बुधबार दिउँसो ३ बजेका लागि भन्दै मिडियाकर्मीलाई एउटा निमन्त्रणा आयो । निमन्त्रणामा लेखिएको एउटा हरफमा सबैको ध्यान जानु स्वभाविक नै थियो । जसमा लेखिएको थियो–‘सबै कलाकारको उपस्थिती हुने हुँदा गीत बाहेक बाहिरको प्रश्न गर्न नपाइने बाचा ।’
कार्यक्रममा पत्रकारलाई निम्तो गर्दा नै यो प्रश्न गर्न पाइने र यो नपाइने भनेर बाचा नै गर्न लगाइएको उदाहरण यसअगाडि छैन । कार्यक्रममा पुगेका पत्रकारहरुलाई गीतको बाहेक अन्य प्रश्न नगर्नका लागि आग्रह गर्न सकिन्छ । तर, निमन्त्रणामा नै बाहिरी प्रश्न गर्न नपाइने भनेर बाचा नै गर्न लगाइनु संचारकर्मीहरुको अपमान हो ।
यस्तो सन्देश पाएर पनि यो कार्यक्रममा सहभागी हुन धेरै मिडियाकर्मी अनामनगरको एक रेष्टुरेन्टमा पुगेका थिए । नेत्र भण्डारी र समिक्षा अधिकारीको स्वरमा समावेश गीत रिलिज तथा गायकको जन्मदिनको केक काट्ने कार्यक्रम राखिएको थियो । कार्यक्रममा गायिका समिक्षा अधिकारी पनि पुगिन् ।
रोचक कुरा त के थियो भने, आयोजकले पत्रकारलाई समिक्षा अधिकारी र नायक तथा मोडल पल शाहको बिषयमा पछिल्लो समय चलिरहेको गसिपको प्रश्न नसोध्न फेरि पनि आग्रह गर्यो । यसका लागि मिडियाकर्मी पनि तयार भएका थिए ।
गायिका समिक्षा अधिकारीले गीतको लागि बाँकी रहेको लिप्सिङको भिडियो सुट गरिन् । यो भिडियो सुट गरेपछि समिक्षा कार्यक्रम हलमा नै प्रवेश नगरी बाहिरिइन् । पत्रकारहरुले करिब २ घन्टा पर्खिए । तर, समिक्षा सुटुक्क हिडेपछि आयोजक पनि अलमलमा नै पर्यो । यस्तै, मोडल एलिसा राइले आफू १० मिनेटका लागि भएपनि आउने जानकारी दिएकी थिइन् । तर, उनी पनि कार्यक्रममा उपस्थित भइनन् । गायक नेत्र भण्डारीले समिक्षाले थाहा नै नदिई हिडेको भन्दै दुःख व्यक्त गरे ।
यसबाट पनि पछिल्लो समयमा उदाएका केही कलाकार तथा गायक–गायिकाले मिडियाकर्मीको समयलाई कती हलुका रुपमा लिन्छन् भन्ने प्रष्ट हुन्छ । यतिमात्र होइन, उनीहरुले थोरै भएपनि व्यवसायिक धर्म देखाउन नसकेको स्पष्ट छ ।
गायिका समिक्षा अधिकारी पछिल्लो केही समयदेखि मिडिया फेस गर्न डराइरहेकी छिन् । भलै, उनले यो कार्यक्रममा आफू उपस्थित भएपनि गीत रेकर्डिङका लागि समय दिएकाले चाडैं निस्कनुपरेको भन्दै स्टाटस लेखेकी छिन् । तर, आयोजकले उनकै कारण गीत भन्दा बाहिरको प्रश्न सोध्न नपाइने वाचा नै मिडियाकर्मीलाई गराउनु परेको थियो ।
पल र समिक्षाको निकटताको बिषयमा गसिप बजार केही समयदेखि तरंगित छ । यस्तो, समयमा समिक्षा यो कुराबाट भाग्न खोजेको कुरा त सजिलै वुझ्न सकिन्छ । समिक्षा यो गसिपबाट कहिलेसम्म भाग्ने हुन् ? के बजारमा आएको गसिपका बिषयमा स्पष्ट जवाफ दिएर आफ्नो भनाई सार्वजनिक गर्ने आँट समिक्षाले गर्लिन् ?
होइन भने, पत्रकारलाई २ घन्टा कुराएर गायिका र मोडलकै कारण कार्यक्रम स्थगित गर्नुपर्ने अवस्था आउनु आफैमा दुःखद कुरा हो ।
स्टारडम आज छ भोली छैन । केही समय चल्दा आफूलाई भयंकर सोच्ने सर्जकहरु विस्तारै क्रेज कमजोर हुन थालेपछि मिडियाकै सहारामा टिक्ने कोशिश गर्छन् । यसैले, चलेको र बलेको बेलामा व्यवसायिकता पनि प्रदर्शन गर्नु कलाकर्मीको धर्म होइन र ?