छोटो समयमै विश्वव्यापी बन्दै खतरनाक भाइरसहरू


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
छोटो समयमै विश्वव्यापी बन्दै खतरनाक भाइरसहरू

विश्वमा पहिलो पटक फैलिएको सरुवा रोगको भाइरस अर्को पटक त्यसको स्वरूप परिवर्तन भएर शक्तिशाली र खतरनाक बन्न थालेको छ । यसको उदाहरणका लागि कोरोना भाइरसलाई लिन सकिन्छ । अहिले विश्वमा देखा परेको भाइरस छोटो समयमै विश्वव्यापी बन्न थालेकाले यसले स्वास्थ्य क्षेत्रलाई नै चुनौती दिन थालेको छ । सरकारले बेलैमा रोगलाई गम्भीर रूपमा लिएर पूर्वतयारी गर्न नसके ठूलो परिमाणमा जनधनको क्षति हुने निश्चित छ । अब सरकार आमनागरिकलाई रोगका बारेमा प्रचारप्रसार गर्न चुक्नु हुँदैन । सरकारका लागि यो समय पहिलेको गल्तीबाट पाठ सिकेर अघि बढ्ने समय हो । अब सरकार जिम्मेवार बन्नुपर्छ । अनि आमनागरिकहरू सचेत बन्नुपर्छ । यदि पहिलेकै गल्ती दोहोरिएमा त्यसको सजाय समयले अवश्य दिनेछ ।
अधिकांश रूपमा सरुवा रोगले मानव शरीरलाई पटक–पटक सताउने गर्छ । यस्तै सरुवा रोगले पछिल्लो समय चाँडो महामारीको रूप लिन थालेको छ । विश्वसँगै नेपालले पनि यस्तो समस्या झेलिरहेको छ । स्थल र हवाई मार्ग हुँदै छोटो समयमा विश्वका विभिन्न देशमा मानिसको आवत–जावत हुने हुँदा एउटा देशमा फैलिएको भाइरस छोटो समयमै विश्वव्यापी बन्दै छ । त्यसैले समय प्रतिकूल बन्दै गइरहेको छ । यस्तो प्रतिकूल समयमा सबै निकायहरू स्वास्थ्य सावधानीप्रति सचेत नभए हजारौं मानिसहरू अकालमै मृत्युको मुखमा पुग्नुपर्छ भन्ने पाठ हामीलाई कोरोनाले पढाएको छ ।
भ्रम र लापरवाहीका कारण अहिले देशले आर्थिक र मानवीय रूपमा ठूलो क्षति भोगिरहेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिरहेको अवस्थामा अर्को नयाँ संक्रमण कालो ढुसी (म्युकर माइकोसिस) ले थप चिन्ता बढाएको छ । स्वास्थ्यविद्का अनुसार यो रोग कोरोना संक्रमित वा कोरोना संक्रमणमुक्त भएका व्यक्तिहरूमा बढी देखिने गर्छ । सामान्य भाषामा यसलाई ब्ल्याक फङ्ग्स भनिन्छ । यो रोग मधुमेहका बिरामीमा धेरै पाइएको अनुसन्धानका क्रममा पत्ता लागेको छ ।
चिकित्सकका अनुसार यो रोगले नाक र आँखामा असर गर्छ । नाक बाङ्गो हुने, आँखा चिलाउने, रातो हुने र आँखाको ज्योति नै हराउने जस्ता जटिल समस्याहरू देखा पर्छन् । यसको संक्रमण सुरुमा भारत र अमेरिकामा कोरोनाबाट मुक्त भएकाहरूमा देखिएको थियो । तर, पछिल्लो समय नेपालमा पनि यसको संक्रमण देखिएको छ ।
नेपालका केही मुख्य सहरमा कालो ढुसीको बिरामी भेटिएपछि यसले स्वास्थ्य क्षेत्रमा थप चिन्ता बढाएको छ । कोरोना संक्रमणमुक्त भएकाहरूमा यो समस्या बढी देखिएकाले कोरोना संक्रमणबाट मुक्त भएका मानिहरूमा कतै यसको संक्रमण पो भइहाल्ने हो कि भन्ने चिन्ता थपिएको छ । त्यसैले कोरोना संक्रमबाट मुक्त भएकाहरूले सजगता अपनाउनु आवश्यक छ । आमनागरिकमा यतिबेला कालो ढुसी पनि कोरोनाजस्तै महामारी नै पो बन्ने हो कि भन्ने त्रास थपिएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap