-४ हप्तामा उत्कर्षमा पुगेर मत्थर हुँदै गएको देखिन्छ । अर्थात् ओमिक्रोनको लहर अघिल्लो लहरहरूको भन्दा छिटो शिथिल भएको देखिन्छ । हाल नेपालमा पनि ओमिक्रोनले उत्कर्षको बाटो पहिल्याउँदै गर्दा अबको केही दिनमा शिथिल हुन् सक्ने अनुमान गर्न सकिन्छ। यद्यपि त्यस्तै खाले ट्रेन्ड देखिने/नदेखिने अवस्था हेर्न भने केही दिन धैर्य गर्नुपर्ने हुन्छ।
अन्तमा, हालसम्म ओमिक्रोनको हर्कतको अनुभवलाई विश्लेषण गर्दा अघिल्लो भेरियन्टहरू भन्दा छिटो फैलने, छिटो लक्षण देखिने र छिटो सुधार हुने भेरियन्टको रूपमा प्रस्तुत भएको देखिन्छ। युद्धस्तरमा हाल भैरहेको अनुसन्धानहरूले आगामी दिनहरूमा ओमिक्रोन बारे थप तथ्यहरू भने ल्याउने नै छन्।रातोपाटी