पुष २५ धेरैजसो घरमा पारिवारिक जमघट, चाडपर्वमा भोज खाने गरिन्छ । र, भोजमा रक्सी अनिवार्य जस्तै हुन्छ । कुनै खास अवसर मात्र होइन, घरमा पाहुना आउँदा होस् वा कुनै रमझममा, घरमा रक्सीसहित रमाइलो गरिन्छ । कतिपयले त नियमित जसो नै घरमा रक्सी ल्याउने र बालबच्चाकै अघिल्तिर खाने गर्छन् ।
रक्सीको मात लाग्दै गएपछि घरको वातावरण सामान्य रहँदैन । हो-हल्ला, रमझम, चर्काचर्की र कहिले काहीँ त झै–झगडा पनि हुन्छ । यस किसिमको माहौलले त्यहाँ हुर्किरहेका बालबच्चाको मनोदसा कस्तो हुँदो हो ?
आफ्नै घरभित्र उनीहरु खुलेर रमाउन असमर्थ हुन्छन् । साथीभाईका अगाडि ग्लानी महसुष गर्छन् । ‘एक हिसाबले भन्नुपर्दा बालबच्चाको खुसी, उत्साह, उत्सुकता खुम्चदै जान्छ’ मनोचिकित्सक कार्की थप्छन्, ‘उनीहरु आफुलाई निर्धो महसुष गर्न थाल्छन् ।’
रक्सी पिएपछि मान्छेले संयम गुमाउँछन् । उनीहरु केहि उत्तेजित र उच्छृंखल हुन थाल्छन् । यस क्षण उनीहरु धेरै खुसी देखिन्छन् वा धेरै उदास, धेरै उत्साहित देखिन्छन् वा धेरै निरास, धेरै क्रोधित देखिन्छन् वा धेरै कमजोर । रक्सी पिएको मान्छेमा देखिने यस किसिमको अस्वभाविक उतारचढावले बालबच्चाको मनोभाव पनि विथोलिन्छ । उनीहरुमा आफ्नो आमाबुवाप्रतिको भरोसा र आड क्रमस टुट्न थाल्छ ।
‘आमाबुवाको मुडको प्रत्यक्ष प्रभाव बालबच्चामा परिरहेको हुन्छ’ मनोचिकित्सक कार्की भन्छन्, ‘जब आमाबुवाको मनोभाव अस्वभाविक रुपमा बद्लिन थाल्छ बालबच्चा डराउन थाल्छन् ।’
बालबच्चाको मनोविज्ञान के हुन्छ भने आमाबुवाले हरक्षण आफ्नो ख्याल राखोस् । तर, घरमा जब रक्सी पिउने सुरसार हुन्छ, बालबच्चाको ख्याल राखिदैन । आमाबुवा वा परिवारका सदस्य एकातिर रमझम गरिरहँदा बालबच्चा भने अर्कोतिर एक्लिएका हुन्छन् ।
रक्सी पिउने घरमा खाने र सुत्ने तालिका पनि नियमित हुँदैन । खाने, सुत्ने टुंगो नहुँदा बालबच्चा मोबाइल, टिभीमा आफुलाई भुलाउन खोज्छन् । यसरी उनीहरुको जीवनशैली पनि बिग्रदै जान्छ ।
रक्सी पिउने बुवाआमाले आफ्ना बालबच्चामाथि दूर्व्यवहार पनि गर्न सक्छन् । ‘बालबच्चालाई कुट्ने, गाली गर्ने, अरुसँग तुलना गर्ने जस्ता व्यवहारले उनीहरुमा हिंसाको भाव र क्रोध पैदा गर्छ’ मनोचिकित्सक कार्की भन्छन्, ‘वाल्यकालमा विकास भएको यस किसिमको मनोविज्ञानले पछि गएर उनीहरुलाई झगडालु र निर्दयी बनाउन सक्छ ।’
रक्सी पिउने आमाबुवाको बालबच्चाले कुनैपनि कुरामा ध्यान केन्द्रित गर्न कठिन हुने पनि उनले बताए । पढाई वा अतिरिक्त गतिविधिमा उनीहरु उमंगसाथ सहभागी हुन सक्दैनन् । किनभने उनीहरुले आफुलाई भित्रभित्रै कमजोर महसुष गरिरहेका हुन्छन् ।
त्यसो त कतिपय अवस्थामा बुवाअमाबाटै बालबच्चाले रक्सी सेवन गर्न सिक्छन् । रक्सीप्रति उनीहरुको चासो बढ्ने र त्यसको स्वाद चाख्ने रहर पलाउन थाल्छ । अन्ततः उनीहरु थाहै नपाई रक्सीको लतमा पर्न सक्छन् ।
रक्सी पिएर आमाबाबुले आफ्ना छोराछोरीलाई जसरी व्यवहार गर्छन्, त्यसले मनमा डेरा जमाउँछ । बाल्यकाल बित्छ तर ती नराम्रो सम्झनाहरू बच्चाहरूको दिमागबाट बाहिर निस्कन सक्दैनन् । उनीहरूलाई बाल्यकालका खेल र कथाहरू याद नहुन सक्छ, तर नराम्रो व्यवहार याद आइरहने उनले बताए । कार्की भन्छन्, ‘यसले पछिसम्म उनीहरूमा कुनै डिप्रेसन, एन्जाइटी जस्तो मनोरोग नै देखिन सक्छ ।’अनलाइनखबर