जेष्ठ १८, कैलालीको टीकापुरमा तापक्रम मापन गर्न थालेयताको ४८ वर्षमा सबैभन्दा उच्च ४५.२ डिग्री सेल्सियस पुगेको छ । बुधबार देशभरमै सबैभन्दा बढी ४३.५ डिग्री मापन भएको टीकापुरमा एकैदिन १.६ ले उकालो लागेर सोही स्टेसनका लागि अहिलेसम्मको रेकर्ड ब्रेक भएको हो ।
टीकापुरमा २४ मार्च १९७६ देखि तापक्रमको रेकर्ड राख्न थालेयता सबैभन्दा बढी १३ र १४ जुन ०१२ मा ४५ डिग्री पुगेको थियो, जुन टीकापुरका लागि रेकर्ड ब्रेक तापक्रम थियो । तर, बिहीबार उक्त रेकर्ड पनि ब्रेक भएको हो । नेपालमा सबैभन्दा धेरै अधिकतम तापक्रम १६ जुन १९९५ मा धनगढीमा ४६.४ डिग्री मापन भएको थियो । बिहीबार टीकापुरपछि धेरै तापक्रम मापन भएको क्षेत्र नेपालगन्ज हो । नेपालगन्जमा पनि १२ वर्षयताकै उच्च तापक्रम ४.।२ पुगेको छ । नेपालगन्जमा १४ जुन, २०१२ मा ४५ डिग्री मापन भएको थियो । बुधबार नेपालगन्जको तापक्रम ४२. ८ पुगेको थियो । गत वर्ष नेपालगन्जमा सबैभन्दा बढी ३० मे ०२३ मा ३९ डिग्री मात्र पुगेको थियो । धनगढीको तापक्रम पनि ४४.१ डिग्री पुगेको छ, जुन १२ वर्षयताकै उच्च हो । यहाँ बुधबार ४३.३ डिग्री पुगेको थियो । भैरहवामा बिहीबार दिउँसो बादल लाग्दा तापक्रम ३९.४ डिग्री मापन भएको छ । तर, न्यूनतम तापक्रम भने ३०.५ डिग्री रह्यो । पश्चिममा तराई मात्र होइन, उपत्यकामा पनि तापक्रम उच्च छ । बिहीबार सुर्खेतको अधिकतम तापक्रम ४१ र घोराहीको ४०.२ डिग्री पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागको भैरहवा कार्यालयका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार भारतको राजस्थान, दिल्ली क्षेत्रको तातो हावा धनगढी, टीकापुर, नेपालगन्ज क्षेत्रमा पुगेको छ, यसले तापक्रम बढाउन अझ मद्दत गरेको हो । ‘पूर्वमा बादल र केही पानी पर्दा हल्का राहत भएको छ, तर रुपन्देही, कपिलवस्तुदेखि पश्चिम तराईमा तातो हावा चलिरहेको छ, बादल पनि छैन,’ पौडेलले भने ।
वर्षा नहुँदा उकालो लागेको पश्चिम तराईको तापक्रम तत्काल नघट्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार तराई क्षेत्रमा लुम्बिनीको पश्चिमी क्षेत्र र सुदूरपश्चिममा वर्षा गराउने उल्लेख्य प्रणाली नभएकाले तापक्रम बढिरहेको हो । ‘तापक्रम घट्न पानी पर्नुपर्ने हुन्छ, त्यस क्षेत्रमा वर्षाको सम्भावना पनि छैन,’ उनले भने । मौसमविद्हरूका अनुसार आइतबार कैलाली, कञ्चनपुर क्षेत्रमा बादल लाग्न सक्छ । तर, वर्षा गराइहाल्ने प्रणाली भित्रिएको छैन । तर, भारतमा बिहार क्षेत्रमा बनेको न्यूनचापीय प्रणाली र स्थानीय वायुका कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा बादल लाग्ने गरेको छ । केही क्षेत्रमा भने साँझपख वर्षाको सम्भावना रहेको मौसमविद् झाले बताए ।