काठमाडौँ — तमिलनाडुकी मुख्यमन्त्री जयललिता आफ्नो बायोपिकमा अभिनेत्री ऐश्वर्य राय बच्चनले अभिनय गरुन् भन्ने चाहन्थिन् । एक अन्तर्वार्तामा आफूमाथि बायोपिक बनाउँदा कुन अभिनेत्री सुहाउला भन्ने प्रश्नमा उनले ऐश्वर्यको नाम लिएकी थिइन् ।
सन् १९९९ मा सिमी गेरेवालसँगको अन्तरवार्ताका क्रममा ललितालाई उक्त प्रश्न सोधिएको थियो ।
के उनको बायोपिकमा ऐश्वर्य देखिँदैछन् त ?
जयललितामाथिको बायोपिकमा अभिनेत्री कंगना रनावत देखिँदैछन् । विजयले निर्देशन गरेको फिल्मको केही समय अगाडि ट्रेलर सार्वजनिक गरिएको थियो । फिल्मको नाम हो, थलाइवी । अभिनयबाट राजनीतिमा मोडिएकी राजनीतिज्ञ जयललिताको भूमिकामा कंगनाले अभिनय गरेकी हुन् । अप्रिलमा फिल्मको प्रदर्शन गर्ने तयारी थियो । तर कोरोना महामारीले फिल्मको प्रदर्शन रोकियो ।
जयललिता आफूमाथि फिल्म बनोस् भन्ने चाहन्नथिन् । तर जब सिमीले उनलाई बायोपिकमा अभिनय गर्ने अभिनेत्रीको नाम सोधिन् । उनले ऐश्वर्यको नाम लिएको द हिन्दुस्तान टाइम्समा उल्लेख छ । ‘मलाई लाग्छ मेरो कम उमेरको भूमिका गर्न ऐश्वर्यलाई सुहाउँछ । तर मलाई अहिले र भविष्यमा जस्तो देखिन्छु त्यसको भूमिका निभाउन अलि गाह्रो पर्ला,’ उनले अन्तर्वार्तामा भनेकी थिइन् ।
यो अन्तर्वार्ता भएको २० वर्षपछि कंगनाले जयललिताको जीवनीमाथि फिल्म बनाउने घोषणा गरेकी हुन् । सन् २०१६ मा जयललिताको निधन भएको थियो ।