धनगढी २९ साउन । कैलालीको गोदावरी नगरपालिकाले करारमा कर्मचारी माग गरेपछि ठूलो संख्यामा आवेदन परेको छ । नगरपालिकाले एक सुचना जारी गर्दै नगर भित्र आवश्यक बिभिन्न ९ पदका लागि ३५ जना कर्मचारी माग गरेपछि ठूलो संख्यामा आवेदन परेको हो ।
नगरपालिकाले साउन १४ गते प्रथम पटक सुचना प्रकाशित गर्दै १५ दिन भित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई कार्यालयको निर्धारित फाराम भरेर दरखास्त आह्वान गर्न भनिएको थियो । जसमा बिभिन्न पदका लागि १३ सय बढीले आवेदन दिएको गोदावरी नगरपालिकाको प्रशासन शाखाले जनाएको छ ।
साउन १४ गते देखी २८ गते सम्म आवेदन दिने म्याद तोकिएमा १३ सय ६९ जनाले आवेदन दिएका छन् । जसमा सबै भन्दा बढी सहायक कम्युटर अपरेटरका लागि आवेदन परेको छ । नगरपालिकाले ७ जना सहायक कम्युटर अपरेटर माग गरेकोमा ३ सय ९८ जनाले आवेदन फाराम भरेका छन् ।
त्यसपछि कार्यालय सहयोगीमा ५ जना माग गर्दा ३ सय १४ जनाले आवेदन दिएको प्रशासनले जनाएको छ । यस्तै एक जना फार्मेसी सहायक माग गरेकोमा १५ जना , एक जना रिसेप्सनलिष्ट माग गरको ८५ जना , ५ जना ल्याब असिस्टेण्टका माग गरेकोमा १ सय ६८ जना , ५ जना अहेब माग गरेकोमा १ सय ९३ जना , ७ जना अनमी माग गरेकोमा १ सय ५४ जनाको आवेदन परेको छ ।
यस्तै १ जना भ्याकु लोडर सह चालक मागेकोमा १३ जना र ३ जना स्वीपर माग गरेकोमा २९ जनाले आवेदन फाराम भरेका छन् । नगरपालिकाले मालाखेती अस्पताल , वडा कार्यालयहरु , नगरभित्रका बिभिन्न शहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका लागि कर्मचारीहरु माग गरेको हो ।
आवेदन दिने म्याद सकिएकाले अबको केही दिनपछि संक्षिप्त सुची सर्टलिष्टको नाम सार्वजनिक गरिने र त्यसपछि प्रयोगात्मक तथा अन्र्तवार्ता हुने नगरपालिकाले जनाएको छ ।
छनौट भएका कर्मचारीहरुको कार्य अबधि २०७८ साल पौष मसान्त सम्म हुने र कार्य सम्पादन सन्तोषजनक भएमा करार सम्झौता थप गर्न सकिने नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।