टाठाबाठाको ‘सिण्डिकेट’ भयो सहकारी : सर्वसाधारण लुटिने क्रम बढ्दै


लेखक : सुन्दराञ्चल      भदौ २८, २०७८ मा प्रकाशित     
टाठाबाठाको ‘सिण्डिकेट’ भयो सहकारी : सर्वसाधारण लुटिने क्रम बढ्दै

२८ भदौ, काठमाडौं । बागबजारमा व्यवसाय गर्दै आएकी रामकुमारी श्रेष्ठले डेढ वर्ष पहिले आफ्नो अंशमा परेको जग्गा बिक्री गरिन् । जग्गा बिक्रीबाट १० लाख रुपैयाँ हात परेपछि उनले ऋण थपेर कतै घडेरी किन्ने योजना बनाइन् । १० लाख रुपैयाँले काठमाडौं उपत्यकामा राम्रो ठाउँमा जग्गा पाउन मुश्किल थियो ।

उनले तत्कालै जग्गा किन्न सकिनन् । अंश बेचेर आएको १० लाख रुपैयाँ उनीसँग छ भन्ने छिमेकी पसलेलाई पनि जानकारी थियो । २०७६ साल फागुनमा मोरङ उर्लाबारी–७ का अर्जुन खनालले पनि यो कुरा थाहा पाए । खनाल बागबजारमै रहेको मानापाथी ट्रिपल एम बहुउद्देश्यीय सहकारी संस्थाको सचिव थिए । उनकी श्रीमती चाहिं बागबजारमा व्यापार गर्थिन् ।

रामकुमारीका अनुसार, खनालले आफ्नो सहकारीबाट जग्गा किन्न जति पनि ऋण दिन सक्ने आश्वासन दिए । जग्गा बैना गर्दै गरौंला भन्दै उनले त्यो १० लाख रुपैयाँ सहकारीमा राख्न आग्रह गरे । सहकारीले तत्काल १३ प्रतिशत ब्याज दिने, ६ महीनापछि जग्गा किन्न सस्तो ब्याजदरमा ऋण पनि दिनसक्ने भनेपछि लोभिएर रामकुमारीले आफ्नो पैसा त्यो सहकारीमा राखिन् ।

तर, ६ महीनाका लागि भनेर पैसा राखेको डेढ वर्ष नाघिसक्यो । अहिलेसम्म उनले आफ्नो पैसा निकाल्न सकेकी छैनन् । जग्गा किन्ने योजना बनाएकी रामकुमारी अहिले सहकारी विभाग र प्रहरी कार्यालय धाउँदै हैरान छिन् ।

प्रभावकारी नियमनको अभाव, टाठाबाठाको ‘सिण्डिकेट’ र गलत क्षेत्रमा लगानी जस्ता कारणले मुलुकका सहकारीमा रहेको सदस्यहरूको बचत असुरक्षित बन्दैछ । त्यसमा पनि कतिपय सञ्चालकको बदनियतपूर्ण व्यवहारले सर्वसाधारण लुटिइरहेका छन् ।

अहिले मानापाथी ट्रिपल एम बहुउद्देश्यीय सहकारी संस्था पुरानो ठाउँबाट सरेको छ । घरबेटीको भाडा समेत तिर्न नसकेर भागेको सो सहकारीले अहिले डिल्लीबजारको एउटा घरमा साइनबोर्ड राखेको भेटियो ।

तर त्यहाँ संस्थाका कोही पदाधिकारी भेटिएनन् । खनालसँग पटक–पटक सम्पर्क गर्ने हाम्रो प्रयास पनि सफल भएन ।

रामकुमारीले काठमाडौं महानगरपालिकाको सहकारी विभागमा उजुरी गरेकी छन् । विभागकी उपनिर्देशक विमला कोइरालाका अनुसार, मानापाथी विरुद्ध उनी जस्ता धेरैको उजुरी छ यहाँ ।

विभागले पटक–पटक सहकारीलाई सम्पर्क गर्ने प्रयास गरेको छ । ‘सहजै सम्पर्क हुन गाह्रो भयो, सम्पर्क पछि पनि समाधान गर्नेतर्फ संस्थाले सक्रियता देखाएको छैन’, उपनिर्देशक कोइराला भन्छिन् ।

पटक–पटक सम्पर्क प्रयास गर्दा पनि पैसा फिर्ता गराउन नसकेपछि विभागले पक्राउ गरी कारबाही गर्न महानगरीय प्रहरी परिसर, टेकूलाई २२ साउन २०७८ मा पत्राचार गरेको छ ।

आफैं पत्र बोकेर रामकुमारी प्रहरी कार्यालय टेकू पुगिन् । प्रहरीले नजिकको प्रहरी कार्यालयमा उजुरी दिंदा कारबाही प्रक्रिया सहज हुन्छ भनेर अनामनगरमा रहेको महानगरीय प्रहरी वृत्त, सिंहदरबार पठाएको छ ।

‘म त्यहाँ पुगेपछि पो छक्क परें, मभन्दा अघि नै मानापाथी सहकारीबाट ठगिएकाहरूको त ठूलो फाइल नै बनिसकेको रहेछ’, रामकुमारी भन्छिन् ।

यो प्रक्रिया चल्दै गर्दा पनि उनले पटक–पटक संस्थाका सचिव खनाललाई टेलिफोन सम्पर्क गरेकी थिइन् । रामकुमारीका भनाइमा, खनाल हत्तपत्त फोन उठाउँदैनन् । उठाइहाले भने ‘हामी मिलाउँदैछौं, तपाईंहरूको पैसा आउँछ’ मात्रै भन्छन् । तर कहिले आउने हो पत्तो छैन । अब एक महीना पर्खने र त्यतिबेलासम्म भएन भने मुद्दामा जाने तयारीमा छिन् रामकुमारी ।

महानगरपालिकाको सहकारी विभागमा मात्रै मानापाथी सहकारी विरुद्ध २० जनाले उजुरी गरेका छन् । गएको आर्थिक वर्ष मात्रै यो सहकारीले ९१ लाख २४ हजार १२२ रुपैयाँ सर्वसाधारणको बचत उठाएर बिल्लीबाठ पारेको उजुरी विवरणबाट देखिन्छ । ब्याजसमेत जोड्दा यो रकम झण्डै डेढ करोड रुपैयाँ हुन आउँछ ।

रामकुमारी श्रेष्ठको यो दृष्टान्तले भन्छ– सहकारीमा सदस्यहरूको बचत माथि हदैसम्मको ठगी छ ।

****

आफ्नो बचत झिक्न नपाएर डिल्लीबजारमा व्यवसाय गरिरहेकी सरस्वती कटुवाल दुई वर्षदेखि तनावमा छिन् । डिल्लीबजारमै रहेको अक्समोसिस बचत तथा ऋण सहकारी संस्थामा उनले दैनिक रूपमा रकम जम्मा गर्ने गरेकी थिइन् ।

सहकारीकी प्रतिनिधि हरेक दिन उनको पसलमा पुग्थिन् । दैनिक एक सय/दुई सय गर्दै उनले रकम जम्मा गर्दै गइन् । लगातार दुई वर्ष संस्थामा बचत गरिन् । गत वर्ष कोरोना संक्रमणको त्रास सँगै देशमा लकडाउन भयो ।

आम्दानीको स्रोत गुमेपछि पारिवारिक खर्च जुटाउन उनले आफूले राखेको रकम निकाल्न सहकारीमा सम्पर्क गरिन् । दुई वर्षसम्म जम्मा गरेको रकम एक लाख रुपैयाँ नाघिसकेको थियो ।

सहकारीले एकै पटक रकम नलान सुझाव दियो । थोर बहुत भए पनि लिन आउँछु भनेर उनले त्यहाँको कर्मचारीलाई टेलिफोन गरिन् । पहिले पहिले सहकारीका कर्मचारीले केही दिनपछि रकम दिने भने । तर समय वित्दै जाँदा थाहा भयो, सहकारीको कार्यालय नै सरिसकेछ ।

पछि उनले संस्थाको नयाँ कार्यालय पत्ता लगाइन् । तर सहकारीले पैसा दिएन । संस्थाका म्यानेजर मोबाइल अफ गरेर बसे । कोरोना महामारीको झमेला दुःख गरेर झेलिन्, छोरीको विवाह दुःख गरेर गरिन् तर अहिलेसम्म पनि उनले त्यो पैसा पाएकी छैनन् ।

****

काठमाडौंमा सडक किनारामा मकै पोलेर जीविका चलाउँदै आएकी एक महिलाले वर्षौंदेखि नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्थामा आफनो कमाइ जम्मा गर्दै आएकी थिइन् । श्रीमान्ले छाडेपछि एक छोरीलाई हुर्काउँदै मकै पोलेर जीवन निर्वाह गर्दै आएकी उनी दैनिक थोरै–थोरै रकम जम्मा गर्थिन् । वर्षौंको उनको यो संघर्षले राम्रै पैसा जम्मा भयो, छोरी पनि हुर्किइन् ।

छोरी कलेज पढ्ने भएपछि उनलाई पैसा चाहियो । वर्षौं लगाएर जम्मा गरेको पैसा सावाँ–ब्याज गरेर ८ लाख रुपैयाँ नाघिसकेको थियो । त्यही पैसाले छोरी पनि पढाउने र जीविका पनि धान्ने सोचेर पैसा निकाल्न उनी एक दिन सहकारी संस्थामा पुगिन् ।

त्यहाँ पुग्दा थाहा भयो सहकारी त बन्द भइसकेछ । २४ करोड रुपैयाँ सर्वसाधारणको लिएर सहकारीका सञ्चालक नै फरार भएछन् । सहकारी विभाग बानेश्वरमा न्याय माग्न पटक–पटक धाए पनि उनले अहिलेसम्म पैसा फिर्ता पाउन सकेकी छैनन् ।

****

काठमाडौं, काँडाघारीमा रहेको जाल्पाश्वरी बचत तथा ऋण सहकारी संस्था घाटामा गयो । कतिले निक्षेप फिर्ता पाए, कतिले चाँडै फिर्ता पाउने म्याद मात्रै पाए । कारण थियो– संस्थाले जग्गा किन्यो र संस्थाका सञ्चालक समितिका सचिवका नाममा पास गर्‍यो ।

सहकारीको पैसाले किनेको जग्गा व्यक्तिका नाममा राख्नुको कारण थियो– नाफा कमाएर बेच्ने । संस्थाको नाममा राखे बिक्री गर्न समस्या हुने भन्दै सचिवका नाममा लालपुर्जा बनाइएको थियो । तर, सचिव बिरामी भए र थलिए । न जग्गा बिक्री भयो, न उनले जग्गा पास गरिदिए । संस्थाको पूँजी जग्गामा परेपछि संस्था पनि थलियो । निक्षेप राख्ने सर्वसाधारण समस्यामा परे ।

यो संस्थाको तत्कालीन कार्यसमिति विघटन भएर अहिले नयाँ कार्यसमिति बनेको छ । तर नियामक निकाय कागेश्वरी मनोहरा नगरपालिकाको सहकारी शाखामा पछिल्लो अवस्थाबारे अपडेट छैन । शाखाका प्रमुख मकरध्वज केसी समयमै अपडेट गराउन टेलिफोनबाट जानकारी गराएको बताउँछन् ।

एकै नगरमा ४४ करोड ठगीका उजुरी

काठमाडौं महानगरपालिकामा मात्रै गत आर्थिक वर्षमा सहकारी संस्थाबाट १४०० भन्दा धेरै पीडित बनेका छन् । उनीहरूले महानगरको सहकारी विभागमा उजुरी गरेका छन् । उनीहरूले ठगी भयो भनेको रकम सावाँ–ब्याज मात्रै ४४ करोड रुपैयाँ हाराहारी छ ।

यसमध्ये पनि शाखाको अग्रसरतामा केहीले न्याय पाएका छन् । तर धेरैले आफ्नो रकम अझै पाउन सकेका छैनन् । यसरी आफू ठगिएको भनेर २७ सहकारीका नाममा एक हजार ६१ जनाले उजुरी गरेका थिए ।

सहकारीले रकम नतिरेपछि ठगी मुद्दामा कारबाही गर्न प्रहरीलाई पत्राचार गरिएको छ । ठगी गर्नेको शीर्ष स्थानमा आनन्दनगर बचत तथा ऋण सहकारी संस्था छ । यो संस्थाले एक हजार ५४ जनाको १४ करोड ६० लाख ८६ हजार ९८७ रुपैयाँ ठगी गरेको देखिन्छ ।

न्यूरोडको ओम बटु बचत तथा ऋण सहकारी संस्थाले ६ करोड ८१ लाख ८७ हजार रुपैयाँ सर्वसाधारणको रकम लिएर बेपत्ता भएको महानगरको अभिलेखमा देखिन्छ । न्यूरोडकै बिजनेश बचत तथा ऋण सहकारी संस्थाले २ करोड ५८ लाख ८० हजार रुपैयाँ लिएर बेपत्ता भएको छ ।

महानगरको सहकारी विभागकी उपनिर्देशक कोइराला कार्यालयमा उजुरीका चाङ नै रहेको बताउँछिन् । सहकारीका सञ्चालकहरू सामान्यतया तीन किसिमका हुने उनको अनुभव छ । कोही संस्थामा उजुरी परेपछि सम्पर्कमा आउँछन् । आफूहरूले पैसा तिर्न नसक्नुको कारण स्पष्ट बताउँछन् ।

केही चाहिं समय माग्छन्, त्यो समयमा नसके पुनः समय थप माग्छन् । यसरी समय माग्नेमा कोही साँच्चिकै इमानदार पनि हुन्छन् । तर कोही भने पैसा तिर्नका लागि केही समय माग्ने र त्यो समय पूरा भएपछि मोबाइल ‘स्विच अफ’ गर्ने खालका पनि हुन्छन् । तेस्रो प्रकारका सञ्चालकहरू निक्षेप संकलन गर्दादेखि नै गलत मनसायका हुने कोइराला बताउँछिन् ।

कोइरालाका अनुसार, उजुरी परिसकेपछि महानगरको विभागमा बोलाएर छलफल गर्ने र रकम फिर्ता दिन निर्देशन दिने गरिएको छ । तर कोही सम्पर्कमै नआउने र सम्पर्कमा आएकाहरूले पनि रकम फिर्ता गर्न नमाने आवश्यक कारबाहीका लागि महानगरले महानगरीय प्रहरी परिसर, काठमाडौंमा लेखी पठाउने गरेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap