घाम अस्ताएपछि बिस्कुन सुकाउँदै माओवादी


लेखक : सुन्दराञ्चल      साउन २५, २०७८ मा प्रकाशित     
घाम अस्ताएपछि बिस्कुन सुकाउँदै माओवादी

२०६४ सालको पहिलो संविधानसभा निर्वाचन परिणामले नेकपा (माओवादी) लाई देशकै सबैभन्दा ठूलो पार्टी बनाइदिएको थियो । माओवादीले प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० सीट जितेको थियो । माओवादीले समानुपातिकतर्फ मात्रै २९.२८ प्रतिशत मत पाएको थियो ।

१० वर्षको सशस्त्र जनयुद्धबाट बृहत् शान्ति सम्झौता र अन्तरिम व्यवस्थापिका संसद हुँदै आएको माओवादीले पहिलो संविधानसभा निर्वाचनमा प्राप्त गरेको उल्लेखनीय सफलताले सबै आश्चर्यचकित भएका थिए । ‘अब माओवादीले केही दशक एक्लै खान्छ’ भन्ने अड्कलबाजी र विश्लेषण गर्न थालिएको थियो । एउटै स्पेसमा दुई ठूला पार्टी रहन नसक्ने हुँदा एमाले विसर्जन हुनसक्ने अनुमान कतिपयको थियो ।

तर, त्यसको ६ वर्षपछि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा उल्टो परिणाम आयो । माओवादीको भोट करीब आधा १५.२१ प्रतिशतमा झर्‍यो । माओवादीले प्रत्यक्षतर्फ १२० बाट झरेर २६ सीट मात्र जित्यो । एमाले कमजोर हुने विश्लेषण मिलेन । एमाले दोस्रो भयो, माओवादी तेस्रो स्थानमा पुग्यो ।

जबकि यसबीचमा माओवादीले थुप्रै स-साना समूहसँग एकता र धेरै मानिसलाई पार्टी प्रवेश गराएको थियो । नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्र माओवादीमा एकीकृत भएको थियो । पार्टी प्रवेश गर्न पेरिसडाँडासम्मको ‘लामो लाइन’ले पार्टीलाई ‘ठूलो’ बनाउन सकेन । संगठनात्मक आधारबाट विश्लेषण गर्दा पहिलो भन्दा दोस्रो संविधानसभामा माओवादीको भोट बढ्नुपर्ने हुन्थ्यो तर उल्लेखनीय रूपमा घट्यो ।

जब एकता गर्ने शक्ति पनि नपाउने र एक्लै उभिन पनि नसक्ने अवस्थामा पार्टी पुग्यो तब घाम अस्ताएपछि बिस्कुन सुकाउने भने जस्तै माओवादी वडा तहसम्मको संगठन विस्तार गर्नुपर्ने निष्कर्षमा पुगेको छ
मुखमा संविधानसभा, मनमा विद्रोह !

शान्ति प्रक्रियामा आएपछि आफ्ना प्रशिक्षणहरूमा माओवादीले भन्थ्यो- मुखमा संविधानसभा, मनमा विद्रोह । यसको अर्थ हो- बाहिरी संसारलाई भुलाउन संविधानसभाको नारा लगाउनुपर्छ । तर, भित्रभित्रै विद्रोहको तयारी गर्नुपर्छ । माओवादीको अनुमान विपरीत मुलुकमा अनौठो शक्ति-सन्तुलन पैदा भयो र संविधानसभाको निर्वाचन भयो । उक्त चुनावबाट माओवादी मुलुककै विशाल पार्टीको रूपमा संसदबाटै उदायो ।

पालुङटार प्लेनममा माओवादीले विद्रोहको लाइन पारित गर्‍यो, जुन राजनीतिक लाइनप्रति असहमति जनाउँदै डा. बाबुराम भट्टराईले ‘नोट अफ डिसेन्ट’ नै लेखेका थिए । एक साता लामो आम हड्ताल मार्फत काठमाडौं कब्जा गर्ने असफल अभ्यास पनि माओवादीले गर्‍यो । सरकार र संसदमा अत्यधिक बहुमतको उपस्थितिलाई लत्याएर विदरोह मार्फत सत्ता कब्जा गर्ने प्रयासमा असफल भएपछि माओवादी पुनः सडकमा पुग्यो ।

जनताले संविधान बनाउन विशाल अभिमत जाहेर गरेको छ तर, पार्टी विद्रोहको अभ्यास गरिरहेको छ । यही अन्तरविरोधी व्यवहारले पहिलो संविधानसभाबाट संविधान बन्न सकेन । दोस्रो संविधानसभासम्म पुग्दा माओवादी विद्रोहको भूत सवारबाट ब्यूँझिसकेको तर ऊ आकारमा धेरै खुम्चिइसकेको थियो ।

यसबीचमा माओवादी धेरैपटक आन्तरिक विभाजनमा फस्यो । यहीबीचमा एमालेसँग एकता र विभाजन पनि भइसकेको छ । शुरुमा विद्रोहको रणनीतिले माओवादीले आफ्नो शक्तिलाई सांगठनिक शक्तिमा रूपान्तरण गर्न चाहेन । पछि एकता र विभाजनको शृंखलामा अल्मलियो । तर, यही बीचमा पनि संसदीय प्रक्रियामा रूपान्तरण गर्न भने माओवादीसँग समयाभाव थिएन । थियो त केवल इच्छाशक्ति र योजनाको अभाव ।

२०४८ सालको एमाले जस्तो

माओवादी पार्टी अहिले जुन संगठन र विचार नै संकटको अवस्थामा आइपुगेको छ, २०४७ पछि एमालेको अवस्था पनि यस्तै थियो । अहिले माओवादी पुगेको जस्तै हतास अवस्थामा एमाले पुगेको थियो । तर एमाले शान्तिपूर्ण मोर्चा कि विद्रोह भन्ने अलमलमा थिएन । मदन भण्डारीले आफ्नो राजनीतिक उडान र बैठानका लागि ‘भिजिबिलिटी पुअर’ बन्न दिएनन् । एमालेले विस्तारै पार्टीलाई संसदीय राजनीति गर्न लायक बनायो । आन्तरिक लोकतन्त्रलाई बलियो बनायो र संगठनात्मक अभ्यासलाई अनुकरणीय बनाउन सक्यो ।

यसबीचमा माओवादीले बलिदानीपूर्ण विद्रोहबाट प्राप्त विशाल शक्तिलाई संगठनमा रूपान्तरण गर्न चाहेन । तर जब एकता गर्ने शक्ति पनि नपाउने र एक्लै उभिन पनि नसक्ने अवस्थामा पार्टी पुग्यो तब घाम अस्ताएपछि बिस्कुन सुकाउने भने जस्तै माओवादी वडा तहसम्मको संगठन विस्तार गर्नुपर्ने निष्कर्षमा पुगेको छ । उसले पुनः जनतामा फर्कने बताउन थालेको छ । जनतामा फर्कन तल्लो तहसम्म संगठन चाहिन्छ । यसका लागि एकसाथ देशभरि युद्धकालीन शैलीमा संगठन बनाउन पार्टी बैठकले निर्देशन दिएको छ ।

कमजोर विचारको बल्छी

माओवादी केन्द्रको पहिलो समस्या यसको विचारमै छ । हिजो यो पार्टीले माओवाद, प्रचण्डपथ र एक्काइसौं शताब्दीको जनवाद जस्ता सिद्धान्तको कुरा गर्दथ्यो । माओवाद चिनियाँ कम्युनिष्ट नेता माओको नयाँ जनवादी क्रान्ति, दीर्घकालीन जनयुद्ध, जनवादी गणतन्त्रको स्थापना, सांस्कृतिक क्रान्ति, समाजवाद हुँदै साम्यवादमा जाने विचारधारा हो ।

पार्टीले बहुदलीय संसदीय लोकतन्त्र स्वीकार गरिसकेपछि माओवादी दर्शनको खासै सान्दर्भिकता देखिन्न । माओवाद बहुदलीय संसदीय लोकतन्त्र आत्मसात् गर्ने दर्शन पनि हैन । त्यसैले माओवाद बोकेर बहुदलीय संसदीय राजनीति गर्ने अभ्यासलाई ‘काशी जान कुतीको बाटो’को संज्ञा दिन सकिन्छ । एमालेसँग एकता हुँदा माओवाद परित्याग गर्न प्रचण्ड राजी भएका थिए । एकीकृत नेकपाको सिद्धान्त ‘जनताको जनवाद’ हो भनिएको थियो तर त्यसको कुनै विस्तृत भाष्य निर्माण भएको थिएन ।

एमाले अब आफ्नो पुरानो जनताको बहुदलीय जनवादकै सिद्धान्तमा फर्किएको छ । माओवादीले भने के गर्ला ? माओवाद, प्रचण्डपथ वा एक्काइसौं शताब्दीको जनवाद पुनर्स्थापित गर्ला ? कि जनताको जनवादलाई नै बोकिरहला ? कि कुनै नयाँ सिद्धान्तको खोजी गर्ला ? यो प्रश्न अनुत्तरित छ ।

संगठनमा कार्यकर्तालाई जोड्ने विचारले हो । विचारको बल्छी नै कमजोर भयो भने संगठनात्मक शक्ति कमजोर नै रहन्छ । खुला राजनीतिक प्रतिस्पर्धा अनुकूल पार्टी पंक्तिलाई प्रशिक्षित गर्ने विचार र भावी रणनीतिबारे स्पष्टता हासिल नगरी संगठनमा मानिसहरूलाई जोड्न भने माओवादीलाई मुश्किल छ । खुला राजनीतिमा कुनै पनि पार्टीको सांगठनिक पद्धतिको विश्वसनीयतामा संकट आउनु उक्त पार्टीकै लागि संकटको कुरा हो । नागरिकले विश्वास गर्न लायक पार्टी बनाउन ह्रास आएको सांगठनिक पद्धतिको विश्वसनीयतामा वृद्धि गर्न माओवादीले धेरै मिहिनेत गर्नुपर्छ ।

गल्तीको शृंखला, छिन्नभिन्न नेतृत्व

माओवादी नेताहरू भाषण र प्रशिक्षणमा भन्ने गर्छन्- गल्ती मान्छेबाट हुन्छ । काम गर्ने मान्छेले गल्ती गर्छ । तर गल्तीलाई स्वीकार्ने र सच्याउने प्रतिबद्धता हुनुपर्छ । यसो गर्न नसक्दा व्यक्ति होस् वा पार्टी गल्तीहरूका चाङमा थिचिएर अस्तित्वविहीन हुनपुग्छ ।

शान्ति प्रक्रियामा आएको माओवादीले बुझेको कुरालाई व्यवहारमा रूपान्तरण गर्न सकेन र एकपछि अर्को गर्दै गल्तीको शृंखलाहरू नै रच्यो । यो कुरा स्वयं प्रचण्ड र माओवादीका शीर्ष नेताहरूले स्वीकार्दै आएका छन् । स्वीकार्ने तर नबदलिने समस्याले गल्तीमाथि गल्तीको चाङ लाग्न थाले । पहिलो संविधानसभाभन्दा दोस्रो संविधानसभामा माओवादी यसरी कमजोर हुनुका धेरै कारण थिए । विद्रोहको धङधङीले प्रधानसेनापति रुक्माङ्गद कटवाल प्रकरण अस्तित्वमा आयो । विद्रोहको चर्को प्रशिक्षण गरिएका नेता कार्यकर्ता रुझेको बिरालो जस्तै बनेर असफल सत्ता कब्जाको प्रयासपछि काठमाडौंबाट फर्किए । सम्भवतः उनीहरू इतिहासकै सबैभन्दा बढी रक्षात्मक मानसिकतामा घर फर्किएका थिए ।

अझ महत्वपूर्ण कारण त कार्यदिशामा रहेको अन्योल थियो । मोहन वैद्य नयाँ जनवादी गणतन्त्र नेपाल स्थापनाका लागि जनविद्रोहको कार्यदिशामा थिए । डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि ‘शान्ति र संविधान’ को कार्यदिशा बोकेका थिए । प्रचण्ड दुवै कार्यदिशाका बीच अलमलमा थिए । जनविद्रोहको कार्यदिशा संपरीक्षण गर्न चाहेका प्रचण्डले वैद्यलाई साथ दिए तर आम हड्ताल असफल भएपछि पुनः शान्ति र संविधानकै बाटोमा फर्किए ।

पार्टीभित्रको आन्तरिक एकता कमजोर हुँदै जानु पनि माओवादीको ओरालो यात्राको प्रमुख कारण थियो । पहिलो संविधानसभा असफल हुनु, माओवादी कार्यकर्ताले समाजमा कुनै नयाँ संस्कृति निर्माण र सन्देश प्रवाह गर्न नसक्नु र माओवादी पनि उस्तै हुन् भन्ने जनतामा पर्नु पनि पार्टी कमजोर हुनुका कारण थिए । सेना समायोजन, शहीद, घाइते तथा बेपत्ता परिवारको उचित व्यवस्थापन हुन नसक्दा आफ्नै समर्थक पंक्ति रुष्ट हुन थाले । कार्यकर्ताको विश्वास जित्न नसक्ने पार्टीले जनताको विश्वास जित्न कसरी सक्थ्यो र ?

दोस्रो संविधानसभाको निर्वाचनपछि माओवादी पार्टीको भविष्यलाई लिएर व्यापक आशंका हुन थालेका थिए । कतै यो पार्टी फेरि पुरानो संयुक्त जनमोर्चा जस्तो ९-१० सीटमा सीमित हुने त हैन भन्ने चर्चा हुन थालेका थिए । तर, २०७० को नयाँ संविधान घोषणापछिको पहिलो आमनिर्वाचनमा एमालेसँग चुनावी तालमेल गरेर ५२ सीटको लाभ हासिल गर्‍यो । चुनावी गठबन्धनको कारण राम्रै सीट संख्या हासिल गरे पनि माओवादीको भोट भने बढेको थिएन । बरु अझै १३.६६ प्रतिशतमा घट्यो ।

३ जेठ २०७५ मा एमालेसँग एकतापछि प्रचण्ड पार्टी र आफ्नो राजनीतिक भविष्यबारे ढुक्क जस्तो देखिएका थिए । एमालेको विशाल कार्यकर्ता पंक्ति र संगठनात्मक क्षमताको कारण माओवादी धारका नेताहरूको चुनावी भविष्य सुनिश्चित हुने ठानिएको थियो । तर, ओली-प्रचण्ड एकता दिगो देखिएन । एकीकृत नेकपाभित्र फुलेको अन्तरविरोधको बेलुन २३ फागुन २०७७ मा सर्वोच्च अदालतले फुटाइदियो र अन्ततः एमाले र माओवादी केन्द्रको एकता टुट्यो ।

माओवादीको भविष्यलाई लिएर फेरि नयाँ चर्चा शुरुआत भएको छ, माओवादीको चुनावी भविष्य के होला ? के माओवादी पार्टी एक्लै माओवादीकै रूपमा दिगो पार्टी रहन सक्ला ? माओवादी पार्टीले आफ्नै बलबुतामा चुनाव लड्नुपर्ने स्थिति आए यो पार्टीको चुनावी भविष्य कस्तो होला ?

नामको बहस

विश्लेषकहरू आगामी चुनाव अगाडि नै माओवादीले पार्टीको नाम फेर्न सक्ने ठान्दछन् । ‘माओवादी’ नाम बहुदलीय लोकतन्त्र स्वीकार गरिसकेको अवस्थामा सान्दर्भिक पनि नहुने र यसले लोकतन्त्रमा विश्वास गर्ने नयाँ पुस्तालाई आकर्षितगर्न नसक्ने उनीहरूको तर्क हुने गरेको छ ।

यहाँसम्म कि एमालेको माधव नेपाल पक्षसँग एकता गर्नुपर्ने अवस्था आएमा पनि माओवादी नाम स्वीकार्य नहुने देखिन्छ । माओवादीका औपचारिक बसाइहरूमा पनि नाम परिवर्तनको मुद्दा प्रवेश गर्न थालेको खबर यसअघि नै बाहिरिइसकेका छन् ।

माओवादीले पार्टीको नयाँ नाम के खोज्ला, अझै भविष्यकै गर्भमा छ । यद्यपि, सम्भावित ध्रुवीकरणलाई सघाउने गरी धेरै शक्ति अटाउन सक्ने फराकिलो अर्थ बोकेको नाम माओवादीको रोजाइमा पर्न सक्छ ।

नेतृत्वको संकुचन

यदाकदा सबै पूर्वमाओवादीहरू एक हुनुपर्ने आवाज उठ्ने गरेकै छ । मोहन वैद्यदेखि गोपाल किराँतीसम्म, डा. बाबुराम भट्टराईदेखि विप्लवसम्म प्रचण्डकै नेतृत्वमा एकठाउँमा आउने हो भने अझै पनि एमाले हाराहारीको बलियो कम्युनिष्ट पार्टी बन्न सक्ने विश्वास पूर्व माओवादी कार्यकर्तामा देखिन्छ । तर, व्यवहारमा भने यो काम त्यति सजिलो देखिन्न ।

मोहन वैद्य अझै जनवादी गणतन्त्रको कार्यदिशामा विश्वास गर्दछन् । विप्लवले एकीकृत क्रान्तिको नयाँ सिद्धान्त बनाएका छन् । डा. बाबुराम भट्टराई नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा पुगेका छन् । जसपाले आफ्नो सिद्धान्तलाई ‘समुन्नत संघीय समाजवाद’ भन्ने गर्दछ । तसर्थ सबै पूर्व माओवादी नेता र समूह एकठाउँमा हुने सम्भावना कमजोर छ ।

२०४४ मा पार्टी नेतृत्वमा पुगेका प्रचण्ड झण्डै साढे तीन दशकदेखि निरन्तर पार्टीको नेतृत्वमा छन् । यसबीचमा नेकपा एमालेभित्र पाँच जना नेतृत्व परिवर्तन भइसक्यो । तर प्रचण्ड अझै एक दशक पार्टी नेतृत्वमा रहिरहने पक्षमा छन् । यसरी ‘एक व्यक्तिको शासन’ मा चलेको पार्टीमा नयाँ पुस्ताको आकर्षण हुने र पार्टी मूर्झाउने सम्भावना न्यून छ ।

प्रचण्डपछि माओवादीलाई नेतृत्व दिने सक्ने कुनै बलियो नेता अहिलेसम्म देखिएको छैन । वर्षमान पुन, अनन्त र जनार्दन शर्मा प्रभाकरलाई प्रचण्डको सम्भावित उत्तराधिकारका रूपमा हेर्ने गरिन्छ । तर, प्रचण्डले तत्काल नेतृत्व हस्तान्तरण गर्ने कुनै सम्भावना छैन । उनले अझै धोईपखाली काम चलाउनुपर्ने अभिव्यक्ति दिइसकेका छन् । भनिन्छ, नेतृत्व साना बिरुवा हुर्कन नसक्ने गरी सेप बन्नुहुँदैन । प्रचण्डको एकछत्र नेतृत्वमा माओवादी आन्दोलन र पार्टीको वैकल्पिक नेतृत्व सम्भावना संकुचन भएको छ । प्रचण्डकै नेतृत्वमा अन्य कम्युनिष्ट समूह र नयाँ पुस्ता पार्टीमा आकषिर्त हुने सम्भावना न्यून छ ।

संगठनमा युद्धकालीन शैलीकै निरन्तरता

एमाले नेता सुरेन्द्र पाण्डेको बुझाइमा एमाले कार्यालयमा २०४८ देखि आजसम्मको रेकर्ड चुस्तदुरुस्त रूपमा व्यवस्थित छ । एमालेको पार्टी सदस्यको तीनपुस्ते थाहा पाउन पनि कुनै दुःख छैन । तर माओवादीमा केही संरचना नै छैनन् । केही मान्छेले सम्झेको भरमा चलिरहेको संगठनात्मक संरचनाको आधारमा माओवादी पार्टी चलिरहेको छ ।

युद्धको बेला अभिलेखीकरण व्यवस्थित नहुनु स्वाभाविक नै भइहाल्यो । २०६२/६३ पछि माओवादीले खुला राजनीतिक जीवनको डेढ दशक समय बिताइसकेको छ । १५ वर्ष पार्टीको संरचना व्यवस्थित गर्न छोटो समय होइन । तर, माओवादीले संगठन निर्माण र यसको व्यवस्थित अभिलेखीकरणमा खासै ध्यान दिएन, रुचि पनि देखाएन । यसबीचमा माओवादीले आधा दर्जनभन्दा बढी एकता र विभाजनका उतारचढावबाट आफूलाई गुजारेको छ । यावत् प्रतिकूलताका बावजूद पनि रुचि देखाएको भए माओवादीको संगठन अहिले जस्तो भद्रगोल हुने थिएन ।

कम्युनिष्ट केन्द्र बनाउन एमालेलाई चुनौती दिनुपर्ने चुनौतीपूर्ण बाटो त्यागेर समाजवादी ‘स्पेस’मा राजनीति गर्न तयार हुनु प्रचण्डकै जीवनको अर्को क्रमभङ्ग हुनेछ । तर, उनका लागि यो अन्तिम विकल्प हो ।
सही सांगठनिक अभ्यासलाई लत्याएर आफू अनुकूलका मानिसलाई मात्रै अवसर दिने कुराले माओवादीप्रतिको विश्वसनीयता संकटग्रस्त छ ।

एक जंगल, दुई शेर

शान्ति प्रक्रियामा आएपछि माओवादी र एमाले बराबर जोखिममा थिए । सिद्धान्ततः एउटा जंगलमा दुई शेर हुँदैन भने जस्तै एउटै देशमा दुइटा उत्तिकै शक्तिशाली कम्युनिष्टको अस्तित्व सम्भव हुँदैन । शान्ति प्रक्रिया शुरू भएपछि पहिलो चरण माओवादी ठूलो हुँदा एमाले खुम्चियो । जब माओवादीले पहिलो अवसर गुमायो, लगत्तै एमाले फराकिलो भयो र माओवादी खुम्चियो ।

पछिल्लो समय एमालेभित्र अन्तरविरोधहरू उत्कर्षमा पुगेको छ । प्रचण्डको पछिल्लो रिडिङमा एमाले एकता हुन्छ । त्यसैले उनी वडातिर फर्किने निर्णयमा पुगेका हुन सक्छन् । मार्क्सवादी दर्शनले भन्छ- वस्तुको विकास अथवा विनाशका लागि बाहृय कारणभन्दा आन्तरिक कारण प्रधान हुन्छ । माओवादी पछिल्लो दशक अरूको निर्णयमा आफ्नो भविष्य देख्ने अभ्यासमा अभ्यस्त हुँदै आएको छ । वडासम्म संगठन निर्माण गरेर आफ्नै निर्णयमा आफ्नो भविष्य देख्ने अवस्थामा र्फकन माओवादीले धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

बृहत् कम्युनिष्ट केन्द्र र माधवको आशा

कतिपयले माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह र डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई समेत समेटेर आउने चुनाव अघि बृहत् कम्युनिष्ट केन्द्र निर्माण हुनसक्ने ठान्दछन् ।

एमालेको माधव नेपाल पक्ष एमालेबाट बाहिर निस्कन्छ र माओवादी र एमालेको नेपाल समूहको एकताबाट ओली समूहलाई टक्कर दिन सक्ने बलियो कम्युनिष्ट केन्द्र निर्माण हुन्छ भन्ने आशा माओवादी केन्द्रमा अझै छ । तर, यसो हुन त्यति सजिलो भने देखिएको छैन । नेपाल पक्षका अधिकांश दोस्रो पुस्ताको जोड एमाले एकतामा नै छ ।

प्रचण्डको नेतृत्वमा माधव नेपाल पक्षको समेत एकताबाट अर्को कम्युनिष्ट पार्टी बनाउने हो भने त्यो माओवादीमा विलय भएजस्तो देखिने र एमाले कार्यकर्ताहरू ओली समूहमा नै फर्किने भय माधव नेपाल पक्षमा छ । माओवादी केन्द्रले एमालेको माधव नेपाल पक्षबाट पनि आशा गरेजस्तो ठूलो भरथेग पाउने सम्भावना कमै देखिन्छ ।

डा. भट्टराई, यादव र अशोक राई कम्युनिष्ट पृष्ठभूमिका नेता भएको हुँदा त्यस्तो सम्भावना देख्ने पनि छन् । तर, जनता समाजवादी पार्टीका नेताहरू त्यस्तो बुझाइमा छैनन् । जसपा नेताहरू बृहत् कम्युनिष्ट केन्द्र हैन, एकीकृत समाजवादी केन्द्र निर्माण गर्ने मनस्थितिमा छन् । पार्टीको नाममा कम्युनिष्ट राखेर भट्टराई, यादव र राई फर्किने सम्भावना छैन । समाजवादी केन्द्र बनाउन प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल कम्युनिष्ट नाम परित्याग गर्न राजी हुनुपर्ने हुन्छ । यो काम उनीहरूका लागि सजिलो छैन ।

माओवादी केन्द्र, एमाले माधव नेपाल पक्ष र जसपाबीच आगामी निर्वाचनमा चुनावी गठबन्धनसम्म हुनसके पनि कम्युनिष्ट नाममा पार्टी एकता असम्भव जस्तो छ ।

विकल्पका साँघुरा बाटा

माधव नेपाल पक्ष ओलीसँगै एमाले एकतामा गयो भने माओवादी केन्द्र एक्लै हिंड्नुपर्ने हुन्छ । त्यस्तो बेला माओवादीको चुनावी भविष्य के होला ? माओवादीले आफ्नै बलबुतामा जित्न सक्ने १० भन्दा बढी प्रत्यक्ष सीट देखिन्न । पूर्व र पश्चिम रुकुम, रोल्पा, कालिकोट, जाजरकोट, सिन्धुपाल्चोक, सिन्धुली र सिरहाको एउटा क्षेत्रमा अझै माओवादी केन्द्रले एकल प्रयत्नले जित्न सक्दछ । तत्कालीन संयोग र तारतम्य मिले अरू केही सीट बढ्न सक्ला ? तर, के यति सीटले मात्र माओवादी पार्टीको अस्तित्व र भूमिका कायम हुन सक्ला ? यो प्रश्न माओवादीका लागि निकै पेचिलो देखिन्छ ।

माओवादी पार्टी र यसका नेताहरूको राजनीतिक भविष्य रक्षा गर्ने अझै तीनवटा विकल्प बाँकी देखिन्छन् ।

एक-आगामी चुनावमा कांग्रेससँग चुनावी तालमेल गर्ने । तर, यो विकल्प क्रियाशील हुन कांग्रेस राजी हुनुपर्ने हुन्छ । कम्युनिष्टहरू फुटेको र अरू पार्टीहरू पनि ध्वस्त जस्तो देखिएको अवस्थामा कांग्रेस एकल बहुमत ल्याउने सोचमा छ । सम्भवतः कांग्रेस माओवादीसँग चुनावी तालमेल गर्न राजी हुने छैन ।

दोस्रो- प्रचण्ड पुराना कुरा जे भयो भयो, फेरि नयाँ एकता गरौं भन्दै केही महीनापछि फेरि एमालेसँगै एकतामा फर्किन सक्दछन् । ओली, प्रचण्ड र माधव नेपाल एक ठाउँमा हुनसके कम्युनिष्ट पार्टी चुनावी दृष्टिकोणले बलियो नै रहन सक्दछ ।

तेस्रो- माओवादीको तेस्रो विकल्प भने कम्युनिष्ट ब्राण्ड परित्याग गरी समाजवादी केन्द्र बनाउन राजी हुनु हो । कम्युनिष्ट केन्द्र बनाउन एमालेलाई चुनौती दिनुपर्ने चुनौतीपूर्ण बाटो त्यागेर समाजवादी ‘स्पेस’मा राजनीति गर्न तयार हुनु प्रचण्डकै जीवनको अर्को क्रमभङ्ग हुनेछ । तर, उनका लागि यो अन्तिम विकल्प हो । यो विकल्पमा पुग्नुअघि उनले अघिल्ला दुई विकल्प उपयोग गर्ने प्रयत्न गर्न सक्दछन् ।

मानौं कि यी तीनवटै विकल्प व्यवहारमा क्रियाशील हुन सकेनन्, एक्लै चुनाव लड्नुपर्ने अवस्था आएमा माओवादीको नतिजा कस्तो आउला ? मतदाता मनोविज्ञानमा कुनै चामत्कारिक भिन्नता आए भिन्नै कुरा, अन्यथा माओवादीलाई आगामी निर्वाचन अस्तित्व रक्षाकै प्रश्न बन्न सक्दछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap