बझाङ ७ असाेज । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा बझाङको जयपृथ्वी नगरपालिकाको नगर सभापतिमा त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ । नगर सभापतिमा हिरेन्द्र छत्याल, डम्बरबहादुर सिंह र खगेन्द्र खड्का बीच कडा प्रतिष्पर्धा हुने भएको हो ।
काँग्रेसले जिल्लाका सबै वडामा सहमतिको आधारमा अधिवेशन सम्पन्न गरी सकेको भएपनि लामो समयसम्म काँग्रेसका अग्रज नेताहरुले सर्वसम्मत अधिवेशन गर्न खोजे पनि सहमति हुन सकेको छैन । पार्टीको नगर नेतृत्व चयनका लागि काँग्रेसमा क्षेत्रीय प्रतिनिधिहरुले नै मतदानमा सहभागी हुन पाउँने प्रावधान रहेको छ । जयपृथ्वी नगरपालिकाको नगर सभापतिका आकांक्षी छत्यालले दोहो-याउन चाहेका हुन भने सिंहले नगर कोषाध्यक्ष पदबाट सभापति पदमा दाबी गरेका हुन ।
त्यस्तै खड्का नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको जिल्ला सचिव पदबाट नगर सभापतिमा रहेर काम गर्न इच्छुक देखिएका हुन । काँग्रेसलाई चलायमान बनाउन, आगामी निर्वाचनमा काँग्रेसलाई बिजय गराउन र गुटबन्दीको अन्त्य गर्न नै आफ्नो नगर सभापतिमा उम्मेदवारी रहेको खगेन्द्र खड्काले बताए ।
उनले अन्य उम्मेदवारहरू सँग १ मतले भएपनि विजयी हुने दाबी गरे । जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा असोज ९ गते बाट अधिवेशन हुदैछ । ‘राम्रो काँग्रेस, हाम्रो काँग्रेस’ बनाउन काँग्रेसलाई अनुशासित र व्यवस्थित बनाउन, काँग्रेसलाई गतिशिल बनाउन र सहमती सहकार्य र एकताका साथ अगाडि बढ्नका निमित्त नगर सभापतिमा आफ्नो उम्मेदवारी रहेको डम्बर बहादुर सिंहले बताए ।
नगरमा ७५ प्रतिशत मतदाता आफ्नो पक्षमा रहेको अवगत गराउँदै १२० मत भन्दा माथि मत हासिल गरेर विजयी हुने जिकिर गरे । काँग्रेसको जिल्ला अधिवेशन चलिरहँदा सदरमुकाम चैनपुरमा नेपाली काँग्रेस निकट कार्यकर्ताहरूको भिडभाड भने निकै बढेको देखिन्छ ।
गुटबन्दीको अन्त्य गर्न र काँग्रेसको संगठन चुस्त र दुरुस्त बनाउन आफ्नो उम्मेदवारी रहेको हिरेन्द्र छत्यालले बताए । आफू नेपाली काँग्रेसका लागि गरेको योगदान सम्झेर मतदाताहरूले जयपृथ्वी नगरपालिकाको नगर सभापतिमा विजयी गराउने उनले दावी गरे ।
जिल्लामा जयपृथ्वी नगरपालिकाको नगर सभापतिमा दाबी गरिरहेका उम्मेदवार हिरेन्द्र छत्याल पनि पूर्व राज्यमन्त्री अर्जुनजंग बहादुर सिंह निकट मानिन्छन् भने डम्बर बहादुर सिंह पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंह निकट मानिन्छन् । त्यस्तै खगेन्द्र खडका संविधान सभा सदस्य चन्द्रा जोशी निकट रहेको काँग्रेसका जिल्ला स्तरका नेताहरुको भनाइ छ ।
Related